कला |

ग्वङ्गको गहिराइमा ङ्यातापोल (निबन्ध)

 श्रीओम श्रेष्ठ ‘रोदन’

मान्छेलाई एकछिन गहिरिएर आँखामा हेर्नसक्यो भने सजिलै चिन्न सकिन्छ । भनिन्छ आँखाले मनलाई देखाउँछ । मान्छेको मन देखेपछि देख्न बाँकी केही हुँदैन । तर अहिले ठ्याक्कै त्यस्तो नहुन पनि सक्छ । वातावरणको प्रदूषणभन्दा पनि आँखामा प्रदूषण बढ्न थालेकोे छ । आँखाले गर्दा नै धोका पाइरहेका छन् मान्छेहरू । बेइमान भइरहेका छन् मान्छेहरू । आँखा भनेकै अभिनय र अभिनय भनेकै आँखाजस्तो हुनथालेको छ । तर तेजेश्वरबाबुका आँखाबाट भने सीधै उहाँको मनलाई देखिन्छ, जे छ त्यही मात्रै । उहाँका आँखामा हेर्नु र गहिरो सुरुङमा पस्नु एकै जस्तो लाग्छ  । यही भ्रमले फेरि झलमल्ल उज्यालोमा पु¥याएको अनुभव पनि हुन्छ । मनको उज्यालो, अनुभवको उज्यालो, आत्मीयताको उज्यालो ।
उमेरले आठ दशकपारि हुनुहुन्छ तर पटक्कै देखाउनु हुन्न व्यवहारले र सक्रियताले पनि । लेखनमा, उत्साहमा, ऊर्जा सबैमा । कतै देखिँदैन उहाँको उमेर, ढुकुटीभित्रको गहनाजस्तो गोप्य । समवयकाहरू वर्षमा एक दुई रचनामा पनि गाह्रो मान्छन्, त्यो पनि बुढ्यौली लेपनमा । तर तेजेश्वरका एकै हप्तामा तीनवटासम्म रचना छापिन्छन् अखबारमा । उत्साह पनि कति हो कति । ज्ञान र अनुभवले भरिपूर्ण भएपछि हुने यस्तै होला सायद । भरिएपछि पोखिनै परेजस्तै, घचघचाएपछि बिउँँझिनै परेजस्तै पनि होला सायद । अक्षरको भारी बढेपछि बिसाउन परिहाल्छ नि । भनेको पनि छु बेलाबेलामा– ‘यो उमेरमा यत्तिको सक्रिय हुने तपाईं एक्लै हुनुहुन्छ । तपाईंले आफ्ना समकालीनहरू मात्र होइन युवाकालीनहरूलाई पनि जित्नु भएको छ ।’
तपाईं भक्तपुरको निष्ठा छेँमा, म ललितपुरको झम्सिखेलमा । टाढा होइन साधनको लागि यो दूरी । तपाईं सधैँ निम्ता गरेर दैलोमा स्वागतका आँखा बिछ्याउनु हुन्छ । टार्नेहरूका लागि कहिले नपुगिने दूरी हुनसक्ला । रहर गर्ने मजस्ताका लागि पनि समयले भनेको बेलामा कहाँ साथ दिँदोरहेछ र ? तर पनि आँगन नाघेको छु पटकपटक । भेटेपछि तपाईंसँग थोरै समयले पुग्दैन मलाई । जहिल्यैै हतारिएर फर्किनु परेकोजस्तो लाग्छ । भकारीबाट भोकाएर फर्किनु परेजस्तो लाग्छ । सुनुँ भन्छु धेरै तपाईंका कुरा, अनुभवका कुरा, साहित्यका कुरा, संस्कृतिका कुरा । चाडपर्व, परम्परा, संस्कृति र आफ्नोपनका कुरा ।
हुन त नजिकै भइरहनुु पर्दैन तपाईंसँग भेट हुन । तपाईं कहिले एफएम रेडियो भएर सुनिनुहुन्छ, कहिले टेलिभिजन भएर देखिनुहुन्छ, कहिले पत्रिका भएर पढाउनु हुन्छ । सञ्चारमैत्री हुनुहुन्छ तपाईं । रहर गर्दैमा कसैले पाउने कुरो हो र यो ? धन्य भएका छन् माध्यमहरू पनि, तपाईं भएर समाजलाई सुुसूचित गर्न पाएकामा ।
