राज्यले गरेको लगानी पुष्टि हुनेगरी कार्यसम्पादन हुनुपर्छ – मन्त्री ज्ञवाली
गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २५ गते । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले संस्कृति र कलाको क्षेत्रमा राज्यले गरेको लगानी पुष्टि हुनेगरी कार्यसम्पादन हुनुपर्ने बताउनुभएको छ । मन्त्री ज्ञवालीले राष्ट्रको मुख्य पहिचानको आधार नै कला र संस्कृति भएको चर्चा गर्नुहुँदै नेपाली मौलिक कलाको खोजी, अनुसन्धान र विकासमा ध्यान दिन आग्रह गनुृभयो । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको ११ औं प्राज्ञसभाको मङ्गलबार राजधानीमा उद्घाटन गर्नुहुँदै प्रतिष्ठानको औचित्यमाथि प्रश्न उठाउने ठाउँ नरहने गरी सिर्जनात्मक कार्यबाट जवाफ दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि कलाकारहरुकै जोडबलले ललितकला प्रज्ञा प्रतिष्ठानको स्थापना गरिएको स्मरण गर्नुहुँदै संस्थागत विकासमा नेतृत्वले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नेपालमा परम्परा, कला, सम्पदा र सभ्यताको गौरवशाली इतिहास छ । त्यसलाई जोगाउँदै खोज र अनुसन्धानमा ध्यान दिनुपर्छ ।” कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइरालाले प्रतिष्ठानले आफ्ना कार्ययोजना र कामलाई व्यवस्थित पार्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रष्ठिानका कुलपति केके कर्माचार्यले नेपाली कलाको विकास र कलाकारको हितमा प्रतिष्ठानले आफ्ना कार्यक्रम अगाडि बढाइरहेको चर्चा गर्नुभयो । कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव विपिन घिमिरेले नेपाली कला क्षेत्रले व्यहोरिरहेको अवस्था र यसको विकासमा राज्यका तर्फबाट गर्नुपर्ने लगानीका विषयमा चर्चा गर्नुभएको थियो । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका उपकुलपति हरिहर शर्मा, नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति रागिनी उपाध्याय, प्राज्ञ सभा सदस्य रामपुजन ठाकुरलगायतले सभा सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।