रङ्गमञ्च नयाँ पुस्ताकै काँधमा छ
नेपाली नाटकलाई आधुनिक स्वरूप दिन निर्देशक तथा अभिनेता सुनिल पोखरेलको महत्वपूर्ण योगदान छ । भारतको नेसनल स्कुल अफ ड्रामाबाट डिप्लोमा प्राप्त गरेपछि नेपाल फर्केर उनले नाट्य क्षेत्रमा महत्वपूर्ण काम गरे । पुतलीको घर, अग्निको कथा, बिनाचिहानको मृत्यु, असम्बद्ध, न्यायप्रेमी लगायत चर्चित नाटक निर्देशन गरेका पोखरेलले आरोहण गुरुकुल नामक नेपालमै पहिलो नाट्य विद्यालय खोलेर ऊर्जाशील नाट्यकर्मीहरूलाई प्रशिक्षित पनि गरे । आजका चर्चित नाट्यकर्मी एवं सिनेमाका अभिनेतामध्ये धेरैजसो उनकै चेला हुन् । नयाँ नाटक ‘अर्को अर्थ नलागेमा’ लिएर आएका उनीसँग नेपाली नाटकको भविष्यबारे पत्रकार सागर चन्दलेगरेको कुराकानी :
कोभिडका कारण बन्द सिनेमा हल पुसबाट खोल्न सरकारले अनुमति दिइसकेको छ । रङ्गमञ्चमा भने किन गतिविधि देखिएन ?
लकडाउनले रङ्गमञ्चका धेरै क्षेत्रमा असर परेको छ । लकडाउन खुले पनि केही समयसम्म त कोरोना आतङ्क रहिरह्यो । आर्थिक समस्या पनि अर्को महìवपूर्ण कारण हो । अर्कोतर्पm देशको अवस्था पनि ठीक छैन । त्यसैले पनि रङ्गमञ्च पहिलेजस्तो नियमित नभएको हो । रङ्गकर्मी पनि यी सबै देखेर हच्किएका हुन् । अहिले देशमा हल्का–फुल्का ठट्टाहरू मात्र गर्ने स्थिति छ । हामीले अहिले गर्न लागेको नाटक पनि वर्तमान अवस्थालाई बुझाउने ठट्टा मात्र हो । त्यस्तो गम्भीर नाटक होइन । रङ्गकर्मी पनि त समाजकै उपज हुन् । यही समाजको हिस्सा हुन् । देशको अवस्था, समाजको परिस्थितिले रङ्गकर्मीलाई पनि प्रभाव पार्छ । अहिले हामी अनिश्चयमा छौँ । हामी कता जाँदै छाैं, के गर्दै छौँ भन्ने थााह छैन । भोलि के हुन्छ भन्ने पनि थाहा छैन ।
गुरुकुल ड्रिम प्रोजेक्ट कहाँ पुगेर अड्कियो ?
काठमाडौँमा उच्च स्तरको थिएटर बनाउने भनेका हौँ । काठमाडौँका लागि कुरा अगाडि बढ्छ, रोकिन्छ । फेरि अगाडि बढ्ला जस्तो हुन्छ, रोकिन्छ । विराटनगरमा भने हामीले ४ सय जना अट्ने अर्को हल बनाएका छौँ । त्यसको उद्घाटन १ वैशाखमा गर्ने तयारीमा छौँ । काठमाडौँमा हामी आरोहण गुरुकुलको नाममा भने नाटक गरिरहन्छौँ ।
सम्बन्धहरू, कार्यक्रमहरू भर्चुअल भइरहँदा यसले रङ्गमञ्चलाई पनि प्रभाव पार्ने हो कि ?
अहिले नै यस्तो हुन्छ भनेर ठ्याक्कै भन्न सकिँदैन । बिस्तारै रङ्गमञ्चका गतिविधि सुरु हुन थालेका छन् । तर मोबाइल वा डिजिटल हुँदैमा रङ्गमञ्चलाई खासै प्रभाव पर्दैन भन्ने मेरो विश्वास हो । छोटो समयका लागि मोबाइल वा डिजिटल प्रविधिले प्रभाव पारेजस्तो देखिए पनि यसले दीर्घकालीन प्रभाव भने पार्दैन । मान्छेहरूले ग्याजेटमै रङ्गमञ्च भेट्छन जस्तो लाग्दैन । मानिस फेरि पनि लाइभ पर्फमेन्समै फर्किन्छन् । ढिलोचाँडोको कुरा मात्र हो ।
रङ्गमञ्च एउटा गतिमा थियो । कोरोनाले ब्रेक लगाइदियो । अब फेरि त्यही गति पक्रिन्छ कि नयाँ बाटो समाउँदै नयाँ गतिमा जान्छ ?