भेट प्रायः प्रविधिले नै जुराउँछ हामीलाई । कुरा हुने जहिल्यै साहित्य र संस्कृतिका नै हुन् । विषयमा बहकिन थालेपछि फोनलाई बिर्सन्छौँ हामी र घडीले पनि समय सम्झाउँदैन हामीलाई । सन्दर्भले कुनै विषय उठ्दा ‘ल अब म यही विषयमा लेख्छु भनेर लेख्नु पनि भएको छ । ‘भनौँ कि नभनौँ’ निबन्धकृतिको अन्तत्र्रिmयाका लागि हात लगाएको थिएँ एक हप्ताअघि । कार्यक्रममा शीर्षकीय निबन्धमाथि नै निबन्ध लेख्नुभयो र पत्रिकामा छापेको पढेर सुनाइदिनुभयो । म भुतुक्कै भएको थिएँ, तपाईंको द्रुततामा । माया गर्नुको पनि सीमा हुन्छ नि दाइ । के ठाने होलान्– सक्छु भन्नेहरूले, लेख्छु भन्नेहरूले ।
यसरी विषय पाउनासाथ लेख्नसक्ने सामथ्र्य कहाँ हुन्छन् र सबैमा । रित्तै मन बोक्नेहरू कोही छैनन् यो समाजमा । मानिस जन्मेकै देखिने अनुहारभन्दा नदेखिने भारी बोक्नका लागि हो । पढाइका भारी, ज्ञानका भारी, अनुभवका भारी, व्यवहारका भारी, दुःखका भारी, सुखका भारी । यी सबै भारीभित्र प्रत्येक मानिसका पहाड हुन्छन् कथाव्यथाका । कोही लुकाएर उभिन्छन्, कोही भारीले थचक्कै परेका हुन्छन् । आखिर मनै नहुने पहाडले पनि आफूलाई ह्वाङ्गै कहाँ देखाएका हुन्छन् र ? कोतरेपछि बल्ल देखिन्छन् चट्टान बनेका पत्रैपत्र । जान्नेहरूले मात्र हो आफूलाई छोपेर देखाउनसक्ने । कोही गीत भएर, कोही सङ्गीत भएर, कोही अक्षर भएर र कोही चित्र भएर ।
यस मामलामा तपाईं एउटा बीज हो, बीज । अलिकति माटो पाउनासाथ टुसाइहाल्ने, झाँगिइहाल्ने र फल दिइहाल्ने । अक्षरको बीउ हो तपाईं । विषयको पनि बीउ हो तपाईं । सानो विषयमा पनि गम्भीर निबन्ध लेख्नसक्ने तपाईं तेजेश्वरको तेजको कला हो । यो नै हो नि तेजश्वर हुनुको आफ्नोपन । भक्तपुरे हुनुको र निष्ठा छेँ हुनुको पनि मौलिकता हो यो ।
कुनै समय थियो युगकवि सिद्धिचरणकहाँ
नपुगेको दिन हुन्थिन् म । ओमबहालको घरको भ¥याङ उक्लिनासाथ उहाँ खुसी हुनुहुन्थ्यो मलाई देखेर  । खाटको छेउमा थुप्रै किताब हुन्थे जहिले । त्यहीँबाट एउटा किताब छानेर दिनुहुन्थ्यो मलाई  । म पाना पल्टाएर कविजीलाई सुनाउन थाल्थेँ । ठाउँठाउँमा दोहो¥याउन लगाउनु हुन्थ्यो । म सकेसम्म भावअनुसार नै पढ्न कोसिस गर्थें । मेरा आँखा अक्षरमा केन्द्रित हुन्थे । कविजी सुन्दासुन्दै कतिखरे निदाउनु हुन्थ्योे थाहा पाउँदिन । थाहा हुनासाथ म निस्केर अफिसमा जान्थँे ।
