हातमा कालो फूल लिएर उभिएकी नायिकालाई !(कविता)
अविनाश श्रेष्ठ
।।१।।
उन्मादको अर्को नाम नै तिमी थियौ नायिका !
उपकूल–उपकूल बगर–बगर नदीमय सम्भावनाका तिम्रा उन्मत्त आँखामा
लोलाउँथे– रात, थाकेर बिसाएझैँ बोगनबेलियाको झ्याङमा ।
तिमी हुनु नै समुद्र हुनु थियो÷तिमीभरि उर्लन्थे मेरो पौरुषका अदम्य लहरहरू÷
ज्वारभाटाहरू । नीलो आवेगको पानीमा
उत्रने गर्थे/तृप्तिका फेनिल अनित्य कुसुमहरू ।
तिमी हुनु नै उपत्यका हुनु थियो÷ भन्ज्याङमा लाग्ने न्यानो पहारिलो घाम हुनु थियो÷
वा आकाश हुनु थियो अनन्त र गतिमय
अन्तरिक्षको रहस्य ओगटिराख्ने ।
तिम्रो कौमार्यले गाएका स्वप्निल गीतहरूलाई÷ तिम्रै मासुको
मनमुग्ध सङ्गीतमा सजाएर– मेरा कान र आँखाले सँगसँगै
सुन्ने गर्थे÷ तिम्रो अधीर यौवनको साँगुरो अँध्यारो ओढारमा बसेर ।
तिमीलाई छुनु÷ दिव्य हुनु थियो । तिम्रो अगम्य, अनुद्घाटित अवयव र इन्द्रियहरूको÷
पहिलो आविष्कारक म नै थिएँ÷ मेरो शरीरको थाँक्रोमा
सपक्क बेरिँदै गएर नै÷ तिम्रो देहलहरामा फुल्न थालेका थिए
असङ्ख्य फूल–कामनाका, गोप्य तृष्णाका, ललित वेदनाका...
जति पटक तिम्रो देहको नदीलाई स्पर्श गर्थें÷ मभित्रको
आनन्दको एकलास आकाशमा उडिजान्थे सारसका बथानहरू
तिमीसितको प्रत्येक पल्टको सहवासपछि
मेरो मनमा टड्कारिने गथ्र्यो
तीर्थयात्राको पवित्र अनुभूति ।
तिम्रा आँखाका आदिम नीलो दहमा÷आफ्नै
प्रतिबिम्ब जतिपल्ट देख्छु झुक्किएर
म आफैँलाई अर्कै चोला फेरिएको नौलो मान्छे
अनुभव गर्थें बारम्बार ।
एकताक तिमी आउँथ्यौ केशहरू बतासमा छिरोल्दै,
उडाउँदै/ काँध–काँधमा मेघहरू बोकेर÷ कुनै
किंवदन्तीकी नायिकाझैँ असङ्ख्य आकाश चहार्दै
तिम्रा प्रत्येक पदचापका ऋचाहरू– सूक्ष्म व्याख्याका निम्ति
छाडिने गर्थे मेरो मस्तिष्कमा/ तिमी गएपछि ।
तिम्रो मादकताको ग्रन्थका अध्यायहरू/ अध्यायपिच्छेका पानाहरू समयसँगै पल्टिँदै गए÷ त्यसपछि धमिलिँदै गयो
तिम्रो लावण्य/ भुइँकुहिरोभित्रको आकृतिझैँ मेरो स्मृतिमा ।
।।२।।
कैयौँ वर्षपछि/ आज फेरि तिमीलाई हठात् देखेथेँ
त्यही नदीको बगरमा/ तिमी उभिएकी थियौ उसरी नै
विभोर मुद्रामा/ तिम्रो हातमा थियो एउटा विद्रोहको कालो फूल ।
कालो फूल ः समयले तिम्रो हातमा
थमाएर गएको/ एउटा गम्भीर दायित्व,
प्रतिवादको, आविष्कारको, विरोधको र विद्रोहको ।
हो, त्यो फूलको रङ ठीक रातको झैँ कालो थियो
अन्धकारको झैँ कालो थियो/ सके तिमीभित्रको
गहन अतृप्ति र अभावको झैँ कालो थियो ।
संसारमा व्याप्त कुनै पनि कोलाहाल, अभाव वा
असन्तोषको पक्षमा/ विरोधका प्लेकार्ड र ब्यानरहरू
तिम्रो हातले कहिल्यै पनि उचालेको थाहा छैन ।
तर कुन्नि किन हो आज/ तिमीले हातमा लिएको
कालो फूल देख्दा मलाई लाग्दैछ–
तिम्रा हातहरू सक्षम हुँदै जानेछन् अनि एक दिन
प्रत्येक शोषणलाई चुनौती दिँदै
तिनै हातले उचाल्न सक्नेछन् आफैँमा
ठूला–ठूला सङ्घर्षहरू/ आन्दोलन र विप्लवहरू ।
प्रत्येक शोषणको प्रतिवादमा/ कालो फूल
हातमा लिन सक्नुपर्छ ए नायिका !
तिम्रै आस्था र प्रेरणाको शक्तिले सञ्चालित हुन
सक्नेछन् तब मात्र– ठूला ठूला क्रान्तिका मिसिलहरू,
विरोध प्रदर्शनका शोभायात्राहरू
तिम्रै सहनशील गर्भबाट जन्मनेछ एक दिन
दलित, शोषित, त्रस्त र आतङ्कित मान्छेहरूको नेता ।
हातमा कालो फूल लिएर/ निस्फिक्री
उभिएकी ए नायिका ! तिमी असफल प्रेमिका थियौ
तर, तिमी सफल आमा बन्न सक्नुपर्छ ।
(२०४७ फागुनको मधुपर्कबाट)