म मरेपछि यो कथा छाप्नू
भाउपन्थी
पत्रपत्रिकाले कोरोनाको लकडाउनका कारण कथा नपाइरहेका बेला उसले कथा लेखेर पत्रिकामा पठायो । साथै एउटा टिप्पणी पनि लेख्यो– यो कथा कथाकार मरेपछि छाप्नू । कथाकारले आशङ्का पनि व्यक्त ग¥यो, मेरो मृत्यु कोरोनाका कारण चाँडै नै हुन सक्छ । नभए ? पत्रिकाको सम्पादकले कथा पायो । कथाभन्दा अघि कथाकारको टिप्पणी पढेपछि यस्तो सोच्यो– कस्तो पागल कथाकार रहेछ । कथा पनि पठाउने र मरेपछि छाप्नू भन्ने । पत्रिका के उसको कथाको अभिलेखालय हो ? सम्पादकले कथा पढेन । मेलबाट आएको खुल्लै थियो । पढे पनि हुने नपढे पनि हुने । पढेन । कारण थियो, कतै कथा पढेपछि उसैको मृत्यु हुने त होइन ? कथा अभिशप्त पो छ कि ? सम्पादकलाई यो पनि डर थियो, कोरोनाको महाव्याधिकालमा कथा नै नपढी ऊ नै पहिले मर्ने हो कि ! ऊ मरेपछि कथाको के अवस्था होला ? कथाकार मर्नु नमर्नुभन्दा पनि सम्पादकलाई आफ्नै चिन्ताले सतायो । कथा गायब भयो भने कथासाहित्यका पाठक एउटा श्रेष्ठ कथा पढ्नबाट वञ्चित हुने पो हुन् कि ? तर सम्पादकले कथा श्रेष्ठ छ भनेर उद्घोष गर्नुपर्ने कारण देखेन । कथा उसले पढेकै छैन । कथा अभिशप्त नै पो छ कि ? कथा जसले पढ्ला ऊ मर्ने पक्का छ ?
चक्करमा फसियो । कथाकारले बहुतै गम्भीरतासाथ कथा म मरेपछि मात्र छाप्नुहोला भनेर टिप्पणाी लेखिपठाउनुको पछाडि अवश्य कुनै ठोस कारण हुनुपर्छ । कथाकार लकडाउनका कारण मानसिक असन्तुलनको सिकार त भएन ? लकडाउनमा धेरैले डिप्रेसन भोग्दै आत्महत्या गरेर यो संसार छाडेको समाचार आइरहेको छ । प्रत्येक आत्महत्याको एउटा समाचार । कतिपय आत्महत्या समाचार बन्नबाट छुटे पनि होलान् । आत्महत्याको समाचारको सङ्ख्या बढाएर फाइदा हुने पनि देखिएन । फाइदा हुने ? हो, आत्महत्या रोक्न कतैबाट आर्थिक सहयोग वा अनुदान, केही त्यस्तै । आत्महत्या गर्नेहरूको तरिका पनि बेग्लाबेग्लै छन् । संसारको बीचमा एक्लै, कतैबाट सहयोगको अपेक्षा नभएपछि बाँच्नुको अर्थ देखेनन् होला । लकडाउन वा आइसोलेसन वा क्वारेन्टाइनको अव्यवस्थाजन्य अत्यासले विक्षिप्त तुल्यायो होला । कराए पनि चिच्च्याए पनि सुन्ने कोही छैन । कोरोना भनेपछि मानिस नजिकै पर्न छाड्छन् । गाउँमै पस्न दिन्नन् । डेरामा प्रवेश गर्नु छ भने पीसीआर गरेर नेगेटिभ आएको रिपोर्ट ल्याऊ भन्छन् घरधनी । यति कारणकै लागि कथाकारले कथा लेखेर ऊ मरेपछि मात्र कथा छाप्नू भन्ने आग्रह लेखेर गएको हो ? के ऊ कतै क्वारेन्टाइनमा वा आइसोलेसनमा त छैन ?