कविजी निदाउनु भए पनि उहाँको सान्निध्यले म सधैँ भरिएर निस्कन्थँे । त्यही समय कविताकृतिमा शुभकामनाका लागि कविवर व्यथितकहाँ व्यथितै हुने गरी धाएको छु । हरेक पटक उहाँ आफ्नो कविता सुनाएर अर्को पटकका लागि तारिख दिनुहुन्थ्यो । कहिले फैसला नहुने मुद्दाको तारिखजस्तै । मोहन कोइरालाको माया, रमेश विकलको प्रोत्साहन, वानिरा गिरिको सद्भाव, चेतन कार्की र मञ्जुलको स्याबासी पाएको छु । अनौठो पनि लाग्छ र गर्व पनि लाग्छ आफ्नो साहित्यिक यात्राका प्रारम्भिक पाइलाहरूप्रति । यस्ता धेरैका पातलिँदै गएका स्मृतिहरूका बीच बाक्लोसँग जोडिएको छु तपाईंसँग । यस्तै लाग्छ मलाई । भ्रम हो भने पनि होस् नै । तपाईंले ठाने पनि नठाने पनि मलाई लागेको यही हो । त्यसैले अधिकार हो मेरो भन्नलाई ।
अक्षरका धनी, अनुभवका धनी भएजस्तै आतिथ्यका पनि धनी हुनुहुन्छ तपाईं । हुनसक्छ सबैभन्दा धेरै र प्रतिष्ठित स्रष्टाहरू पुगेको आँगन तपाईंकै हुनसक्छ । अग्रज र समकालीन अक्षरकर्मीहरू मात्र नभएर हामीजस्ता अनुज पुस्ताकालाई पनि रहरले नै सत्कार गर्नुहुन्छ । यसैमा आनन्द हुन्छ मलाई भन्नुहुन्छ । सुख खोज्न जान्ने तपाईं । आफूलाई खर्चेर अरू भएर आनन्द लिन जान्ने ।
भरिएकाभन्दा छचल्किएकाले बढी महìव पाइरहेको समय छ अहिले । तर तेजेश्वर र तेजेश्वरहरू भने यही समाजमा भक्तपुरे भएर मात्रै होइन भक्तपुरकै
ङ्यातापोलजस्तो बन्नुभएको छ । त्यत्रो विनाश गर्ने भुइँचालोले पनि केही गर्न नसकेको एउटा विशिष्ट धरोहर, मल्लकालको कालजयी कला । भूकम्प प्रतिरोधी बनाउने त्यो कालको दूरदर्शिता । अद्भुत पनि आश्चर्य पनि । त्यसैले लागेको हो मलाई तेजेश्वरजस्तै ङ्यातापोल र
ङ्यातापोलजस्तै तेजेश्वर । ङ्यातापोल देखिने गरेर पाँच तलाको बनेको छ र नदेखिने गरेर पनि पाँचैतलाको
बनेको छ । पाँचतलाका लागि पाँचैतले जग । त्यस्तै हुनुहुन्छ तेजेश्वर दाइ पनि । देखिने उचाइ छ फिट पनि छैन र नदेखिने पनि त्यतिकै होला उहाँभित्र । बरपीपलका
नदेखिने जराजस्ता । ङ्यातापोलको ङ्यातापोलजस्तै । उहाँका अनुभव उहाँभित्रको उहाँजस्तै । त्यसैले नै होला तेजेश्वरले आफूलाई पूर्णतामा देखाउन नखोज्नु भएको र देखाउन नसक्नु भएको पनि । माटोमुनिबाट महìवपूर्ण इतिहास उत्खनन गरेजस्तै हुनुहुन्छ तेजेश्वर । उत्खनन गर्नसक्नेले मात्र देख्नसक्ने हो तेजेश्वरभित्रको तेजेश्वरलाई ।
