विदेश |

अमेरिकी राष्ट्रपति निर्वाचन, कस्ले मार्ला बाजी ?

 कृष्णराज खनाल
अमेरिकी राष्ट्रपतिय निर्वाचन नजिकिँदै गर्दा अमेरिकाभित्र मात्रै होइन, विश्वभर यसको जोडघटाउ सुरु भएको छ । आजको ठीक एक हप्तापछि आगामी मंगलवार नोभेम्वर ३ मा अमेरिकी राष्ट्रपतिको निर्वाचन हुँदैछ । अग्रिम मतदान भने करिब दुइ हप्ता अघि नै सुरु भइसकेको छ ।
अमेरिकी निर्वाचनमा तीन किसिमले मतदान गर्न पाइन्छ । मतदानको दिन सीधै मतदानस्थलमा लाइनमा उभिएर गरिने मतदान, निर्वाचन आयोगले हुलाकमार्फत घर ठेगानमा पठाएको मतपत्रमा मन परेको उम्मेदवारको नाममा चिन्ह लगाएर हस्ताक्षर गरी टाउनहलमा पुगी बुझाइने मतदान र टाउनले पठाएको मतपत्रमा आफूलाई मन परेको उम्मेदवारको नाममा चिन्ह लगाएर हस्ताक्षर गरी टाउनले विभिन्न स्थानमा राखेको मतपेटिकामा खसालेर गरिने मतदान । कोरोना भाइरसका कारण यसपटक पछिल्ला दुईवटा मतदान प्रक्रियामा अधिक मानिसको सहभागिता रहने जनाइएको छ ।
 अहिलेसम्म करिब सात करोड मतदाताले हुलाकमार्फत अग्रिम मतदान प्रक्रियामा सहभागिता जनाइसकेका छन् । निर्वाचन आयोगले नोभेम्वर ३ को निर्धारित समयसम्ममा टाउन हलमा गएर वा हुलाकमार्फत गरिएको अग्रिम मतदानमा करिब १० करोड मतदाता सहभागी हुने अनुमान गरेको छ । अमेरिकी इतिहासमा नै मतदानको दिन अघि नै यति धेरै मतदान गरिएको पहिलो पटक हो ।
प्रत्येक चार वर्षमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो वाइडेन मुख्य प्रतिस्पर्धीका रुपमा चुनावी मैदानमा देखिनुभएको छ । निर्वाचनपछि ट्रम्प र वाइडेनमध्ये एकजना ह्वाइट हाउसका हकदार हुनुहुनेछ । अहिले यी दुवै उम्मेदवार अन्तिम प्रतिस्पर्धाका लागि तटस्थ राज्य, युद्ध मैदान वा निर्णायक राज्यका रुपमा चिनिएका अरिजोना, फ्लोरिडा, मिचिगन, नर्थ क्यारोलिना, पेन्सिलभेनिया र विस्कन्सिनमा विशेषतः केन्द्रित रहनुभएको छ ।
चार वर्षअघि सन् २०१६ मा झण्डै १४ करोड मतदाताले मतदान गरेका थिए । यसपटक सो संख्या बढेर करिब १५ करोड मतदानमा सहभागी हुने अनुमान गरिएको छ । विगत ५० वर्षको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा ६१ प्रतिशतभन्दा बढी मतदान भएको छैन । सदरदरमा ५० प्रतिशतकै हाराहारीमा मतदान हुने गरेको छ । तर यसपटक प्रतिशत बढेर ६६ प्रतिशतसम्म पुग्ने पर्यवेक्षकहरुको अनुमान छ ।

कसले जित्ला ?
यो निर्वाचनमा ट्रम्प वा वाइडेन कसले जित हात पार्ला रु अहिले विश्वभर यही जिज्ञासा छ । नेपालीहरु पनि अहिले यही प्रश्न गरिरहेका छन् । ठोकुवा गरेर भन्न सक्ने स्थिति छैन । विभिन्न मत सर्वेक्षणले वाइडेनलाई अग्रता दिए तापनि यी सर्वेक्षणको आधिकारिकता र विश्वसनीयतामाथि शंका उपशंका गर्नुपर्ने स्थिति सन् २०१६ को निर्वाचन सर्वेक्षण हावादारी भएको तथ्यले पनि पुुष्टि गरिसकेको छ । अमेरिकी राष्ट्रपतीय निर्वाचन प्रत्यक्ष निर्वाचन होइन, परोक्ष हो । मतदाताले आफूलाई मन परेको उम्मेदवारलाई गरेको मतदानले राष्ट्रपति चुनिदैनन् । इलेक्टोरल कलेजले निर्धारण गर्छ ।

