logo
२०८० चैत्र १५ बिहीवार



प्रदेशको सबै शक्ति कोरोना नियन्त्रणमा : मुख्यमन्त्री पोखरेल

गण्डकीका नाकामा होल्डिङ सेन्टर बनाइने

राजनीति |


प्रदेशको सबै शक्ति कोरोना नियन्त्रणमा : मुख्यमन्त्री पोखरेल


होमराज रानाभाट
पोखरा, माघ ६ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कोभिडको तेस्रो लहर रोकथाम र नियन्त्रणका लागि जनशक्ति, अक्सिजन प्लान्टदेखि अस्पतालको व्यवस्थापनमा प्रदेश सरकारले हरसम्भव प्रयास गरिरहेको बताउनुभएको छ ।

कोरोना संक्रमण रोकथामका सरकारले पुस ३० गते जारी गरेको आदेश कार्यान्यनका लागि प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार गरेको भर्चुअल बैठकमा मुख्यमन्त्री पोखरेलले यस्तो बताउनुभएको हो । ‘महामारी नियन्त्रणमा हामीले सक्दो प्रयास गरेका छौं’, मुख्यमन्त्री पोखरेलले भन्नुभयो, ‘जनशक्ति अभाव नहोस् भनेर त्यही अनुसार व्यवस्थापन गरेका छौं ।’

पूर्वी नवलपरासीलगायत जिल्लामा ल्याबको जनशक्ति नहुँदा पीसीआर परीक्षण रोकिएको खबर पाए लगत्तै कर्मचारी पठाएको र बिहीबारबाटै उनीहरुले काम थाल्ने मुख्यमन्त्रीको भनाइ छ । तेस्रो लहरको नियन्त्रणकै लागि प्रदेश सरकारले तीन सय ५० जना स्वास्थ्यकर्मी करारमा लिएर सम्बन्धित अस्पतालमा पठाइएको उहाँले बताउनुभयो ।

महामारीका बेला अक्सिजन प्लान्ट दुरुस्त राख्न, आइसोलेसन बेड र अपस्पताल तयारी हालतमा राख्न पनि मुख्यमन्त्रीले निर्देशन दिनुभएको छ । प्रदेश प्रवेश गर्ने ठाउँ राम्दी र आँबुखैरेनीमा हेल्प डेस्क सुरु भइसकेको र अब छिट्टै नै होल्डिङ सेन्टर सञ्चालनमा ल्याइने पोखरेलेको भनाइ छ।

भारतबाट प्रदेश प्रवेश गर्ने त्रिवेणी नाकामासमेत कर्मचारी खटाएर हेल्प डेस्क सुरु भइसकेको उहाँको भनाइ छ । भारतबाट नेपाल प्रवेश गर्नेको स्वास्थ्य परीक्षण र खोप कार्ड निरीक्षणलाई सरकारले कडाइ गरेको पोखरेलले बताउनुभयो । पोखराका केही अस्पतालले कोभिडका बिरामीको उपचारका नाममा अहिले पनि ठूलो रकम असुल गरिरहेको अनौपचारिक तबरबाट खबर आएको भन्दै महामारीका नाममा कोही कसैले नाफा केन्द्रित कार्य नगर्न अनुरोध गर्नुभएको छ ।

कार्यक्रममा प्रदेशका ११ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले तेस्रो लहरको अवस्था र खोप विवरणबारे प्रस्तुति राख्नुभएको थियो । सामाजिक, पारिवारिक अनि राजनीतिक गतिविधिका कारण महामारी फैल्याउन ठूलो भूमिका खेलेको भन्दै यसमा रोक लगाउन जरुरी रहेको उनीहरुको भनाइ थियो ।

मनाङमा अहिले शून्य संक्रमित रहेको र यस अवस्थालाई कायम राख्न सक्दो प्रयास भइरहेको मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताउनुभयो ।

यसैगरी लमजुङमा अक्सिजन प्लान्टमर्मत् गर्नु पर्ने, दुई वटा सामुदायिक अस्पतालमा औषधि र अन्य सामग्री प्रदेश सरकारले उपलब्ध गराउनुपर्ने, स्याङ्जामा थप अक्सिजन प्लान्ट स्थापनाका लागि बिजुलीको लाइन अभाव रहेको, नाकामा होल्डिङ सेन्टर बनाएको खण्डमा बिरामीलाई घरसम्म पु¥याउनका लागि सवारी साधनको व्यवस्था गर्नुपर्ने प्रमुख जिल्ला अधिकारीले जानकारी गराउनुभएको छ ।

गोर्खाका मठ मन्दिरमा नित्यपूजाबाहेक सर्वसाधारणका लागि रोक लगाइएको, बेड र एम्बुलेन्स लगायतको प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताउनुभयो । पर्वतमा निशेधाज्ञा जारी गरिएको, मुस्ताङ प्रवेशमा कडाइ गरिएको त्यहाँका प्रजिअले जानकारी गराउनुभएको छ ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री मधुमाया अधिकारी गुरुङले प्रदेश सरकारले जनशक्ति व्यवस्थापनदेखि, होल्डिङ सेन्टर निर्माण, औषधि र उपचारको प्रबन्ध गरिहेको बताउनुभयो । यो महामारी व्यवस्थापनका लागि तीन तहकै सरकार एकाकार भएर लाग्नुपर्ने भन्दै समन्वयका लागि प्रदेश सरकारले काम गरिरहेको उहाँको भनाइ थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?