logo
२०७९ जेष्ठ १४ शनिवार

  रेस्टुरेन्ट रिभ्यू  



थारु परिकार ‘ढीक्री’ पस्कने वरघर

पढ्नै पर्ने |
खुला |


थारु परिकार ‘ढीक्री’ पस्कने वरघर


काठमाडौं, माघ १ गते । राजधानीको भीडभाड छलेर कीर्तिपुर पुग्दा अलिक खुला र केही शान्त वातवरण अनुभूत हुन्छ, बसपार्कबाट अलिक अगाडि बढेपछि पाँगा जाने बाटो नपुग्दै एउटा टीनको छानो, इँट्टाले बनाएको पर्खाल, पर्खालभरी हातले बनाएका थारु हस्तकलाका सामग्रीहरुले सजाइएको एउटा घर देखिन्छ । यासाे हेर्दा संग्रहालय जस्तो देखिने यो संग्रहालय भने होइन । थारुसम्बन्धी पुस्तक र हस्तकलाका सामग्रीहरु पनि किन्न पाइन्छ । झट्ट हेर्दा थारुहरुको वरघर (गाउँकाे मुख्य मान्छे बस्ने घर) को झल्को दिने यो रेस्टुरेन्टकाे नाम नै वरघर रेस्टुरेन्ट हो । 

रेस्टुरेन्टमा विभिन्न थारु हस्तकलाका सामग्री छन् । जसले आकर्षण बढाएको छ । माछा मार्ने धरिया, खेत जोत्नेबेला लगाउने टोपी, खाना खान बस्ने बेर्री, काठको चप्पल पौवा, माछा मारेर राख्ने डिल्या, सिरहट्टा, ढकिया, हलोजुवा, लेहङ्गा, चोल्या, दोन्दीया, भौका, डेल्वा, नुइया यी सामग्रीहरुको बीचमा काठले बनेको नेमप्लेटमा लेखिएको छ, ‘बरघर रेस्टुरेन्ट’ । ‘बरघर’ को अर्थ हुन्छ मुखिया । रेस्टुरेन्टमा थारु परिकार मात्र होइन कला, संस्कृति र संस्कारको बारेमा बुझ्न मानिसहरु आउने गरेको सञ्चालक सङ्कता चौधरीले बताउनुभयो ।

रेस्टुरेन्टको मेनुमा घोङ्घी, ढिक्री, बैरिक चट्नी, बर्या, माछा, झिंगे माछा, थारु आलु, सुतही, पोर्ग चुटपुट, चिकेन चुटपुट, बाङ्गुरको सेकुवा, बँदेलको सेकुवा, लोकल मुर्गा, गंगटो रहेको छ । मेनुमा भएका सबै परिकारहरुको स्वाद रेष्टुरेन्टमा हरेक दिन लिन सकिने सञ्चालिका चौधरीले बताउनुभयो । रेष्टुरेन्टमा थारुभन्दा गैरथारुहरु थारु परिकारको स्वाद लिन आउनेगरेको उहाँले बताउनुभयो ।
उहाँकाअनुसार कोरोना महामारीले व्यवसाय चौपट बनाए पनि थारु परिकारको स्वाद लिने ग्राहकमा कमी नआएको बताउनुभयो ।

यसका लागि सरकारको सिफारिसमा खाद्यन्न दुवानी गर्न पाइने भएकाले माघी पर्वको लागि गााउँबाट महुवाको दारु, अनदीको चामल, कचरिक् बर्याको लागि उरुद् तयारी अवस्थामा रहेको सञ्चालिका चौधरीले बताउनुभयो । ‘यो गाउँबाट घरमै बनाएर ल्याएकाले सामग्री हुन्छ, आग्र्यानिक खाद्यन्न हो,’ चौधरीले भन्नुभयो,‘ थारुहरु घोङ्घी खानकै लागि आउँछन, तर अहिले अन्य जातिले पनि खान सिकिसकेकाले धेरै ग्राहक घोङ्घी खान आउने गर्छन्’ उहाँले थप्नुभयो, ‘हाम्रो मुख्य मेनुमा थारु खाजा सेट छ, त्यसमा अनदीको भात, रोटी, बैरिक र धनियाको चट्नी, उर्देक बरिया, भरथर, बरिया, ढिक्री, सिध्रा, बङ्गुरको मासु हुन्छ, भने घोङ्घी सेट र छुट्टै दुईटै पाइन्छ ।’ बिक्ने पनि सबैभन्दा बढी घोङ्घी सेट र थारु खाजा सेट रहेको उहाँले बताउनुभयो ।