के हो इलेक्टोरल कलेज ?
अमेरिकाका प्रत्येक राज्यबाट दुई दुई जना गरी एक सय सिनेटर, तल्लो सदनका चार सय ३५ र डिष्ट्रिक अफ कोलम्वियाका तीन समेत गरी पाँचसय ३८ जनाको कलेज डेलिगेट्स अर्थात् इलेक्टोरल कलेज रहन्छ । यसमध्ये जुन उम्मेदवारले आधाभन्दा बढी अर्थात् दुइ सय ७० मत ल्याउँछ, त्यही व्यक्ति राष्ट्रपति निर्वाचित हुन्छ । यस किसिमको व्यवस्था अरु देशमा छैन । इलेक्टोरल कलेज नै वास्तवमा राष्ट्रपतिका उम्मेदवारको निर्णायक हो । अमेरिकी मतदाताले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्दा अप्रत्यक्ष रुपमा इलेक्टोरललाई नै मतदान गरिरहेका हुन्छन् । लोकप्रिय मत पाएर विजयी हुने उम्मेदवारले त्यहाँको सबै इलेक्टोरल मत पाउँछ ।
लोकप्रिय मत थोरै पाएर पनि इलेक्टोरल मत धेरै पाउने नै अन्ततः राष्ट्रपतिमा विजयी हुन्छ । सन् २०१६ मा राष्ट्रपति ट्रम्पले तीन सय चार इलेक्टोरल मत पाउनुभएको थियो । उहाँकी प्रतिस्पर्धी हिलारी क्लिन्टनले लोकप्रिय मत अधिक पाउनुभएको थियो । सन् २००० मा पनि एल गोरभन्दा लोकप्रिय मत कम पाएर पनि इलेक्टोरल मत धेरै पाएको आधारमा जर्ज डब्लु बुस राष्ट्रपति हुनुभएको थियो । अमेरिकाको संविधानिक व्यवस्था अनुसार, इलेक्टोरल मत प्रत्येक राज्यका नागरिकको बसोवासको घनत्वको आधारमा निर्धारण गरिएको हुन्छ । अमेरिकाको क्यालिफोर्नियामा सर्वाधिक ५५ इलेक्टोरल मत छ भने टेक्ससमा ३८ र न्यूयोर्कमा २९ छ ।

निर्वाचनको दिन विशेष
यो दिन अमेरिकामा सार्वजनिक बिदा हुँदैन । मतदान प्रक्रिया भने बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म तय गरिएको हुन्छ । यो दिन कतिपय राज्यमा हिंसा वा दंगा हुनसक्ने सम्भावना पनि औँल्याइएको छ । त्यसैले राष्ट्रिय रक्षक, सेना र प्रहरीलाई विशेष सतर्कता अपनाउन निर्देशन दिइएको छ । अधिक मात्रामा बन्दुकको किनबेच बढेको कारण अस्थिरता उत्पन्न हुनसक्ने कुरा अनुमान गर्न सकिन्छ । विश्लेषकहरुले मतदानको दिन र परिणाम बाहिर आउने दिनलाई विशेष हिंसाको दिनका रुपमा चित्रित गरेका छन् । नागरिकहरुमा कोरोना भाइरसले ल्याएको संक्रमण र आगलागीले नागरिकमा आएको बेचैनका कारण हिंसात्मक गतिविधि उत्पन्न हुनसक्ने सम्भावना देखिन्छ ।

परिणाम कहिले आउँछ ?
मतगणनाको आधिकारिक परिणाम आउन करिब एक हप्ता लाग्छ । तथापि भोलिपल्टसम्ममा कसले जित्यो भनेर मोटामोटी नतिजा आइसक्नेछ । हुलाकमार्फत मतदान गरिएका मतपत्र नोभेम्बर ६ तारिखको ५ बजेसम्म आइपुग्नुपर्ने समय निर्धारण गरिएकाले मतदानको दिनदेखि अन्तिम परिणाम आउन एक हप्ता लाग्न सक्छ । अधिकांश रिपब्लिकनले मतदानको दिन नै मतदान गर्ने र अधिकांश डेमोक्रेटहरुले पहिले नै हुलाकमार्फत मतदान गर्ने भएकाले कुन मत पहिले गणना गरिन्छ, त्यसैको आधारमा यसको आँकलन गर्न सकिन्छ ।

(खनाल पूर्व गाेरखापत्रकर्मी तथा बाेस्टन निवासी नेपाली पत्रकार हुनुहुन्छ )