ठ्याक्कै भन्न सकिन्न । रङ्गमञ्चमा केही चिज परिवर्तन त पक्कै होलान् । नाटक लेखनदेखि, प्रस्तुति र निर्देशनसम्मका शैलीहरू पक्कै परिवर्तन होलान् । नाटकले आफ्नो बाटो पनि मोड्न सक्ला । तर ठ्याक्कै यस्तै हुन्छ भन्न सकिने अवस्था छैन । किनभने रङ्गमञ्च अझै सक्रिय भइसकेका छैनन् । सक्रिय हुन थालेपछि त्यसको छनक देखिन्छ । तर यहीबीचमा काठमाडौँबाहिर भने धेरै नाटकघर बने । धरानमा नाटक हल बनिरहेको छ । जनकपुरमा त निर्माणको काम सकिन लाग्यो । झापाको दमकमा पनि नाटकघर बनिरहेको छ । बिर्तामोडतिर पनि साथीहरू नाटकघर निर्माणमा लागिरहनुभएको छ । उपत्यका बाहिर नाटकघर निर्माणको काम भइरहेको छ । त्यसैले अहिले नै सबै नराम्रो भयो, सबै चिज बिग्रियो भनिहाल्नु हुँदैन ।
तपाईं नाटक लिएर आउँदै हुनुहुन्छ । रङ्गमञ्चलाई पुरानै लयमा फर्काउने प्रयास हो यो ?
अहिले मैले गर्न लागेको नाटक खासमा शरच्चन्द्र वस्तीका लेखहरू जोडेर तयार पारिएको हो । यसमा दस भाग छन् । ती सबैका छुट्टाछुट्टै निर्देशक पनि छन् । मैले संयोजन मात्र गरेको हुँ । यसमा जोडिएका चालीसभन्दा बढी भाइबहिनीलाई लामो ब्रेकपछि ऊर्जा थपौँ भनेर यो काम गरेको हुँ । आफैलाई पनि थोरबहुत ऊर्जा होस् भनेर यो काम गरेको हुँ । अहिले त गम्भीर नाटक गर्न नसकेकै हो । अहिले नाटक बनाउन लागिएका लेखहरू समसामयिक स्थितिमाथिका व्यङ्ग्य हुन् । अहिले रिस उठ्या छ । दिक्क लाग्या छ । वितृष्णा पैदा भएको छ । त्यही वितृष्णाको प्रतिक्रिया हो यो नाटक ।
आफूले निर्देशन गरेका मध्ये सबैभन्दा राम्रो लागेको नाटक कुन होला ?
अभि सुवेदीले लेख्नुभएको ‘अग्निको कथा ।’ सञ्जीव उप्रेतीले लेख्नुभएको ‘घनचक्कर’ । यी नाटकमा मैले अलि बढी मिहिनेत गरेको थिएँ । यिनको कथावस्तु पनि अलि पृथक् थियो । अभि सुवेदीले नै लेख्नुभएको ‘मायादेवीका सपना’ निशा शर्मा र मैले मिलेर निर्देशन गरेका थियौँ । यो पनि मलाई मन परेको नाटक हो । अरू धेरैले मन पराएको भने ‘डल्स हाउस’ हो । मलाई भने ठिकै लागेको हो ।
कुमार नगरकोटीको कृतिमा नाटक बनाउनेबारे योजना छ होइन ?
उनको एउटा कथा मैले उहिल्यैदेखि बुक गरेर राख्या छु । त्यस कथालाई नाटक बनाउने संयोग मात्र नमिलेको हो । त्यो कथा हो ‘तिम्रो मृत्युको समाचार ।’ म तुरुन्तै कुनै काम गर्न सक्दिनँ । लामो समय लाग्छ, कतिपय काम गर्न । कति नाटकहरू पनि मैले निकै लामो समयपछि गरेको छु । गम्भीर काम गर्न समय पनि धेरै चाहिन्छ । अर्कोतिर संयोग पनि मिल्नुपर्छ । समय र संयोग दुवै मिल्नुपर्छ ।
मान्छेको जीवनको हरेक प्रसङ्गमा कला छ । त्यसलाई उतार्न सक्नु नै लेखक र निर्देशकको खुबी हो । नयाँ नाटकहरूमा प्रविधिको अत्यधिक प्रयोग भइरहेको छ । यसले नाटकको जीवन्ततामा असर पार्दैन ?
