कला |

आम मान्छेले भङ्ज्याहा भन्छन् तैपनि कुनै गुनासो छैन

अमृतप्रसाद पौडेल
बेनी, असोज ६ गते । म घरमै थिएँ, कुन्द दीक्षितले फोन गरेर मलाई पुरस्कारका लागि छनोट गरिएको जानकारी दिनुभयो । हामी सपरिवार खुशी भयौं । मैले तुरुन्त फोन गरेर मेरो दाजु सूर्यप्रकाशलाई जानकारी गराएँ । हामी चार भाइमध्ये मेरो एक जना मात्र दाजु जीवित हुनुहुन्छ । त्यसैले मैले पहिलोपटक खुशीको कुरा उहाँलाई सुनाएँ’–बानियाँले भन्नुभयो ।
पोखरामा बसोबास गर्दै आउनुभएका बानियाँ भन्नुहुन्छ –‘मलाई भङ्जाहा (विद्रोही स्वभावको भन्ने अर्थमा) भन्छन् आम मान्छे तैपनि कुनै गुनासो छैन ।’ कुनै पनि कार्य अनि संस्कारको विरोधमा कलम चलाउने उहाँको बानीलाई आम मानिसले भङ्जाहाका रुपमा चित्रित गर्ने गरेको उहाँको बुझाइ छ ।


सधैँ लेखिरहन रुचाउने अनि लेख्न पढ्नमै दिन बिताउने गर्नुहुन्छ चन्द्रप्रकाश बानियाँ । म्याग्दीको बेनी नगरपालिका–५ भीरमुनीका स्थायी बासिन्दा बानियाँ पछिल्लो पाँच वर्षदेखि भने पोखरा सिमलचौरमा बस्दै आउनुभएको छ । चन्द्रप्रकाशका एक छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ । फुटकर लेखनमा सधैँजसो चासो राख्ने उहाँले गतवर्ष प्रकाशन गर्नुभएको तत्कालीन पर्वत राज्यको ऐतिहासिक विषयमा लेखिएको उपन्यास ‘महारानी’ले नेपालकै प्रतिष्ठित मदन पुरस्कारका लागि छनोट भएसँगै उहाँको चर्चा नेपालभर शुरु भएको छ ।
उहाँले आफूले पुरस्कार पाउँछु भन्ने कत्ति पनि आश थिएन तर एकाएक पुरस्कृत भएको थाहा पाउँदा खुशी लागेको बताउनुभयो । २००७ चैत २७ गते जन्मिनुभएका बानियाँ नेपालमा प्रजातन्त्र पुनस्र्थापनापछि २०४८ सालमा सम्पन्न पहिलो संसदीय निर्वाचनमा तत्कालीन नेकपा एमालेको तर्फबाट म्याग्दीको क्षेत्र नम्बर २ मा विजयी हुनुभएको थियो ।
अठार वर्ष लामो शिक्षण पेशाबाट उहाँलाई अवकास दिएपछि राजनीतिमा होमिनुभएका बानियाँ २०५१ मा मध्यावधिक निर्वाचन भएपछि भने सक्रिय राजनैतिक जीवनबाट सन्यास लिए जस्तै हुनुहुन्थ्यो । हाल कुनै पनि राजनैतिक दलमा आबद्ध नरहेका बानियाँले पछिल्लो समय लेखनमै समय बिताउने गर्नुभएको छ । छोरीसँगै पोखरा बस्दै आउनुभएका उहाँले ऐतिहसिक पर्वत राज्य, मृत्यु संस्कार मन्थन र महारानी कृति प्रकाशन गर्नुभएको छ । पत्रपत्रिकामा विचार तथा साहित्यको प्रकाशन पनि गरी रहने बानियाँको नयाँ कृति भौज्याहा पनि बजारमा आउने तयारीमा छ ।
ंसक्रिय राजनीतिबाट टाढा रहेर लेखनक्षेत्रमा क्रियाशील बानियाँद्वारा लिखित ऐतिहासिक विषयमा आधारित उपन्यास ‘महारानी’मा पर्वत राज्यको बारेमा वर्णन गरिएको छ । उपन्यासभित्र इतिहासका धेरै कुरा खोजिएकाले समेत वर्षभरि निकै चर्चामा रहेको थियो । बानियाँको उपन्यास ३६८ पेजको छ ।

