कला |

शरीर छुन हुन्छ, जात छोए जातै जान्छ

 शिवकुमार राई

जुनबेला चन्द्रप्रकाश घरको आँगनमा आइपुगेको थियो त्यसबेला प्रायः बेलुकीको चार बजिसकेको थियो । आँगनमा मानिसहरूको भिड लागेको थियो औ बारीको कान्लोेमाथि टिनको च्याप्लामा प्रायः खरानी भइसकेको आगाको भुङ्ग्रोबाट अझ पनि तितेपातीको खिरिलो धुवाँ उँभोतिर उठिरहेको थियो । त्यसलाई देख्नासाथ त्यो भिडभित्र बिस्तारै कानेखुसी चल्यो । एकछिन त्यस जमातमा एउटै लहर पैदा भयो अनि पिँढीमा, करेसामा, बलेँसीमुनि कान्लामाथि बसेका मानिसहरू घचारो पार्न ओर्लिएर आए । मानिसको त्यत्रो भिड भए पनि त्यसलाई कसैले एक शब्द सोधेनन् । परिचित व्यक्तिहरूसित आँखा जुझ्नासाथ त्यसले आँखा झारिदिन्थ्यो । भारी त्यही डिलमाथि बिसाउन लाएर भरियालाई बिदा दिई चन्द्रप्रकाश सोझै मूल ढोकातिर गयो ।
चन्द्रप्रकाश ढोकाको अघि आइपुगेपछि त्यसले एकचोटि हे¥यो । सबै मानिसको दृष्टिको केन्द्र ऊ स्वयं रहेछ । सबै उसैको चालढाल विचारिरहेका रहेछन् तर उसको दृष्टि जुन व्यक्तिमा आइपुग्छ त्यो मानिस छल्न चाहन्छ । किन ? चन्द्रप्रकाशको हृदयमा नानाथरिका कुरा खेल्न थाले । त्यो शङ्काले, चिन्तनले अत्तालिँदै भित्र पस्नलाग्दा बूढो भुजेलसित ढोकैनेर त्यसको भेट भयो । भुजेल घरको सबैभन्दा पुरानो विश्वासी नोकर थियो । चन्द्रप्रकाशलाई सानुमा उसैले खेलाएर हुर्काएको थियो । भुजेललाई चन्द्रप्रकाश आएको पत्तो थिएन । ऊ आफ्नै सुरमा दुई हातभोरि गिलास र बोटुका लिएर बाहिर फुत्त निस्किएको मात्र थियो सँघारमै चन्द्रप्रकाशसित भेट भयो । ऊ के भन्न हो कुन्नि मुख बनाउन मात्र लागेको थियो, चन्द्रप्रकाशले अत्तालिँदै त्यसका दुवै पाखुरा च्याप्प समातेर झक्झक्याउँदै भन्यो, “ए भुजेल, खोइ आमा ? तिमीहरू किन बोल्दैनौ ? यी मानिसहरूको भिड किन ? के भयो ? किन सबैजना चुप छन् ?”
भुजेल बूढाको वाक्यै फुटेन । ऊ गहभरि आँसु पारेर चन्द्रप्रकाशको मुख टुलुटुलु हेर्नलाग्यो । “ए क्या हो ? किन नबोलेको ? मेरो मुख क्वारक्वार्ती के हेरिरहेको ?”
