राष्ट्रिय विभूति अरनिकोबारे जानकारी लिन चिनियाँ ग्रन्थ अध्ययन गर्नुपर्ने विज्ञका धारणा
गोरखापत्र समाचारदाता
काठमाडौँ, फागुन २७ गते । राष्ट्रिय विभूति अरनिकोले सिर्जना गरेका वास्तु तथा चित्रकलाका विषयमा चिनियाँ भाषामा थुप्रै ग्रन्थ लेखिएकाले तिनको अध्ययन, खोज र अनुसन्धानबाट विभूति अरनिका बारेमा जान्न सकिने विज्ञहरुले बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानद्वारा राष्ट्रिय विभूति अरनिको स्मृति दिवसमा बिहीबार राजधानीमा आयोजित गोष्ठिमा राष्ट्रिय विभूतिको जन्म, परिवार, कलाकृतिलगायत विषयमा अध्ययन गर्न चिनियाँ ग्रन्थको मिहिन अध्ययन गर्नुपर्ने धारणा व्यक्त गरिएको हो ।
कार्यक्रममा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति केके कर्माचार्यले राष्ट्रिय विभूति अरनिको १७ वर्षको उमेरमा कलाकार समूहको नेतृत्व गर्दै चीन गएको इतिहासमा पाइए पनि त्यसअघि नेपालको कुन ठाउँका थिए, के कस्ता कलाकृति निर्माण गरेका थिए भन्ने विषयमा गहन अध्ययन बाँकी नै रहेको चर्चा गर्नुभयो । सोही अवसरमा अरनिकोले चीनमा निर्माण गर्नुभएको कलाकृति एवं अरनिकोको तस्वीर प्रदर्शनीको कुलपति कर्माचार्यले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा अरनिको सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुहुँदै डा. नरेश शाक्यले चिनियाँ गुफा, गुम्बामा नेपाली कलाकृतिको भण्डार रहेको चर्चा गर्नुहुँदै तिनको अध्ययनका साथै चिनियाँ ग्रन्थको अध्ययनबाट अरनिकोका विषयमा धेरै जानकारी प्राप्त गर्न सकिने बताउनुभयो । उहाँले चीनमा नेपाली कलाकारले बनाएका चित्र र मूर्ति प्रसस्त रहेको चर्चा गर्नुहुँदै युनान वंशको समयमा बनेका चित्र, मूर्ति र वास्तुकलामा नेपाली कलाको प्रष्ट छाप देखिने बताउनुभयो । कार्यक्रममा उपकुलपति गोपाल चित्रकार, सदस्य सचिव विपिन कुमार घिमिरे, प्राज्ञ रमेशनाथ घिमिरे, धर्मराज शाक्यलगायतले अरनिकोका विषयमा चर्चा गर्नुभएको थियो ।
सोही अवसरमा अरनिकोका विषयमा बृत्तचित्र प्रदर्शनी गरिएको थियो । हुलाक सेवा विभागले २०२८ सालमा अरनिकोको चित्र अङ्कित हुलाक टिकट प्रकाशन गरेको थियो । कुलपति कर्माचार्यले डिजाइन गर्नुभएको हुलाक टिकटमा अरनिकोलाई दौरा, सुरुवा, टोली लगाइएको र पटुका बाँधी काँधमा खास्टो भिरेको देखाइएको छ । त्यसपछिका दिनमा सोही चित्रलाई अनुशरण गर्दै कलाकारहरुले अरनिको बनाउँदै आएका छन् । नेपालमा अरनिकोका विषयमा इतिहासकार बाबुराम आचार्य र शताब्दी पुरुष सत्यमोहन जोशीका पुस्तक बाहेक अन्य अध्ययन सामग्री छैन ।