छोटाछोटा वाक्यमा व्यक्तिनुहुन्छ । देख्दा अपूर्ण वाक्यजस्ता । केही मूर्त केही अमूर्त पनि । व्याकरणले नाप्दा गल्तीजस्ता । तर छोटामा नै लामा इतिहास प्रष्टिएका हुन्छन् । हराउँदै गएका परिचय परिभाषित भएका हुन्छन् । महìवपूर्ण साहित्यिक सन्दर्भहरू हुन्छन् । हुन्छन् नै त्यही अपूर्णतामा । खोज्नेले खोजेजस्तै भेटिरहने ।
सम्भावना भनेकै अपूर्णतामा हुने हो । सम्भावनाका जुलुस बोकेका अक्षरहरू हुन्छन् तेजेश्वरका निबन्धमा । झ्यालढोका सबै खुल्ला भएका अक्षरजस्ता । हो पनि, पूर्णताले पूर्णविराम लगाइदिइहाल्छ, बन्द गरेको सिसीजस्तै । त्यही भएर नबुझ्नेहरू भन्दा पनि बुझ्न नचाहनेहरू खै के, खै के भन्छन् । तर बुझ्नसक्नेले भने चाहेजत्तिकै स्वाद पाउन सक्छन् । यही नै हो तेजेश्वरनिबन्धको मौलिक स्वाद ।
जे गर्नु भएको छ निबन्ध नै भएर गर्नुभएको छ । बोकेको पनि निबन्ध, बोकाएको पनि निबन्ध । बाँचेको पनि निबन्ध । त्यही भएर मलाई भक्तपुर भन्नु, निष्ठा छेँ भन्नुु र तेजेश्वर भन्नु उस्तैउस्तै लाग्छ ।
अक्षरले चिनेको हुँ मैले । शब्दशक्तिलाई सम्झेको मैले । ज्ञानी भएर मानेको मैले । अहम् नभएर मन पराएको मैले । हार्दिकतालाई सम्मान गरेको मैले । सकारात्मक सोचलाई श्रद्धा गरेको मैले । ऊर्जा दिने व्यवहारलाई नतमस्तक गरेको मैले ।
पचासको प्रारम्भतिरै हो म तपाईंको गृहप्रवेश गरेको । पुस्तकालयका पुस्तक र रचनागत फाइल व्यवस्थापनबाट निकै प्रभावित भएको थिएँ । त्यही भएर मैले दैलो टेक्नुअघि नै आधा दर्जन प्लास्टिकका फाइल किनिसकेको थिएँ । रचना व्यवस्थापन मैले निष्ठा छेँबाट नै झम्सिखेल ल्याएको हुँ ।
एक पटक विद्वान स्रष्टा मोदनाथ प्रश्रितलाई मोटरसाइकलमा लिएर गएको थिएँ । कोठामा तीन जना थियौँ हामी । कुरा गर्ने दुई जनाको स्रोता बनेको थिएँ । कुरा संस्कृतिबाट सुरु भएर नेपालको भूगोल, इतिहास, समाज हुँदै विश्वका संस्कृति, जाति, साहित्य जुन विषय उठ्दा पनि तर्कसहित बहस भएको थियोे । उहाँहरूको ज्ञान र विद्वताबाट भुतुक्कै भएको थिएँ म । त्यस्तो शास्त्रार्थको स्रोता दोहो¥याएर बन्न पाएको छैन मैले आजसम्म ।
नेपाली र नेवारी संस्कृतिको जुनसुकै झ्यालबाट चिहाउँदा पनि देखिनुहुन्छ तेजेश्वर । नजानेको र नबुझेको केही छैन जस्तोलाग्छ । जेलाई पनि विज्ञानसम्मत व्याख्या गर्नसक्ने । यति भएर पनि कति सरल र सोझो बन्नसकेको होला ? तौलने कुनै ढक तराजु नै छैनजस्तो लाग्छ ।