भुजेलले गहभरि आँसु लिएर बडो मुस्किलले रुन्चे स्वरले भन्यो, “ठूलो राजा, मालिक्नी हामी सबैलाई टुहुरो बनाएर हिँडिबक्स्यो ।”
चन्द्रप्रकाश त्यसै लल्याकलुलुक भयो । भनभन रिँगटा लागेजस्तो त्यसलाई लाग्यो र त्यही सँघारमै पछारियो । चारैतिर हल्लाखल्ला मच्चियो । भुजेल बूढो चन्द्रप्रकाशको टाउको र अनुहारमा पानी छ्याप्छ्याप्ती छ्यापेर चिच्याउन लाग्यो, “हन मैले भन्याको त को छ, मालिकलाई खबर देऊ न ।” गाउँबूढा तेजमान बुढाथोकी त्यहीँ थियो, लट्ठी टेक्दै नजिकै आयो र सबैलाई हप्काउँदै भन्न लाग्यो, “ए क्या हो हल्लाखल्ला, उठाएर भित्र कोठामा लैजाऊ न । सँघारमा यसरी तेस्र्याएर किन राखेको ?” सबैजनाले चन्द्रप्रकाशलाई उठाएर भित्र खोपीमा लगे ।
राति करिब आठ बजेतिर चन्द्रप्रकाशको होस फि¥यो । शरीरमा शिथिलता छाएको थियो, निधार, कन्चट र घिच्राबाट चिसा पसिनाका धारा बगिरहेथ्यो । चन्द्रप्रकाशले आँखा उघारेर एकचोटि चारैतिर हे¥यो । चारैतिर काका, मामा, माइज्यू, फुपाज्यू जम्मै सन्तानले घेरिराखेका थिए । सिरानका दुईतिर कान्छी छ्यमा र बाबुचाहिँ बसेर पालैपालो पङ्खा हम्किराखेका थिए । छ्यामाचाहिँलाई देख्दा आमाको सम्झना भएछ कि कसो, चन्द्रप्रकाश छ्यमाचाहिँको काखमा मुख लुकाएर घुँक्कघुँक्क रुनलाग्यो । चन्द्रप्रकाश त्यसरी रोएको देखेर फुपूचाहिँ भन्न लागिन्, “नरो, बा नरो । त्यसरी रोएर पनि हुन्छ ? लोग्नेमानिस भएपछि त मन बलियो पार्नुपर्छ । तेरी आमा त भाग्यमानी रहिछ, दिउँसोको सिन्दूरसितै पोइको काखमा मर्न पाई, अब हामीलाई पो के हुने हो । त्यसरी रोएर हामीले उसको बाटो छेक्नु हुन्न । रोएर फर्किआउने भए जम्मै मानिस लगाएर रुन लगाउने थियौँ नि । कत्ति दिनदेखि तेरो बाले राम्ररी खाएका पनि छैनन् । तँ त्यसरी रोइदिँदा झन् तेरो बूढा बाको मन कस्तो हुँदो हो ! तिमीहरू पढेलेखेका छौ, दुनियाँलाई हेरेर चित्त बुझाऊ ।”
खरदार बूढा आँखाभरि आँसु लिएर छोराचाहिँको टाउको सुमसुम्याइरहेथे । उनलाई दुनियाँ नै अँध्यारो लागिरहेथ्यो । बूढाको बूढेसकालको सहारा नै खरदारनी आमै थिइन् । दैवले त्यो सहारा पनि चुँडाई लगेपछि खरदार बाजेको हातगोडै भाँचिएजत्तिकै भयो । खरदारनी बज्यै पतिव्रता नारी थिइन् । बिहान बेलुकी लोग्नेचाहिँका गोडा धोएको पानी नखाउन्जेल एक थोपा पानी घिच्रामुनि नछिराउने । यस उमेरसम्म खरदार बाजेलाई कुनै कुराको खाँचो परेन । ठेगान ठेगानमा जम्मै चाहिने चिज हुन्थे । कपडा, पान, चुरोट, मसला खरदार बाजेलाई खोज्न जानुपर्दैनथ्यो । जम्मै थोक आफ्ना आफ्ना स्थानमा तरतिबसित मिलाएर राखिएका हुन्थे । बेलुका खान अमन भएको थालको भात साबिकभन्दा बढ्ता मात्रामा उबारे खरदारनी बजैलाई पीर पर्ने । बिहानै आफ्नो हातले हलुवापुरी तयार गरी खरदार बाजेका अघि राखिदिएर भन्थिन्, “हिजो राति पनि राम्ररी ज्यूनार गरिबक्सिएन, यत्ति जाबो त केही गरेर पनि ज्यूनार होस् ।” खरदारनी बजैका स्याहारमा खरदार बाजे एकहाते भएका थिए । अब जीवनको मोह नै हराएपछि उनलाई कुनै कुराको पनि वास्ता रहेन ।