रङ्गमञ्चमा प्रविधिको प्रयोग नाटकलाई थप जीवन्त बनाउन गरिन्छ । प्रविधको प्रयोग हामी निमिट्यान्न पार्न सक्दैनौँ । अहिले त हामी नाटकमा मल्टिमिडिया पनि प्रयोग गर्छौं । प्रविधिको प्रयोगले नाटकको जीवन्तता समाप्त त हुँदैन तर नाटक नै ओझेलमा पर्नेगरी, नाटकको जीवन्तता समाप्त पार्नेगरी प्रविधिको प्रयोग पनि गर्नु हुँदैन ।
अहिले युरोपतिर प्रयोगका नाममा प्रविधिको अत्यधिक प्रयोग गरिन्छ । त्यो हदसम्म हामी पुग्नु हुँदैन । नाटकले भन्न खोजेको मुख्य हो । त्यसलाई अझै बलियो र प्रस्टसँग व्यक्त गर्न प्रविधिको प्रयोग गरिने हो । प्रविधि त आज हाम्रो जीवनको एक हिस्सा नै भइसकेकाले नाटकमा थोरबहुत प्रविधिको प्रयोग सामान्य नै हो । कतैकतै, लेखिएको कुरालाई शक्तिशाली बनाउन प्रविधिले मदत गर्छ । तर त्यसको सीमा हुन्छ । त्यसको सीमा र प्रयोगको अर्थ बुझ्ने भनेको निर्देशनले नै हो ।
तपाईं निर्देशक र कलाकारमध्ये कुन चाहिँ बढी हो ? केलाई बढी प्राथमिकता दिनुहुन्छ ?
म त दुवै हो । तर पछिल्लो समय अभिनय कम गर्दै आएको छु । आफैले निर्देशन गरेर आफैले अभिनय गर्नु ठीक होइन भन्ने लाग्यो । त्यसैले पछिल्लो समय मैले आफैले निर्देशन गरेको नाटकमा अभिनय गरिनँ । तर अभिनय त मलाई अहिले पनि मन पर्छ । उमेरका कारण पनि पहिलेजस्तो लगातार अभिनय गर्न सक्दिनँ । निर्देशन त मञ्चपछाडिको काम हो । निर्देशन नाटक मञ्चन नहुँदासम्मको काम हो । अभिनय मञ्चन आगाडिदेखि मञ्चन समाप्त हुन्जेलसम्मको काम । अभिनेताले हरेक दिन मञ्चमा प्रस्तुति गर्नुपर्छ । त्यो निकै थकानको काम हो । निर्देशकले बनाउने संसारमा अभिनेताले आफ्नो पात्रको फेरि अर्को संसार बनाउँछ । यही नै अभियानको मज्जा हो । आफूले बनाएको संसारमा अभिनेताले पात्रका कुण्ठा, मनोदशा, चिन्ता, पीर, ईष्र्या, लोभ सबै देखाउँछ । त्यसैले अभिनय र निर्देशन दुवै मन पर्छन् ।
तपाईंलाई मन परेका कुनै त्यस्ता नेपाली कृति छन् जसलाई मञ्चमा प्रस्तुत गर्न सकिन्छ जस्तो लागेको छ ?
मलाई त मन परेको बीपी कोइरालाको ‘नरेन्द्र दाइ’ उपन्यास हो । यसलाई मञ्चमा उतार्न पनि सकिएला । तर समय लाग्छ । मैले ठ्याक्कै सोचेको त कुमार नगरकोटीको कथा नै हो । त्यसो त म कथाहरूबाटै नाटक बनउन सकिन्छ कि भनेर पनि कथाकारहरूसँग मागेरै पनि कथा पढ्छु । हामीकहाँ नाटक लेख्ने मान्छे छैनन् । अनि कथा, उपन्यास पढेर त्यसैबाट नाटक बनाउने प्रयास गरिन्छ । यसरी नाटकबाहेक अन्य कृतिलाई नाटकमा रूपान्तरण गर्दा पहिला त निर्देशकलाई उक्त कृतिले छुनुप¥यो । कृति मन परेपछि बल्ल मञ्चनको सम्भाव्यता हेर्ने गरिन्छ । मञ्चनको सम्भावना नभए पनि के भयो त, एउटा राम्रो कृति त पढियो नि ।
नयाँ पुस्ताले नेपाली रङ्गमञ्चमा कस्तो योगादान गर्न सक्छन् ? तिनका चुनौतीहरू केके छन् ?
कस्तो गर्लान् त ठ्याक्कै भन्न सकिने अवस्था छैन । चुनौती भने समयअनुसार हुन्छन् । तर एउटा कुरा के पक्का हो भने, अबको रङ्गमञ्च नयाँ पुस्ताकै काँधमा छ । पुरानो पुस्ता सधैँ रहँदैन । पुरानो पुस्ताले गरेको कामभन्दा अगाडि जाने भनेकै नयाँ पुस्ता हो । यसका लागि नयाँ पुस्तालाई ठाउँ दिनुपर्छ । पुरानै पुस्ताले ठाउँ ओगटेर बसिराख्नु हुँदैन । अहिलेको पुस्ता सचेत छ । राजनीतिक चेत छ कि छैन भन्न सक्दिनँ । तर हाम्रो समयको भन्दा अहिलेको पुस्तामा विषयवस्तु, मञ्चन र प्रविधिमा निकै सचेत छ । अहिलेको पुस्ताले हाम्रो समयको भन्दा धेरै राम्ररी समाज बुझ्छ जस्तो लाग्छ । अहिलेको पुस्ता अध्ययनशील पनि छ । उनीहरूसँग आफ्नो समय र समस्यासँग जुध्ने क्षमता पनि छ । कहिलेकाहीँ त हामीलाई उनीहरूसँग समायोजन हुनै अप्ठ्यारो हुन्छ ।
महिला निर्देशक र कलाकारको स्थिति कस्तो छ ?