निराश भएको हुन पनि सक्छ कथाकार । मरेपछि सम्मान पाइएला भन्ने धोको लुकाएर गयो कि ? अचेल साहित्यकारहरूभन्दा दलहरूका नेता कार्यकर्ताको बिगबिगी छ । मरेपछि पनि । मुलुकलाई तिनीहरूबाटै फुर्सत छैन । झन्डा ओढाएर र तामझामका साथ अन्तिम संस्कार गरिन्छ । कथाकार मरिहालेछ भने ? कोरोनाले मरेको भनेर मरेपछि स्वाब टेस्ट गरेर पोजिटिभ निस्क्यो भने कता लगेर विरोधका बीच डोजरले खनेको खाल्डोमा हालेर माथिबाट पुरिदिने हुन् । टायरवायर बाल्ने काम पनि हुने हो विरोधमा ।
यो कथाकार को हो ? सम्पादक कथाकारलाई नामले त चिन्छ । व्यक्तिसित भेट नभएको मात्र हो । कथाकारको अवसान भइहालेछ भने समाचारपत्रको एक कुनामा एउटा सानो खबर पढ्न पाइएला । सम्पादकले पत्रिकाका अन्य सहयोगीहरूलाई फलानो कथाकारको मृत्युको समाचार छापिएछ भने खबर पाऊँ न पनि भन्न सकेन । के सोच्लान् ? व्यक्तिगत रिसइबीले त्यस्तो भनेको हो कि भन्ने सोच्न सक्छन् । कुनै व्यक्तिको मृत्युको कामना गर्नु स्वस्थ दिमागको काम मानिँदैन । सम्पादक दिमाग बिग्रेको वा मानसिक अस्वस्थ व्यक्तिका रूपमा चिनिन चाहँदैन । पहिलो कुरो त उसले कथाकारको मृत्युको कामना नै किन गर्नुप¥यो ? आधार दिने तर्क नै छैन । मानिस नमरून्, स्वस्थ रहून् भन्ने प्रार्थना गर्नु नै मानवीय कर्तव्य हो । तर कोरानाको कहरमा यो सोच लुलो भइदिन्छ । तैपनि आपूmलाई बलियो पार्दै सम्पादकले सोच्यो, कथाकार मरेको समाचार कुनै न कुनै अखबारमा आइहालेछ भने ? प्रथमतः कथाकार नमरोस् । मरिहालेछ भने ? कथा पढ्न र छाप्न सकिन्छ । कथा छाप्न र पढ्न पाइन्छ भनेर कथाकारको मृत्यु कामना गर्नु ठीक छ ?
सम्पादकले आपूmभित्र एउटा भुमरी घुम्दैघुम्दै दिमागलाई कस्दैकस्दै आएको अनुभव ग¥यो । कथाकार के कुनै राजनीतिज्ञ हो जसले भनोस् मेरो मृत्युसम्म यो कुर्सीमा अरूलाई बस्न नदिइयोस् । राजनीतिज्ञ नहोला तर कथाकारले कथामा केही व्यक्त गरेको छ जसले उसको मृत्युपूर्व कथा पढ्दा पढ्नेको ठूलै हानि हुन सक्छ । के हानि हुन सक्छ ? कथामा व्यक्त विषयले मुलुकमा उथलपुथल ल्याउने हो कि ? कथाकारले मुलुकलाई पराधीन गराउने षड्यन्त्रको पर्दाफास गरेको पो छ कि ? आजभोलि लिम्पियाधुरा र कालापानीका कारण छिमेकबाट धम्कीहरू आइरहेका छन् । तर कथाकारलाई मरेपछि उथलपुथलको के अर्थ ? होइन, मुलुक इन्ट्याक्ट रहेमा नै मरेकाहरूको आत्माले पनि शान्ति पाइराख्लान् । किनभने उनीहरू पनि यसै मुलुकका नागरिकका आत्मा हुन् ।
उथलपुथल नभए कथा के अहिलेसम्म नलेखिएको विषयको पहिलो कथा बन्ने छ ? भूतप्रेतको कथा हो कि ? बोक्सी पिसाचका कथा लेखिएका छैनन् भनेर कथाआलोचकहरू चिच्च्याउने त गर्छन् । बोक्सी पिसाचका कथा लेखेर मात्र विश्व प्रसिद्ध भइने हो र ? त्यो त सवालै छैन । तर कथा पढेपछि बोक्सी पिसाच वा काला प्रेतहरूको राज्य स्थापना हुने हुनाले हो कि ? सम्पादकले भूतप्रेतका एउटा दुइटा अङ्ग्रेजी फिल्म हेरेको छ, लर्ड अफ द रिङ्स... अर्को नाम उसले सम्झन सकेन । तिनमा तर्साउने तìव हुन्छ । कालो जादुवाला शक्तिले विश्वको संहार गरेर आफ्नो प्रेतराज्य स्थापना गर्ने लालसा गरेको देखाइएको हुन्छ । तर यो कथाले पनि के कालो संसारको उत्पत्ति गर्ने मनसाय राखेको छ । के कथामा प्रयुक्त शब्द मिलेर संरचना गर्ने मन्त्रशक्तिले सारा जगत्लाई प्रेतलोकमा परिणत गरिदने हो ?