आमाको दुःख बोक्नुपर्ने चन्द्रप्रकाश एउटै मात्र सन्तान, उसैले तेह्रदिने किरिया बार्नुप¥यो । मृत्यु साथसाथै वैतरणीको किनारमा बिचल्ली पर्ला भनी खरदार बाजेले गोठबाट झटपट दुहुना गाई नै भए पनि लौ लिएर आऊ भनी गोठमा मानिस पठाएका थिए । वैतरणीमा साँगु नहालेको हुनाले र गाईकै पुच्छर पक्री पार तर्नुपरेकाले खरदार बाजेले बाहुन डाकी गौदान गरिसकेका थिए । कामको दिनमा पनि खुला मनले सहस्र गरिब दुःखीलाई खुवाए, बाहुन पढाए, दान पुण्य गरे ।
कस्तै काटेको घाउमा पनि बिस्तार बिस्तार खाटा बस्छ औ दिन बित्दै गएपछि त्यो घाउ आफै पुरिन्छ भने जवान हृदय पलाउन कत्ति समय लाग्ने हो र ? गाउँबस्तीको पवित्र वायुले चन्द्रप्रकाश चाँडै चङ्गा भयो । अनन्तसम्म फिँजिएको हरियो खेत, बीच बीचमा पोखरी, ताल, केराघारी बीचबाट दाहिने देब्रे छिरेर बगेको सानु खोला, गाउँको प्राकृतिक सौन्दर्यले त्यसको रन्थालु हृदय फेरि आलो भएर आयो ।
एक साँझ गाउँको चउर, ठाउँठाउँमा परालको थुप्रो लागेको थियो औ साल काठका गिँडहरू यत्रतत्र छरिएका थिए । एउटा पुरानो भत्किसकेको गोरुगाडामाथि चन्द्रप्रकाश बसेर एउटा पगडन्डी हरियो चउरलाई चिरेर पर इनारसम्म गएको थियो । त्यही बाटो पधेर्नीहरू ओहोरदोहोर गरिरहेका थिए । डुब्न लागेको घामको फिक्का उज्यालोमा चन्द्रप्रकाशको अनुहार फिक्का, गम्भीर र चिन्तित देखिन्थ्यो । त्यो द्विविधामा परेको बुझिन्थ्यो । द्विविधाको कारण यो चिठ्ठी थियो ।
भोटे बस्ती, दार्जिलिङ
२. ८. १९......
प्रकाश दाज्यु,
बहिनीको प्रणाम ।
तपाईं झापा जानुभएको लगभग महिना दिन बितिसक्यो । यत्रो लामो अवधिमा पनि नफिर्नु हुँदा हृदयमा दुष्चिन्ताले र भयमिश्रित आशङ्का उठिरहेछ ।
मानिसले चिताएको कुरा खोइ नपुग्दो रहेछ अनि निराश भएर हृदयमा भक्कानु लिएर भन्न कर लाग्दो रहेछ, मेरो भाग्य नै खोटो । आज जीवनको कटु अनुभव लिएर मलाई पनि भन्न कर लागेको छ, म थिएँ भाग्यहीन टुहुरी ।
त्यस दिन मसित तपाईंलाई रिस उठ्यो मैले छल गरेँ भन्ने कुराले । एक हप्तादेखि तपाईंको खाजी गरेकी थिएँ । हृदयको उकुसमुकुस पोख्न चाहन्थेँ । रोएर तपाईंलाई पनि रुवाउँन चाहन्थेँ, मनको औडाह पोख्न चाहन्थेँ तर परिस्थितिले बेग्लै रूप लियो । हामी गरिब टुहुरा, हाम्रो अवस्था तपाईंबाट लुकेको थिएन तर एक कुरो तपाईंबाट अवश्य लुकेको थियो, त्यो थियो नौ महिनाको घरभाडा बाँकी औ महाजनको कुर्की । हृदय निराश भए पनि मुख हँसिलो नै गरेर हिँडेकी थिएँ तर कुन हृदयले कचहरीका चपरासीहरूले आफ्नो घरभित्रको चुहुने ताप्के, हाँडाभाँडा बाहिर निकाली लिलाम गरेको हेर्ने ? म आत्तिएँ । कसैबाट पनि सहायता नमिल्दा म तपार्इंलाई गुहार्न गएकी थिएँ । तर तपाईंले मेरो दर्द बुझिदिनुभएन, अझ उल्टो बेइज्जतीसाथ सँघारैबाट फर्काइदिनुभयो ।
उनी सहायता दिन चाहन्थे, आमालाई रिझाउन चाहन्थे, किनभने त्यहाँ उसको स्वार्थ थियो । म उनीबाट दयाको भिक्षा लिन चाहन्नँथेँ, उनकोे उपकारको भारले दाबिन चाहन्नँथँे किनभने त्यहाँ मैले सर्वस्व गुमाउनुपथ्र्यो । तर जुन कुरो म चाहन्नँ भन्थे त्यही कुरो भयो, हामी उनको कृतज्ञताको भारले दाबियौँ औ त्यसको मोल मैले सर्वस्व गुमाएर चुकाउनुप¥यो । मानिस परिस्थितिको कमारो रहेछ, म टुहुरीको के जोर चल्थ्यो ?