एक दिनको घटना सम्झन्छु । राष्ट्रव्यापी निबन्ध प्रतियोगिताका निर्णायक थियौँ हामी अर्थात् राजेन्द्र सुवेदी सर, एक जना प्राडा सर र म । त्यस दिन अन्तिम निर्णयका लागि हामीलाई लिन बिहानै गाडी आइसकेको थियो मेरो घरमा । जानुपर्ने उपत्यकाबाहिर भएकाले सबैलाई ल्याउने जिम्मा मेरो थियो । गाडीमा बस्नुअघि नै तयार हुनका लागि प्राडा सरलाई फोन गरेँ । सरको घर देखेको थिइनँ । पाँच पटकजति फोन गरेपछि बल्ल उहाँको घरमा पुगेँ । उहाँ तयार हुनुभएको थिएन । मैले हतारो गरेँ । तर आँगनको मेचमा बस्न लगाउँदै भन्नुभयो– ‘हेर तिमीलाई फोनमा किन भनुँ भनेर घरमा नै डाकेको, खासमा म आज त्यहाँ जान्न । ल तिमी जाऊ अब ।’
निर्णायकको संयोजनको जिम्मा मेरो थियो । म छाँगाबाट खसेजस्तो भएँ । रिस पनि उठ्यो तर केही नभनीकन निकै नै अनुनय गरँे । निर्णय आजैै सार्वजनिक गर्नुपर्ने भएकाले ठूलो धोका हुन्छ भनेँ तर उहाँले मान्नुभएन  । उल्टै त्यो मेरो समस्या होइन मलाई के मतलब भन्नुभयो । सरको महानताबाट निरीह भएर निस्किएँ । कोटेश्वरबाट
राजेन्द्र सरलाई लिएपछि मैले तेजेश्वर दाइलाई फोन गरेँ ढाँटेर । आयोजकले अस्ति नै भन्ने जिम्मा लगाएको थियो तर मैले बिर्सेको भनेर । त्यही दिन उहाँकहाँ विदेशी पाहुना आउँदै रहेछन् । तर पनि मेरो अनुनयलाई हार्न सक्नुभएन । घरमा पुग्दा उहाँ तयार भएर बाहिर निस्किसक्नु भएको थियो । म नतमस्तक भएर पानीपानी भएको थिएँ । मानिस त्यत्तिकै कहाँ महान् बन्दोरहेछ र ? सरलता र शालीनता व्यवहारले देखाउने रहेछ ।
त्यत्तिकै बगिरहन चाहेको हुँ र म त्यसै तेजेश्वर दाइसँगै । उहाँको छातीको विशालता के अनुमान गर्नु र ? एक हप्ताअघि नै पक्कापक्की गर्नेले धोका दिएर अप्ठ्यारोमा परेकाले सद्भाव प्रकट गर्नु भएकोे होइन । झुटो बोलेर धोका त मैले दिएको थिएँ । तर कति सजिलै विश्वास गरिदिनु भयो । छक्क लाग्छ कहिले काहीँ उहाँलाई देखेर ।
त्रियासीयौंँ वसन्तको जीवनयात्राको अनुभव छ तपाईंसँग । अरू पनि होलान् धेरै धेरै तपाईंजस्ता उमेरकाहरू । जीवन चलाएकै हुन्छन् सबैले र चल्छ पनि । तर के जीवन भनेको बाँच्नु र चल्नु मात्र हो र ? धेरैले भन्ने कुरा पनि यही नै हो । उमेरले मात्रै बाँच्नु परिवारका लागि मात्र हो । त्यसैले भन्छन्, बाँच्ने भनेको उमेरले मात्रै होइन । भने पनि सबैले कहाँ सक्छन् र उमेरबाहेकले बाँच्न । सजिलो छैन पटक्कै । जन्मिन पो सजिलो छ मान्छे भएर, आमाको गर्भमा नौ महिना बसेपछि पुगिहाल्ने । बाँच्ने यात्रा त त्यसपछि सुरु हुन्छ । सहजजस्तै लाग्ने कठिन यात्रा । जहाँ निरन्तर चालिरहनुपर्छ पाइतालाहरू । आफ्ना लागि गरेजस्तो गरेर अरूका लागि गरिरहनेहरू नै हुन् समाजमा बाँच्ने र मरेपछि पनि बाँचिरहने ।
