लोकतान्त्रिक सङ्घर्षको निजात्मक वर्णन
विष्णु रिजाल
प्रत्येक मानिसलाई आफ्नो जीवन र आफूले भोगेको समयबारे सबभन्दा बढी थाहा हुन्छ । जब मानिसले आफ्नो विगत सम्झिन्छ ऊ एकाएक रोमाञ्चित हुन्छ । ‘माई लाइफ एन्ड टाइम’ पुस्तकमा योगप्रसाद उपाध्याय पनि आफ्नो विगत सम्झेर भावुक र रोमाञ्चित बन्नुभएको छ । उहाँको व्यक्तिगत जीवन हाम्रा लागि पनि किन सान्दर्भिक बनेको छ भने त्यसको वर्णन सँगसँगै नेपालको कष्टसाध्य लोकतान्त्रिक आन्दोलनको इतिहास अभिन्न रूपमा जोडिएको छ । ताप्लेजुङबाट भारतको आसाम पुगेको परिवारमा जन्मेर भारतमै स्तरीय शिक्षादीक्षा प्राप्त गर्नुभएका उपाध्याय २००७ सालको राणा विरोधी आन्दोलनकै सरोफेरोबाट नेपालको प्रजातान्त्रिक आन्दोलनमा जोडिँदै आफूलाई यसैमा समर्पित गर्नुभएका व्यक्तित्व भएकाले उहाँको जीवनीमा जताततै राजनीतिक सङ्घर्षका कथा जोडिएका छन् । २०१७ सालमा सैनिक बलमा राजा महेन्द्रले ‘कु’ गर्दा नेपाल सरकारको सचिव रहनुभएका उपाध्याय त्यसबाट राजीनामा दिएर लुकिछिपी भारत पुगेपछि सुरु भएको कठिन सङ्घर्षको वर्णन पुस्तकमा छ, जुन यस पुस्तकको मुख्य पाटो हो भन्ने लाग्छ । लेखकको निजी जीवनसँगै तमाम नेता–कार्यकर्ताको सङ्घर्षका कठिन दिन जेडिएर आएका छन् ।
सचिवबाट राजीनामा दिएर नेपाली काँग्रेसको पञ्चायतविरोधी राजनीतिमा संलग्न हुनुभएका उपाध्याय २०१७ देखि ०३१ सालसम्म उक्त पार्टीको केन्द्रीय कार्यसमिति सदस्य हुनुका साथै २०३१ देखि ०४७ सालसम्म सह–महामन्त्री तथा प्रवक्ताका रूपमा काम गर्दाका अनेक सङ्घर्षमय क्षणको विवरण पुस्तकमा उल्लेख छन् । साथै २०४७ सालमा कृष्णप्रसाद भट्टराईको प्रधानमन्त्रित्वमा गृह, सूचना तथा सञ्चारमन्त्री हुँदाका क्षणदेखि अमेरिकामा राजदूत भएर आफ्नै पार्टीको सरकारले अपमानजनक रूपमा फिर्ता बोलाउँदासम्मका पीडादायी क्षणलाई पनि उहाँले रोचक ढङ्गले वर्णन गर्नुभएको छ ।
नेपाली काँग्रेस लामो सङ्घर्षको इतिहास भएको पार्टी हो भन्नेमा दुई मत छैन । जनताले बसाएको सिंहदरबारको कुर्सीबाट गलहत्याएर राजाले प्रधानमन्त्री बीपी कोइरालालाई सीधै जेलमा पु¥याएपछि नेपालमा प्रजातन्त्र स्थापना गर्न यस दलको अगुवाइमा लामो सङ्घर्ष भएको छ । सायद यही सङ्घर्षलाई सम्मान गर्दै जनताले २०४८ सालको आम निर्वाचनमा काँग्रेसलाई न्यायोचित रूपमा सुविधाजनक बहुमत दिनु अन्यथा थिएन । तर अन्यथा त के भयो भने काँग्रेसले देश बनाउने यो जिम्मेवारी बुझ्नै सकेन र आन्तरिक विवादमा रुमल्लियो । प्रधानमन्त्रीको जिम्मेवारीमा रहनुभएका गिरिजाप्रसाद कोइराला, सभापति कृष्णप्रसाद भट्टराई र सर्वोच्च नेता गणेशमान सिंहबीचको विवादको वाक्क लाग्दो चित्रण एकजना भुक्तभोगीका रूपमा योगप्रसाद उपाध्यायले हामीलाई पस्किनुभएको छ । सुरुदेखि नै कृष्णप्रसाद भट्टराईसँग निकट रहेर काम गर्नुभएका उपाध्याय अमेरिकाको राजदूत रहेका बेला पार्टीभित्रको विवादका कारण हठात् फिर्ता बोलाइएको घटनालाई उहाँले एउटा दृष्टान्तका रूपमा चित्रण गर्नुभएको छ ।