सम्पादक खासै समाधानमा पुग्न सकेको छैन । कथाकार कोरोनाको त्रासले विक्षिप्त भएको व्यक्ति हो वा स्वस्थ । तर कथाकार नमरेसम्म कथा पढ्दै नपढ्नू (नछाप्नू) भन्ने बलियो आग्रहले के जनाउँछ ? सम्पादकलाई तर्साउन यसो गरिएको हो कि ? रचना छापिदिएन भनेर एउटा पजलमा फसाउन यस्तो टिप्पणीसहित कथा पठाइएको हो ? कोरोना कहिले सकिएला भन्ने प्रश्नको तत्काल उत्तर नपाए पनि सम्पादक कथाकारको त्यो असम्भवजस्तो आग्रह वा निषेधमा संलग्न रहन सकेन । एउटा डरले छोएको भने हो । कथाकार मर्ने प्रतीक्षा गर्नु भनेको कथाकारको लेखकीय अस्तित्वकै समापनको प्रतीक्षा हुन जाने देखियो । कथाकारले चतुरतापूर्ण सम्पादकलाई आफ्नो फन्दामा जकडेर छाडेको छ । छाडेको होइन उम्कन दिएको छैन । के कथामा पनि त्यस्तो चातुर्य प्रयोग गरेको होला । कोरानाको त्रासले कतै अतिप्रयोगवादी कथा त लेखेन । जीवित छँदै छापियो भने पाठक जगत्बाट अत्यन्त निर्मम आलोचना पाइएला भनेर त्यसो गरेको पनि हुन सक्छ । मरेका मानिसको के आलोचना ? आलोचना गरे पनि मरेर गएका मानिसको करतुत भोग्ने बाँचेकाहरूले नै हो । त्यसैले सम्पादकले सोच्यो, बाँचेको समयमा गलत काम नगरूँ । सम्पादक एक जनाले मात्र गलत काम नगरेर हुने होइन । मुलुकमा अरू धेरैले गरिरहेका छन् ।
सम्पादक अन्योलमा छ । कथा पढ्ने कि नपढ्ने ? कथाकारले एउटा समस्या यो पैदा गरिदियो, उसले मरेपछि छापिने कथाका लागि यो पत्रिका नै किन रोज्यो ? प्रश्न त्यति कठिन छैन । कथाकारले जे टिप्पणी गरे पनि कथा छाप्नु नछाप्नु सम्पादकको हातमा छ । कथाकारले मरेपछि मात्र छाप्नू भनेको सरकारी वा दैवी आदेश होइन । छापेर हेरूँ त, कथाकारले पढ्ने छ । पढे पढ्छ । तर पहिलो कुरो यो पनि छ, कथा छाप्न लायक छ वा छैन ? नामैले चिनेको कथाकारको कथा हो भनेर जस्तोसुकै कथा छापिदिनाले भोलि जागिरको सवाल पनि आउन सक्छ । कथाकारले यो छनक पाएकाले हो कि म मरेपछि मात्र कथा छापनू भनेको ? अचेल मानिसमा इमान रहेन र विश्वास पनि । कोरोनामा त मानवीय संवेदना नै रहेन भन्छन् ।
यस्तै मानसिक विचलन भइरहेका बेला अर्को एक परिचित सम्पादकले दिउँसो तीन बजेतिर फोन ग¥यो । सम्पादक विचारमग्न थियो । कथा छाप्नै बेस होला । म मरेपछि छाप्नू भनेको कथा किन छापेको भनेर कथाकारले सोधेमा तपाईं मरे नमरेको थाहा पाइएन भन्न सकिन्छ । पहिले कथा त पढूँ । कथा पढेर केही अनिष्ट त हुने होइन ? यस्तै अन्योलमा उताबाट ऊ जस्तै अर्को सम्पादकले फोन ग¥यो ।
‘हेलो, आरामै ?’ उताको सम्पादकको यही एउटा बानी राम्रो छ । तर टाउको दुखेको भए पनि आरामै छु भन्न बाध्य भइन्छ । यो चाहिँ खराब ।
‘धेरै दिनपछि पाइयो फोन । फोन बिग्रेको थियो कि ?’
‘कुरा नगर् ।... सुन् त, तैँले त्यो म मरेपछि छाप्नू भन्ने कथा पाएको छस् ?’
‘हेर्नुपर्छ । किन ?’
‘सोच्दासोच्दा दिमागमा ठेउला परे । कस्तो कथाकार हो र कस्तो कथा हो ?’
‘स्टन्ट होला । लौ त, म हेर्छु ।’
‘आएको रहेछ भने पढेर बता त ।’
‘हुन्छ ।’ यति भनेपछि सम्पादकले फोन राख्यो । बताउनु के थियो र ? उसले पढे पनि त हुने थियो । आपूmले नपढ्ने, किन ? सम्पादकलाई अभैm पनि पढूँ नपढूँ भइरहेछ ।
मधुपर्क, असोज /कात्तिक २०७७