चौतीस वर्ष सरकारको नुन खानु भयो तपाईंले । नुनको धर्म मान्नुभयो तर नुनको बेइमानी गर्नु भएन । एक प्रकारले हातमै डाडुपन्युँ थियो तपाईंको । चलाएको भए सूर्यविनायक मार्गमा भएजस्ता निष्ठा छेँ धेरै हुन्थे होलान् । छानीछानी गुड्ने गाडीहरू ग्यारेजमा हुन्थे होलान् । चाहनु भएन केही पनि  । जतिबेला दरबारका खरदार सुब्बाले भनेपछि नहुने कुनै र केही थिएन । त्यस्तो समयमा राजाले धाप मारेको मान्छे तपाईं । गुनासो, रहर, इच्छा जे चिताएको भए पनि पुग्थ्यो । राजाको वंश नै नाश हुनुभन्दा दुई हप्ताअगाडि घरमा नै आउने राजदम्पति थियो तपाईंसँग । न पद, न शक्ति, न सम्पत्तिको केहीको पनि मोह गर्नु भएन तपाईंले । त्यत्तिकै हुनुभएको रहेनछ तपाईं तेजेश्वर, तेजको ईश्वर । नत्र राजाका नजिक, शक्तिका नजिक, सत्ताका नजिक त कति भए भए तर खोेई त तिनीहरूमध्ये एक जना पनि तेजेश्वर बन्नसकेका ? संस्कृतिका साधक भएजस्तै, निबन्धका साधक भएजस्तै जागिरका पनि साधक तपाईं । त्यही भएर जीवन पनि सार्थक तपाईंको  ।
मल्लकालको खोप्रिङ, खोप, भादगाउँ हुँदै बनेको भक्तपुरलाई कविताकृतिको शीर्षक नै राख्नुभयो तपाईंले– ‘चराको गुँडझैँ जन्मस्थल मेरो भक्तपुर’ । जसलाई तपाईं कोणैकोणको त्रिकोण भन्नुहुन्छ । भक्तपुर तन्त्रयुक्त भएको, प्रत्येक कोणमा गणेश स्थापना गरिएको भन्नुहुन्छ । पूर्वमा संला गणेश, उत्तरमा छुमा र दक्षिणमा गोल्मढी गणेश स्थापित छन् । नगरबाहिरसमेत पूर्वमा कमलविनायक, दक्षिणमा सूयविनायक, पश्चिममा चोङ्गा गणेश भएको कुरा कतिलाई पो थाहा होला र ? कति छन् कति यस्ता तपाईंले लेख्नुभएका । संस्कृतिलाई अक्षरमार्फत संरक्षण गर्नु भएर मुलुकका लागि मात्र नभएर भक्तपुरेलाई पनि धन्य बनाउनु भएको छ तपाईंले ।
संस्कृतिका के कुरा गर्नु तपाईंसँग । तपाईंको ज्ञान र योेगदानलाई न्याय गर्ने कुनै शब्द नै छजस्तो लाग्दैन । न जोख्न सकिने कुनै ढक तराजु, न भर्न मिल्ने कुनै मानापाथी नै । मलाई त गुगलजस्तो लाग्छ तपाईं नेपाली संस्कृतिको । जे खोजे पनि पाइहाल्ने ।
‘संस्कृतिका आयाम’ संस्कृति नै बनेर लेख्नु भएको छ । संस्कृतिमा नै डुबेर ‘अवकाशपछिको आकाश’
लेख्नुभएको छ । संस्कृतिलाई नै साक्षी राखेर ‘औकातभरिको सौगात’ दिनुभएको छ । रङैरङको संस्कृतिमा डुबेर ‘रङ अविज्ञान’को उपहार छ तपाईंको ।