हामी आउँदो शुक्रबारको दिन बर्मा फिर्दैछौँ । जानुभन्दा अघि तपाईंसित एकचोटि भेट गरी आफ्नो भुल त्रुटिको क्षमा माग्ने इच्छा छ । कसै गरेर पनि टुुुहुरीलाई आखिरी दर्शन दिनुहोला । यस टुहुरीको रूखो जिन्दगीमा रङ्ग भरिदिनुभयो, प्रेमको कण्टकमयी पथमा डोहा¥याएर निकाली ल्याउनुभयो तर यात्रा शेष हुन नपाउँदै जीवनमा हुरी चल्यो । बीच बाटामै म बिचल्ली परेँ । मेरो जीवनयात्रा अधुरै रह्यो । तपाईंको चरणमा रहेर तपाईंको सेवा गर्ने एक मात्र आकाङ्क्षा थियो तर त्यो इच्छा अपूरो रह्यो । मैले तपाईंको सेवा गर्न पाइनँ, जीवनमा कहिल्यै नपुरिने एउटा तुस बस्यो । एकचोटि अवश्य दर्शन दिनुहोला, फेरि फेरि जीवनमा भेट हुन्छ वा हँुदैन । अन्जानमा टुहुरीबाट कुनै भूल हुन गए क्षमा चाहन्छु ।

अभागिनी कान्ता
चन्द्रप्रकाशका आँखामा आँसु छचल्किएर आयो । रोक्दारोक्दै पनि दुई थोपा आँसु चुहेर चिट्ठीमाथि तपतप झरे । शेषका अक्षरहरू कान्ता पखालिएर लिपिए, हरफ ठाउँठाउँमा मेटिए अनि त्यसले सोच्यो, वर्षौंदेखिको कान्ताको गाढा स्मृति पनि अब यसरी नै मेटिनेछ, दिनहुँ झन् टाढा झन् टाढा हुनेछ । त्यसको हृदय त्यसै निचोरिएर आयो । त्यसले आँसु पुछ्ने कोसिस गरेन । त्यो बेशुद्धि धेरै बेरसम्म त्यसै एकोहोरिएर बस्यो ।
पारि दूर क्षितिजमा तानिएका बादलका पातला धर्साहरूमा डुब्न लागेको सूर्यको लाली खेलिरहेको थियो । ती निश्चल बादलका धर्साहरूबाट डुब्न लागेको सूर्यको लाली उठेपछि चन्द्रप्रकाश घर फिर्नका लागि तरखर गर्न
लागेको थियो, हठात् कुनै स्त्री मानिसको मधुर कण्ठध्वनि सुनी त्यो झस्कियो, “....ठूलो राजा, बजैको मायाभन्दा पनि यो चिठ्ठीको माया बढ्ता लाग्ने, कुन भाग्यवतीको रहेछ ?” बोलीमा हेलचेक्र्याइँ थियो ।
“को ? पुतली !” त्यसका ओठबाट विस्मयमिश्रित आवाज निस्कियो । पुतली काखीमुनि गाग्रो च्यापी पछिल्तिर उभिइरहेकी थिई । सात वर्षपछि पुतली चिन्नै नसकिने भइसकिछ । जवानी साथसाथै उसको बोलीमा, हिँडाइमा समेत परिवर्तन आइसकेछ । पुतली काखीमुनि गाग्रो च्यापी लच्किएर हेरिरहेकी, आँखाका नानीमा कौतुक खेलिरहेको औ पोटिला लाल ओठमा हेलचेक्र्याइँको हाँसो दौडिरहेको, चन्द्रप्रकाशले एउटा नयाँ कुरा आविष्कार ग¥यो ।
त्यसले फेरि त्यसरी नै लापरबाहीका साथ भनी, “ठूलो राजा, शरीरमा सञ्चै छ ? सुबिस्तै छ ः तर किन तपार्इंको आँखामा आँसु ? सात वर्षपछि तपाईंले पनि आँसु झार्न सिक्नुभयो ।”
चन्द्रप्रकाश छक्क परेर पुतलीलाई हेरिरह्यो । त्यो सोच्न लाग्यो, पुतली कहाँबाट देखा परी ? मैले सपना त देख्न लागेको होइन ? आँखाले धोका दिएको त
होइन ? त्यो मन्त्रमुग्ध त्यहाँ उभिइरह्यो । आफूलाई त्यसरी क्वारक्वारती हेरेको देखेर फेरि पुतलीले मुसुमुसु हाँस्दै भनी, “के पक्क परेर हेरिरहनुभएको ? चिन्नु भएन कि कसो ? म त्यही पुतली हुँ जो शरीर छुन हुन्छ तर जात छोए जात नै जान्छ ।” त्यसको शेष वाक्यमा बिच्छीको डङ्क थियो  ।
चन्द्रप्रकाशले टिठलाग्दो अनुहार बनाएर भन्यो, “तिमीलाई थाहा छ, म विचार गरेर कुनै काम गर्न सक्दिनँ । आवेगमा आएर भूल भइहाल्छ, पछि पछुतो हुन्छ । म लज्जित छु, ती अतीतका कुरा भगवान्का निमित्त भुलिदेऊ ।”
पुतलीले हेलचेक्र्याइँसाथ भनी, “ठूलो राजा, तपाईंको विवेकले त्यसै भन्छ भने हुन्छ म भुलिदिन्छु तर तपाईंको आत्माले त्यो कुरो भुल्न सक्छ के ?”