अङ्ग्रेजी विषयका स्थायी शिक्षक बानियाँले पौलस्त्य माध्यमिक विद्यालय बेनी नगरपालिका–५, भीरमुनी, मंगला माध्यमिक विद्यालय मंगला गाउँपालिका–२ बाबियाचौर, राखु, मा अध्यापन गर्नुभएको थियो । २० वर्षमा सेवा निवृत्त हुने भए पनि उहाँले २०४८ सालको प्रतिनिधि सभा निर्वाचनमा भाग लिनका लागि १८ वर्ष लामो शिक्षण पेशालाई त्याग्दै निर्वाचनमा होमिनुभएको थियो । २०५१ मा मध्यावधि निर्वाचन भएपछि उहाँ सक्रिय राजनीतितर्फ कहिल्यै फर्कनुभएन । नेकपा एमाले पृष्ठभूमि र एमालेबाटै सांसद बनेका बानियाँ २०५१ पछि सक्रिय राजनीतिबाट बाहिर हुनुहुन्थ्यो त्यसपछि २०५४ तिर एमाले फुटेर जब माले एमाले बन्यो तब राजनैतिक रुपबाट पूरै विश्राम लिँदै लेखनलाई थप उचाइमा पु¥याउनका लागि लागेको उहाँको अनुभव छ । लेखनका लागि पार्टी विभाजनले ठूलो भूमिका खेल्यो बानियाँ भन्नुहुन्छ । लेख्न त सानैदेखि लेखिरहने बानी हो तर पनि पार्टी फुटेपछि यता लागेँ र गणेशमानको मृत्युपछि देशलाई पुगेको क्षति सन्दर्भमा पहिलोपटक मैले लेखेँ बानियाँले सुनाउनुभयो ।
उहाँ भन्नुहुन्छ– म हप्तामा एकदुई वटा लेख लेख्छु अहिले पनि निरन्तर ।
मदन पुरस्कारका सन्दर्भमा कुरा गर्दा बानियाँले भन्नुभयो – पुस्तक प्रकाशन गर्ने संस्थाले पुस्तक प्रकाशन भएपछि नै कुनै पुरस्कार प्राप्त गर्ने दाबी गरेको थियो तर मलाई पुरस्कारका बारेमा विश्वास थिएन । जब अन्तिम ७ मा प¥यो फेरि प्रकाशकले फोन गरेर भन्नुभयो नोमिनेट भयो, तर पनि मैले विगतका दुई वर्ष पनि यस्तै कृतिले पुरस्कार पाएको छ त्यसैले लगातार यो कृतिले पुरस्कार नपाउन सक्छ भनेको थिएँ । पुरस्कारका लागि छनोट भएपछि पनि मलाई अनौठोभन्दा पनि थप जिम्मेवारी बढेको छ ।

वि.सं. २०१२ सालमा स्थापित मदन पुरस्कार गुठीले २०७६ सालको मदन पुरस्कारका लागि महारानी छनोट भएको भन्दै गुठीका अध्यक्ष कुन्द दीक्षितले फोन गरेर बानियाँलाई जानकारी गराएपछि उहाँ उत्साहित हुनुभएको छोरी प्रमिलाको भनाइ छ । लेखक बानियाँले लेखेको महारानी उपन्यास उत्कृष्ट रहेकाले उक्त पुस्तकलाई मदन पुरस्कारले सम्मान गरिने मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको थियो । मदन पुरस्कार गुठीको आइतबार सम्पन्न साधारणसभाले गतवर्ष प्रकाशितमध्ये १५१ वटा पुस्तक गुठीलाई प्राप्त भएकोमा पुरस्कारका लागि सात पुस्तक छनोटमा परेका थिए । इतिहासका धेरै कुरा खोजिएको र उपन्यासले पाठकलाई खुल्दुली मेटाउने महारानीलाई उत्कृष्ट छनोट गर्दै पुरस्कार प्रदान गरिएको जनाइएको थियो ।
यसवर्ष मदन पुरस्कारका लागि सात पुस्तक छनोट भएकोमा विमल निभाको जोकरको बन्दुक, तीर्थ श्रेष्ठको धर्सैधर्साको चक्रव्यूह, भुवन ढुङ्गानाको परित्यक्ता, योगी धर्ममहारसको महारसनिघण्टु (खण्ड १ (३), ललित विष्टको मोहपथ र शारदा शर्माको यात्रामा कृति पनि मदन पुरस्कार सूची २०७६ को छनोटमा परेका थिए ।