प्रजातान्त्रिक सङ्घर्षका क्रममा घरबार, परिवार, जागिर, आफन्त र ज्यानै समेत गुमाएका तमाम नेता कार्यकर्ताका कारुणिक कथा यस पुस्तकमा सङ्गृहीत छन् । सशस्त्र सङ्घर्ष गर्न भारत प्रवासबाट नेपाल आएको बेला यतै मारिएका जगतप्रकाश शाहकी श्रीमती रश्मि शाहले पति मारिएको पीडा सहन नसकी गरेको मृत्युवरणको कारुणिक चित्रणले त्यतिबेला प्रवासमा रहेर सङ्घर्ष गर्ने नेता, कार्यकर्ता र तिनका परिवारको के अवस्था थियो भन्ने दर्शाउँछ । प्रवासमा रहेका नेता कार्यकर्ताको पालन पोषण, तिनका सन्तानको शिक्षा दीक्षादेखि नेपालभित्र कार्यकर्ता पठाउनेसम्मको बोझ उठाउने सुवर्ण शमशेरजस्ता नेता नभइदिएको भए काँग्रेसको हालत के हुन्थ्यो होला भन्ने भावना पुस्तक पढेपछि उत्पन्न हुन्छ । मेलमिलाप नीति भन्दै बीपी कोइराला स्वदेश फर्किनुमा भारतको असहयोगले प्रमुख भूमिका खेलेको विश्लेषण गर्दै उपाध्यायले गिरिजाप्रसाद कोइराला २०४२ सालको सत्याग्रहको विपक्षमा रहेको, उहाँको दरबारसँग निरन्तर सम्पर्क रहेको र बीपीको निधनपछि गणेशमान र कृष्णप्रसाद भट्टराईका कारण नै सङ्घर्ष सफल भएको उल्लेख गर्नुभएको छ ।
नेपाली काँग्रेस र भारतबीचको सम्बन्धका विविध आयामका बारेमा ‘माई लाइफ एन्ड टाइम’ मा विभिन्न कोण छन् । २०१७ सालको काण्ड हुँदा भारतले घुमाएर राजालाई साथ दिएकोदेखि बीपीलाई भारत छाड्न बाध्य बनाएकोसम्मका घटनाक्रम लेखकले प्रत्यक्षदर्शीका हिसाबले आधिकारिक रूपमा उल्लेख गर्नुभएको छ । त्यस अवधिमा भारत लगायतका मुलुकसँग कूटनीतिक सम्बन्ध राख्नका लागि खेलिएको भूमिकाको चर्चा गर्दै लेखकले राजनीति र प्रेममा जे पनि उचित हुन्छ भन्ने ठानेर आपूmहरूले दरबारको नक्कली लेटर प्याड र छाप बनाएर प्रजातन्त्रका पक्षमा वक्तव्य तयार गरेर विभिन्न देशमा रहेका नेपालका राजदूतावासमा पठाएको खुलासा गर्नुभएको छ । ‘फुलब्राइट फेलोसिप’ पाउने पहिलो नेपालीका रूपमा अमेरिकामा पढेर आएको हुनाले भाषा र विदेशीसँगको सम्बन्धबारे आपूmलाई प्राप्त हुने अनुकूलतालाई पार्टीको हितमा, बहुदलीय व्यवस्थाको पक्षमा र पञ्चायतको विपक्षमा प्रयोग गरिएका दृष्टान्त उपाध्यायले पुस्तकमा सविस्तार उल्लेख गर्नुभएको छ ।
यस्तै, २०४७ सालमा किसुनजीको नेतृत्वमा सरकार बन्दा आपूm समेत संलग्न बैठकले गृहमन्त्रीमा चक्रप्रसाद बाँस्तोलालाई पठाउने निर्णय गरे पनि पछि प्रधानमन्त्री भट्टराईले आपूmलाई प्राप्त सुखद् आश्चर्यको खुलासा लेखकले यसमा गर्नुभएको छ । २०४६ को जनआन्दोलनको उठान र बैठानमा प्रत्यक्ष संलग्न पात्र उपाध्याय भएकाले दरबारसँगका संवाद, त्यस क्रममा देखापरेका जटिलता र सफलतामा पु¥याउन गरिएका कामको चर्चा उहाँ आपैmँले गर्दा घटनाको एउटा पाटो बुझ्न÷बुझाउन मद्दत पुगेको छ ।
काँग्रेसको सङ्घर्षको कथा पढ्दा यसले लोकतन्त्र प्राप्तिका लागि गरेको सङ्घर्ष प्रशंसायोग्य पाइन्छ भने सत्तामा आइसकेपछिको छिनाझप्टी देख्दा आजको अवस्था आइपुग्नुमा यही पार्टी जिम्मेवार छ भन्ने निष्कर्षमा पुगिन्छ । देश बनाउन पाएको अवसर काँग्रेसले कसरी