दस सालमा नै परोपकार पत्रिका ‘प्रेम’ निकाल्ने तपाईं । अक्षरसँग बिताएको पैँसठी वर्षको निबन्धयात्राले कति दर्जन कृतिनाम बनिसकेका हुन्थे होलान् । तर तपाईं मात्र लेख्ने । न प्रकाशन खोज्ने ? न प्रचार खोज्ने ? न मूल्याङ्कन नै खोज्ने ? यो साजगीपन, यो इमानदारी र यो सोझोपनलाई अहिलेको बजारले कुनै मूल्य राख्न सकेको देखिँदैन । अहिले केही नहुनेले पनि धेरै भएको देखाउन मिल्ने उपभोक्ता समाज बनेको छ । भित्र जेसुकै भए पनि बाहिर टिलिक्क टल्किने नै चाहिने भएको छ । अरूले केही नठाने पनि आफूले आफ्नै मूल्य तोकेर प्रचार गर्नेे जमाना छ अहिले । यति हुँदाहुँदै पनि तपाईं, तपाईं बन्नुभएको छ । हल्ला गरेर बेइमानी गर्न नसक्नेहरूका लागि बलियो उदाहरण र आदर्श बन्नुभएको छ । तेजेश्वर हुनुको अर्थ यही नै भएको छ ।
बोलीमा पक्का, व्यवहारमा पक्का, विचारमा पक्का । लवाइ नेपाली, खुवाइ नेपाली । सोचमा सकारात्मक । यही भएरै पो हो कि बूढा कहिले नलागेको तपाईंलाई । यही त होला बाँच्ने कला, यही होला आर्ट अफ लिभिङ भनेको पनि ।
त्यसै तपाईंसँग लालायित भएको होइन म । जहिल्यै तपाईंसँग भेट हुँदा अलिकति इतिहास देख्छु  । संस्कृति चिन्छु । स्रष्टा भेट्छु । निबन्ध बुझ्छु । मेरा लागि आनन्दको क्याप्सुलजस्तो हुनुहुन्छ तपाईं । मज्जा लागिरहने । व्यवहार आत्मीय पाएपछि साह्रै नजिक छु जस्तो लाग्छ तपाईंको । तर भेट्ने जति सबै त्यसै भन्छन् । कस्तो प्रेम हो तपाईंको कुन्नि ? सबैलाई नजिकै बनाइरहनसक्ने । अहिलेको समाजमा महँगो नै यही बनेको छ । जुन तपाईंसँग बसेको छ खानीजस्तै । त्यसैले बाँड्नुस् दाइ, सकेजति बाँड्नुुस् । आखिर खर्च गरेर घट्ने चिज होइन क्यारे ।
नथाकेर तपाईंले बुढ्यौलीसम्म गरिरहनु भएको छ साहित्यका लागि, संस्कृतिका लागि र समाजका लागि । तपाईं जे गरिरहनुभएको छ त्यसले भविष्यलाई पनि बचाउने छ । नलेखे तपाईं र तपाईंजस्ताले भोलिका सन्ततिले के पढोस् इतिहास भनेर, के बुझोस् संस्कृति भनेर । गरिरहनुुस् दाइ, सकेसम्म गरिरहनुस् । गर्नखोज्नेहरू त अरू पनि होलान् तर गर्ने नै भने औँला भाँच्न पुग्ने पनि छैनन् । यो कर्तव्य हो र जिम्मेवारी पनि हो तपाईं र तपाईंको अनुभवको । आखिर तपाईं थरले पनि ग्वङ्ग नै हुनुहुन्छ । ग्वङ्ग अर्थात् भाले, कुखुराको भाले । अँध्यारो हटाएर उज्यालोको सङ्केत गर्ने ग्वङ्ग । सुतेकाहरूलाई उठाउने ग्वङ्ग । जागरणको बिगुल बजाउने ग्वङ्ग । आफ्नोपनको आभास दिने ग्वङ्ग ।
अरू के भनुँ म । सबैलाई उठाइरहनुभएको छ । आखिर तपाईं सधैँ उठिरहने ग्वङ्ग नै त हो नि !  

 

मधुपर्क मङ्सिर २०७७