भट्टराईको ‘नेपाल विद्या’ सार्वजनिक
गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर १७ गते । लुम्बिनी कपिलवस्तु दिवसको अवसर पारेर गोरखापत्र दैनिकका नायब कार्यकारी सम्पादक केदार वाशिष्ठ भट्टराईको अनुसन्धानमूलक कृति ‘नेपाल विद्या’ मङ्गलबार सार्वजनिक गरिएको छ ।
शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशी तथा अनुसन्धानकर्ताकी आमा केदारकुमारी भट्टराईलाई कृति अर्पण गरी यसको सार्वजनिकीकरण गरिएको हो । त्यस अवसरमा शताब्दी वाङ्मय पुरुष जोशीले नेपाल विद्याले नेपालबारे विश्वकोशको ज्ञान दिने सम्भावना रहेको बताउनुभयो ।
कृति सार्वजनिकीकरणपछि आयोजित एक भर्चुअल कार्यक्रममा यस क्षेत्रका विज्ञ तथा सरोकारवालाले नेपाल विद्या अध्ययन, अध्यापन र अनुसन्धानको नयाँ विधा रहेका कारण त्यसलाई पठनपाठन तथा अनुसन्धानको विषय बनाउनुपर्ने आवश्यकता आँैल्याउनुभयो । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले नेपाल विद्या कृतिले पुरातािवक, ऐतिहासिक क्षेत्रमा नयाँ तथ्यहरू सार्वजनिक गरेर यस क्षेत्रमा ठूलो गुण लगाएको बताउनुभयो । सुदूरपश्चिम विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.भूषण श्रेष्ठले नेपालका विश्वविद्यालयहरूले यसलाई पठनपाठन तथा अनुसन्धानको विषय बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पुरातìवविद् प्रा. वसन्त विडारी तथा नेपाल विद्याका अध्येता कृष्णप्रकाश श्रेष्ठले पुराताìिवक क्षेत्रमा पुस्तकले नवीन खोज तथ्य सार्वजनिक गर्न सफल भएको बताउनुभयो । पुस्तकको परिचय दिँदै प्रा.डा. बद्रीविशाल भट्टराईले अनुसन्धानकर्ता वाशिष्ठले गरेको अनुसन्धानमा नेपाल विद्यालाई अध्ययन, अध्यापन र अनुसन्धानको बेग्लै विधाका रूपमा सैद्धान्तिक आधार स्थापना गरेको बताउनुभयो । पुस्तकमा लुम्बिनी र कपिलवस्तुको राजनीतिक उत्खननलाई विशेष रूपमा स्थान दिइएको छ ।
समालोचक राम लोहनीले पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेपछि खस वा गोर्खा भाषालाई नेपाली भाषाका रूपमा लादेको भन्ने गलत अध्ययन परम्परालाई पुस्तकले चिरेको बताउनुभयो । गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक तथा साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’ले कृति अनुसन्धानकर्ता तथा नीति निर्माताका लागि उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।