२०७६ सालको नातिकाजी विशिष्ट सम्मान एवं पुरस्कार घोषणा
गोरखापत्र समाचारदाता
काठमाडौँ, पुस ३ गते । नेपाली सङ्गीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुहुने श्रष्ट्राहरुलाई २०७६ सालको नातिकाजी विशिष्ट सम्मान एवं पुरस्कारहरू घोषणा गरिएको छ । नेपाली सङ्गीतका शिखर पुरूष नातिकाजी श्रेष्ठको ९६ औं जन्मजयन्तीका अवसरमा कुटुवहाल चावहिलमा शुक्रबार सम्मान एवं पुरस्कार घोषणा गरिएको हो ।
बरिष्ठ गायक योगेश बैद्यको संयोजकत्वमा गठित तीन सदस्यीय सम्मान एवं पुरस्कार छनोट समितिको सिफारिसअनुसार सम्मान एवं पुरस्कार घोषणा गरिएको समाजले जनाएको छ ।नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भूजीत बाँस्कोटाका अनुसार, नेपाली सङ्गीतको विकासमा योगदान पुर्याउनुहुने व्यक्तित्वहरुलाई हरेक वर्ष सम्मान एवं पुरस्कारहरू प्रदान गरिन्छ । उहाँका अनुसार, २०७६ सालको नातिकाजी राष्ट्रिय विशिष्ट श्रष्टा सम्मान बरिष्ठ सङ्गीतकार नोर्बु छिरिङ लामालाई प्रदान गरिने भएको छ । यस्तै, बालकृष्ण सजिव, सुरेन्द्र राना, राजु अग्रवाल, सुनिल मास्के, राजु सिंह, मदन सिंह नेपाली, मनोहर सुनाम, शान्तिराम राई, चुडामणि देवकोटा र महेश खड्कालाई नातिकाजी राष्ट्रिय विशेष सङ्गीत सम्मान–२०७६ प्रदान गरिने भएको छ ।
यस्तै, पुरस्कारतर्फ प्राश्ना शाक्य, चेतन सापकोटा, सुगम पोखरेल र दयाराम पाण्डेलाई नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार–२०७६ प्रदान गरिने भएको छ ।यसैगरी, मेलिना राई, वसन्त सापकोटा, सुरज थापा र हर्क साउदलाई नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार–२०७६ प्रदान गरिने जनाइएको छ । यस्तै, जीवीत जल्मीलाई नातिकाजी राष्ट्रिय सङ्गीत संयोजक तथा वाद्य पुरस्कार–२०७६ प्रदान गरिने भएको छ । यसैगरी, विकास नाथ योगीलाई नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार–२०७६, बद्री पंगेनीलाई नातिकाजी राष्ट्रिय लोक सङ्गीत पुरस्कार–२०७६ र पत्रकार विदुर गिरी एवं श्याम स्मृतलाई नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार–२०७६ प्रदान गरिने जनाइएको छ ।
कार्यक्रममा समाजका अध्यक्ष शम्भूजीत बाँस्कोटाले नेपाली सङ्गीतको इतिहास खोज्ने हो भने नातिकाजीको अध्ययनबाट मात्र पूरा हुने बताउनुभयो ।यस्तै, बरिष्ठ सङ्गीतकार शान्तिराम राईले नेपाली मौलिक सङ्गीतको राजमार्ग निर्माणमा नातिकाजीको प्रमुख भूमिका रहेको चर्चा गर्नुहुँदै नेपाली सङ्गीतका हरेक पारखीले यो सत्यलाई अनुशरण गर्नुपर्ने बताउनुभयो ।
यस्तै, गायक सुगम पोखरेलले नेपाली सङ्गीतको सागरका रुपमा नातिकाजीको योगदान रहेको चर्चा गर्नुभयो ।गायक बद्री पंगेनीले लोक सङ्गीतको धरातलमा नातिकाजीले आफ्ना हरेक सङ्गीत सिर्जना गर्नुभएको बताउनुभयो । समाजका सचिव दीपक श्रेष्ठले स्वागत गर्नुभएको कार्यक्रममा गीतकार भूपेन्द्र खड्काले नेपाली मौलिक सङ्गीतको विकास र विस्तारमा नातिकाजीको योगदानको चर्चा गर्नुहुँदै नेपाली सङ्गीतको आकाशका रुपमा योगदान रहेको बताउनुभयो । सम्मान एवं पुरस्कार वितरण कार्यको समय पछि तय गरिने जनाइएको छ ।