प्लेटभरी ढिक्री, टपरीभरी घोङ्घी, प्लेटमा झिंगे रातो माछा, यो देखेर कसलाई खाना मन नलाग्दो हो ? त्यसमा अहिले थप माघीको स्पेशल परिकार छ । महुवा र अनदीको झोल । घोङ्घी चुस्दै गाउँको परिवेशझै अनदीको झोल चाख्न पाउने वातावरण छ चौधरीले भन्नुभयो, ‘गंंगटाको रोस्टसँग पनि झोल लिन सकिन्छ ।’ रेस्टुरेन्ट विस्तार गर्ने क्रममा जनसम्पर्क धेरै रहेको स्थानको थप शाखा विस्तार गर्ने तयारी रहेको चौधरीले बताउनुभयो । थारु समुदायलाई लक्षित गरी थारु भाषा, साहित्य र सस्कृतिसम्बन्धी कार्यक्रम पनि रेस्टुरेन्टमा गरिरहेको उहाँले जानकारी दिनुभयो । ‘बरघर रेस्टुरेन्ट’ को फरक विशेषता पनि यो रहेको उहाँले बताउनुभयो ।

फरक विशेषताकै कारण थारुको पहिचानलाई देश विदेशमा चिनाउने मौका पाउँदा यो व्यवसायबाट आफू सन्तुष्ट रहेको चौधरीले बताउनुभयो । हरेक मानिसको नयाँ इच्छा हुन्छ । नयाँ चिजको स्वाद लिन चाहन्छ उहाँले भन्नुभयो, “नयाँ ठाउँ घुम्नेदेखि खाना खान खोज्ने ग्राहकलाई सन्तुष्ट गर्न थारु परिकार आवश्यक छ ।” काठमाडौंको कीर्तिपुरमा अवस्थित बरघर रेष्टुरेन्टले काठमाडौंबासीलाई मात्र नभई बाहिरबाट आउनेको पनि रोजाई बनेको उहाँको भनाई छ ।

यसरी बन्यो बरघर रेस्टुरेन्ट
एकदिन मंगल भाइले रेस्टुरेन्ट सञ्चालक सीताराम थारुसँग कफीसप खोल्ने प्रस्ताव लिएर आउनुभयो । कफी, मःम चाउमिन मात्रै होइन, फरक स्वाद दिन सकेमा ग्राहकलाई सन्तुष्ट पार्न सकिने निचोडमा दुबैको छलफल भयो । दुई जनाको पार्टनरसीपमा करिब सात लाखको लगानीमा २०७५ सालमा रेस्टुरेन्ट खोले । कामको सिलसिलमा भाइ गाउँतिर लागेपछि श्रीमान सीताराम र भाइले खोलेको रेस्टुरेन्टको जिम्मेवारी सम्हालिरहनुभएको छ सङ्कता चौधरीले ।
माघी थारु समुदायको नयाँ वर्ष हो । यो पर्वदेखि नै थारु समुदायको नयाँ आर्थिक वर्ष पनि शुरु गर्छन् । माघीमा वर्षभरिको आर्थिक लेखाजोखा गाउँको नेतृत्व चयनजस्ता कार्य हुन्छ । माघीमा विशेषगरी ढिक्री, बङ्गुरको मासु, तरुल, सखरखण्ड अनदीको भात, जाँडको झोल खाने गरिन्छ । थारुहरु माघी पर्वमा धमार गीत गाउने गर्छन् । त्यसले माघीको रौनक बढाउने गरेको थारु अगुवाहरुको बुझाई छ ।

माघी पर्वको पूर्व सन्ध्यामा पुस अन्तिम दिन मासुका लागि जीता मार्ने चलन छ । माघे संक्रान्तिका दिन पाप कर्म नगर्ने हुनाले एक दिन अघि नै मासुका लागि मार हान्ने चलन रहेको थारु अगुवाको भनाई छ । माघ १ गते वर्षकै जाडो दिन मानिन्छ । नुहाएर पूर्खालाई ढोग लागी आशीर्वाद लिने प्रचलन थारुको छ । त्यसो गर्दा वर्ष दिन गरेको पापकर्मबाट मुक्ती पाइने र नयाँ एक वर्षका लागि राम्रो कामको आशीर्वाद लिने प्रचलन थारु समुदायको छ । माघे संक्रान्तिमा स्नान गरेर विवाहित चेलीबेटीलाई उपहार दिने र नयाँ योजना बनाउने हुनाले माघी पर्वलाई थारु समुदायले नयाँ वर्षको रुप्मा मनाउने गरेको ठान्छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?