कला |

सिन्धुलीगढी (चित्रकथा) सार्वजनिक

गोरखापत्र समाचारदाता
काठमाडौँ, असोज १५ गते । सिन्धुलीगढीमा अंग्रेज फौजलाई परास्त गरेको दिनका रूपमा विजय दिवस मनाइएको छ । सो अवसरमा सिन्धुलीगढी (चित्रकथा) सार्वजनिक गरिएको छ ।
समृद्ध सिन्धुली अभियानद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराई, सांसदद्वय हरिबोल गजुरेल, गणेशकुमार पहाडी र इतिहासकार प्रा।दिनेशराज पन्तले संयुक्त रूपमा पुस्तक विमोचन गर्नुभयो ।

सोही समयमा सिन्धुलीमा समेत कमलामाई नगरपालिकाका प्रमुख खड्गबहादुर खत्रीले पुस्तक सार्वजनिक गर्नुभयो ।कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले आधुनिक हतियारसहित अगाडि बढेको अंग्रेजलाई रोक्ने किल्लाको रुपमा सिन्धुलीगढीको अन्तर्राष्ट्रिस्तरमा नै महत्व रहेको बताउनुभयो ।उहाँले सिन्धुलीगढी क्षेत्रको पर्यटन विकासमा बेलायत सरकारसँग समेत मिलेर काम गर्न सकिने सम्भावनाबारे चर्चा गर्नुभयो ।
उहाँले संघबाट सानातिना बजेट बाँड्नेभन्दा प्रदेश र स्थानीय तहको सहकार्यमा पर्यटकीय क्षेत्रको विकास गरिनुका साथै भारतीय पर्यटकलाई लक्षित गरी महाभारत पर्वत् क्षेत्रमा हिलस्टेशनका रूपमा विकास गरिने योजना रहेको बताउनुभयो । उहाँले सिन्धुलीहुँदै निर्माण भएको तीन वटा राष्ट्रिय राजमार्गका कारण पनि सिन्धुलीको पर्यटन सम्भावना ज्यादा रहेको बताउँदै हाँले सिन्धुलीगढीदेखि फिक्कलबीचका क्षेत्रमा हिलस्टेशन बनाउन सकिने सम्भावना बारे चर्चा गर्नुभयो ।
सांसद हरिबोल गजुरेलले सिन्धुलीगढीको पर्यटन विकासमा हुनुपर्ने जति काम हुन नसकेको बताउनुभयो । उहाँले सिन्धुलीगढी दरबार पुनर्निर्माण र गढीको संरक्षण कार्यलाई तीब्रतर गतिमा अगाडि बढाउनुपर्नेबारे मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।
इतिहासकार प्रा।दिनेशराज पन्तले सिन्धुलीगढीको ऐतिहासिक र सामरिक महत्वको चर्चा गर्नुहुँदै संरक्षणमा विशेष ध्यान दिन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “पुराना संरचनाको संरक्षणमा कताकता नयाँ रचना गर्दा पुरानोमा दख्खल पर्नेमा सबैको ध्यान जावस् ।”
कार्यक्रममा अभियानका संयोजक लीलानाथ घिमिरे, अभियानकर्मी डण्ड गुरुङ, कमर्ययोगी बद्री विक्रमथापा स्मृति सेवा गुठीका कोषाध्यक्ष किरण थापाले सिन्धुलीगढीको ऐतिहासिक महत्व र बालबालिकाका लागि चित्रकथाका विषयमा चर्चा गर्नुभएको थियो । सो अवसरमा मन्त्री भट्टराईलाई अंग्रेज र गोरखालीबीच युद्ध भएको पौवागढीको चित्रकला उपहार प्रदान गरिएको थियो । सो चित्रकला कलाकार सुरेम देशारले तयार पार्नुभएको हो । यस्तै, गुठीद्वारा प्रकाशित पुस्तकहरु समेत प्रदान गरिएको थियो ।
कान्तिपुरका राजा जयप्रकाश मल्ललाई सैनिक सहायता गर्न आएका इष्ट इन्डिया कम्पनीका अंग्रेज फौजलाई सिन्धुलीगढी किल्लामा विक्रम सम्वत् १८२४ असोज १५ मा गोरखाली सेनाले परास्त गरेका थिए । यो युद्धमा अंग्रेजतर्फ एक हजार छ सय सैनिक मारिनुका साथै ठूलो मात्रामा तोप र बन्दुक खोसिएका थिए ।