कला |

गोरखापत्रकर्मी श्रेष्ठलाई आर्ट मिडिया स्पेशल अवार्ड

गोरखापत्र समाचारदाता
काठमाडौँ, मङ्सिर २६ गते । बरिष्ठ कलाकार प्रा।राधेश्याम मुल्मीलाई २०७७ सालको लाइफटाइम एचिभमेन्ट स्पेशल अवार्ड प्रदान गरिएको छ । अरुपण आर्ट ग्यालरीद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा ललितकलाका क्षेत्रमा विशिष्ट योगदान पुर्याए वापत कलाकार प्रा.मुल्मीलाई सम्मान गरेको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका कूलपति केके कर्माचार्यले सो अवार्ड प्रदान गर्नुभएको हो ।
यसैगरी, नेपाली चित्रकारिताको माध्यमबाट मुलुकको विकासमा महत्वपूर्ण योगदान पुर्याउने कलाकारहरूलाई नन्दादेवी खनाल ललितकला स्मृति सम्मान र पुरस्कार प्रदान गरिएको छ । कलाकारहरूमा रोशन प्रधान (क्रियटिभ आर्टिस्ट अफ द इयर), अन्तर्राष्ट्रिय जलरंग समाज नेपाल च्याप्टर (एक्टिभ आर्ट अर्गनाइजसेन अवार्ड), कलाकार डिराम पाल्पाली (मस्ट एप्रिसेटेट आर्टिस्ट अफ द इयर अवार्ड), सौगात आचार्य (इमर्जिङ आर्टिस्ट अफ द इयर अवार्ड) र राजप्रकाश तुलाधर (ट्रेडिसन आर्टिस्ट अफ द इयर अवार्ड) लाई सम्मान प्रदान गरिएको छ ।
यसैगरी, पत्रकारिताको माध्यमबाट नेपाली कला क्षेत्रको विकास एवं प्रवद्र्धनमा योगदान पुर्याएवापत गोरखापत्र दैनिकका दीपक श्रेष्ठलाई आर्ट मिडिया स्पेशल अवार्ड–२०७७ प्रदान गरिएको छ । त्यस्तै, दुई वर्षमा प्रदान गरिने ललितकला पुरस्कार–२०७७ कलाकार राजकी अर्याललाई प्रदान गरिएको छ ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कूलपति केके कर्माचार्यले नेपाली कला क्षेत्रको विकासमा हरेक कलाकार र सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहँदै आएको चर्चा गर्नुभयो ।
यस्तै, सम्मानित व्यक्तित्वहरुको तर्फबाट राधेश्याम मुल्मीले कलाकारको सम्मान सम्पूर्ण कला क्षेत्रकै सम्मान भएको र यसले अझ जिम्मेवारी थपिएको अनुभूति भएको बताउनुभयो ।
अरुपण आर्ट ग्यालरीकी कार्यकारी निर्देशक रिता खनालको अध्यक्षतामा सम्पन्न
कार्यक्रममा ग्यालरीका निर्देशक रमेश खनालले सम्मानित कलाकार एवं सञ्चारकर्मीको व्यक्तित्व चर्चा गर्नुभएको थियो । यस्तै, सम्मान एवं पुरस्कार छनोट समितिका संयोजक केशव खनालले सयौंको संख्याबाट सम्मानका लागि नाम छनोट चुनौतीपूर्ण भए पनि नेपाली कला एव पत्रकारिताका क्षेत्रमा लामो समयको निरन्तर योगदानका आधारमा नाम सिफारिस गरिएको बताउनुभयो ।