गुमायो ? आफ्नै संस्थापक गणेशमान सिंह जीवनको अन्तिम कालखण्डमा पार्टी छाड्न कसरी बाध्य हुनुभयो ? नामै तोकेर मत मागे पनि कृष्णप्रसाद भट्टराईलाई कसरी सत्ताबाट गलहत्याइयो ? यस्ता घटनाले काँग्रेससँग मात्र सरोकार राख्दैनन्, देश नै प्रभावित भएको पाइन्छ । पुस्तकमा काँग्रेसको आन्तरिक किचलोका नखुलेका पाटा पनि छन् । २०४६ को जनआन्दोलनको सफलता, २०४७ को अन्तरिम सरकार, संविधन निर्माण र २०४८ को निर्वाचनलाई आफ्नो प्रत्यक्ष संलग्नताको सफलताको रूपमा लेखकले व्याख्या गर्नुभएको छ ।
पुस्तकका सीमा नभएका होइनन् । आत्मकथा लेख्दा स्वाभाविक रूपमा कथाको केन्द्रमा ‘म’ मात्र नै हुन्छ र आफू संलग्न, आफूलाई थाहा पाएका वा आफूलाई अनुकूल लाग्ने कुरा नै कुनै पनि आत्मकथाका सीमा हुन् ।
योगप्रसाद उपाध्यायको ‘माई लाइफ एन्ड टाइम’ पनि त्यसबाट अपवाद छैन । खासगरी पञ्चायतविरोधी सङ्घर्षमा अरू शक्तिको भूमिका, काँग्रेसभित्र किसुनजीको परिक्रमा, भारतसँगको सम्बन्धको चर्चा गर्दै राष्ट्रिय हितको पक्षमा भन्दा उसको संवेदनशीलताको बढी ख्याल जस्ता कुरा लेखकको दृष्टिकोण र संलग्नताका कारण भएका कुरा हुन् भनेर बुझ्न सकिन्छ । काँग्रेसको पहिलो पुस्ताको नेता भएका कारण योगप्रसाद उपाध्यायले व्यक्त गरेका धारणाले काँग्रेस कुन अवस्था र मनोविज्ञानबाट गुज्रिँदै आजको अवस्थासम्म आइपुगेको छ भनेर बुझ्न सघाउँछ । साथै काँग्रेसकै हालका नेता कार्यकर्तालाई पनि आफ्नो विगत स्मरण गराउनका लागि पुस्तक उपयोगी छ ।
अङ्ग्रेजी भाषामा दखल भएका कारण योगप्रसाद उपाध्यायले आफ्नो इतिहास लेख्न यही भाषा रोजेकाले अङ्ग्रेजीभाषी समुदायबीच यसले नेपालको लोकतान्त्रिक इतिहासमा संलग्न एक प्रमुख पात्रको जीवनमार्फत विगतलाई बुझाउन योगदान गर्नेछ । ९३ वर्षको उमेरसम्म आफूले गरेका कामको अनुभव सँगालेर पुस्तक लेख्नु सामान्य कुरा होइन । डायरी लेख्ने बानीका कारण पनि उहाँलाई कतिपय घटनाक्रम सम्झिन सजिलो भएको होला । नत्र भने यस उमेरमा संस्मरण लेखन त्यति सहज छैन । पुस्तकमा आफ्नो डायरीका केही अंश, केही ऐतिहासिक चिठीपत्र र तस्बिर राखेर लेखकले पाठकलाई बढी सूचना दिन र पुस्तकलाई पठनीय बनाउन खोज्नुभएको छ । राजनीति र इतिहासप्रति रुचि राख्नेका लागि ‘माई लाइफ एन्ड टाइम’ पुस्तक पढ्नु उपयुक्त छ । आफ्नै नेताहरूका बारेमा उनीहरूले निर्वाह गरेको भूमिका र आफ्नो सङ्गतका आधारमा लेखकले मूल्याङ्कन गर्नुभएको छ ।
आफूले आजीवन विश्वास गरेको किसुनजीले एक शब्द पनि नसोधी आफू उपत्यका बाहिर रहेको बेलामा आफूमाझ निकै कनिष्ठ रामचन्द्र पौडेललाई उपप्रधानमन्त्री बनाएपछि शिक्षामन्त्रीबाट राजीनामा दिएको घटनालाई पनि उहाँले उल्लेख गरेर नेताहरूका सीमा र प्रवृत्तिका बारेमा चर्चा गर्नुभएको छ । समग्रमा पुस्तक नेपालको लोकतान्त्रिक विकासक्रमलाई बुझ्न सन्दर्भ सामग्रीका रूपमा आएको छ ।