पुतलीको तर्क सुनेर चन्द्रप्रकाश छक्क प¥यो । त्यही लज्जाशील पुतली आज निःसङ्कोच निर्भीकताका साथ तर्क गर्छे । उसमा आज पुतलीको तर्कको उत्तर दिने शक्ति छैन । चन्द्रप्रकाशले कुराको प्रसङ्ग लिएर भन्यो, “पुतली, कति वर्षपछि आज घर फिरेकी, मलाई गाउँबस्तीको हाल केही अत्तोपत्तो छैन । तिमी कहाँ छ्यौ, के गर्दैछ्यौ, घरमा बाहरू जाती नै छन् के ?”
पुतलीको सुन्दर अनुहारमा अकस्मात् विषादको धमिलो रेखा तानियो अनि त्यसले भनी, “ठूलो राजा म कहाँ छु ? के गर्दै छु, यी कुरा फेरि भूल गरेर पनि नसोध्नु होला । बितेका कुराको सम्झना पनि नदिलाउनु होला, यसले म दुखित हुन्छु । यत्रो ठूलो पृथ्वीमा अडिने सानो ठाउँ निश्चय नै मिलेको होला भन्ने सम्झनुहोस् । के गर्छे, कहाँ बस्छे भन्ने कुरा बिर्सिदिनुहोस् । यसैमा मेरो र तपाईंको कल्याण छ । तपाईं यहाँ आउनुभएको खबर त्यसै पनि पाएकी थिएँ औ पहिले त भट्तै भेट्दिनँ भन्ने अठोट गरेकी थिएँ तर मन मानेन । एकचोटि ठूलो राजालाई हेर्ने उत्कण्ठा भयो र म दगुरी आएँ, मनको धोको मेटियो  । बजै हुनुहुन्न । आमा भएजस्तो कहिल्यै हुँदैन । अब त्यो उरन्ठ्याउलोपना छाडिदिनुहोस् र आफैलाई सम्हाल्नुहोस्, म त्यतिमै खुसी हुनेछु । लौ त बिदा ।”
चन्द्रप्रकाशले पुलुक्क हे¥यो । त्यसका आँखाबाट अजस्र आँसुको धारा छुटिरहेथ्यो । त्यो फेरि नहेरी जताबाट आएकी थिई त्यतैतिर लागी ।
साँझको अन्धकारभित्र त्यसको छाया हेर्दाहेर्दै लोप भयो । चन्द्रप्रकाश पनि त्यहाँबाट उठेर घरतिर लाग्यो । बाटाभरि पुतलीले भनेका कुरा त्यसले सोचिरह्यो,
रहस्यको सूत्र केलाउने कोसिस गरिरह्यो तर ऊ जति सोच्दै जान्थ्यो ती वाक्यहरू उत्तिनै गम्भीर रहस्यपूर्ण हुँदै जान्थे ।

(सन् १९९१ मा दार्जिलिङबाट पहिलो पल्ट प्रकाशित राईको उपन्यास ‘डाँक बङ्गला’बाट । मञ्जरी प्रकाशनबाट हालै यसको नयाँ संस्करण आएको छ ।) 

मधुपर्क फागुन २०७७