महिला कलाकार त पर्याप्त छन् । तर महिला निर्देशक कम छन् । महिलालाई रङ्गमञ्चले ठाउँ नदिएको होइन । तर हाम्रो सामाजिक संरचना नै यस्तो छ । आफै पहल गरेर महिलाहरू निर्देशनमा उत्रिन सक्ने अवस्था छैन । तर निर्देशन गर्ने क्षमताका महिला रङ्गकर्मी अवश्य छन् । हाम्रो सामाजिक संरचनाले नै महिलालाई कम ठाउँ दिन्छ । संरचनाले नै महिलालाई स्थान दियो भने निश्चय नै सङ्ख्यात्मक र गुणात्मक तरिकाले महिलाहरू पनि पुरुष निर्देशकजत्तिकै स्थानमा आउँछन् । हाम्रो सामाजिक संरचना महिलालाई अगाडि ल्याउने खालको छैन । त्यसले पनि रङ्गमञ्चमा प्रभाव पार्छ ।
रङ्गमञ्चमा नेपाली नाटकको साटो विदेशी नाटक धेरै मञ्चन भए भन्ने गुनासोबारे के भन्नुहुन्छ ?
मलाई यस्तो लाग्दैन । गुरुकुलमा हामीले विदेशीभन्दा नेपाली नाटक नै धेरै मञ्चन ग¥यौँ । तर विदेशी नाटकको चर्चा बढी भयो । समस्या के हो भने हामीकहाँ नाटक लेखक छैनन् । रङ्गकर्मीहरूलाई नाटक गर्नुपर्ने हुन्छ, नेपाली नाटक छैन भनेर नाटकै नगरीकन बस्ने कुरा पनि हुँदैन । अनि विदेशी नाटक मञ्चन गरिन्छ । विदेशी नाटक लिँदा पनि रङ्गकर्मीले त्यसलाई नेपालीमा एडप्ट गरिसक्या हुन्छन् । नेपाली संस्कृति, भाषा, परिवेशमा परिवर्तन गर्ने काम भइसकेको हुन्छ ।
फरक फरक शैलीमा लेखिएका, फरक फरक भूगोलका नाटक हाम्रा रङ्गकर्मीले मञ्चन गरेनन् भने उनीहरूले कसरी सिक्ने ? इब्सेन, सेक्सपियर, चेखब आदि लेखकको शैली सिक्नुप¥यो, बुझ्नुप¥यो, जान्नुप¥यो । त्यसका लागि विदेशी नाटक नै गर्नुप¥यो । मौलिकताको दुहाई दिँदै कुवाको भ्यागुता भएर बसिराख्नु पनि त भएन । त्यसैले रङ्गकर्मीको तालिमका लागि पनि विदेशी नाटक मञ्चन आवश्यक हुन्छ ।
रङ्गमञ्च र रङ्गकर्मीको सङ्ख्या बढिरहेको छ । तर नाटक लेखक छैनन् भनेपछि समस्या त देखियो नि ?
समस्या छ । समस्या कहाँ छ भनेर लेखक, निर्देशक कलाकारले एक पटक आफूलाई फर्केर हे¥यौँ भने समस्या कहाँ छ भनेर बुझ्न सजिलो हुन्छ । उपन्यास जसरी बिक्री हुन्छ, त्यसको चर्चा जसरी हुन्छ नाटकमा हुँदैन । नाटक लेख्ने मान्छे पनि रङ्गमञ्चसँग सम्बन्धित भइदियो भने सजिलो हुन्थ्योे । पाठ्य नाटक त कति छन् कति नेपालीमा । त्यस्ता नाटक मञ्चमा उतार्नुप¥यो भने ज्वरो आउँछ । लेखकहरूमा रङ्गमञ्च चेतनाको अभाव हुनु पनि एउटा समस्या हो । नाटक मञ्चमा आउन अलिकति रङ्गमञ्चको चेतना भएको लेखक चाहिन्छ । नाटक लेखेर मञ्चमा उतार्नु भनेको लेखक र निर्देशकबीचको अन्तक्र्रिया पनि हो ।
तपाईं आफैँलाई नाटक लेखौँ जस्तो लाग्दैन ?
मलाई कहिल्यै लागेन । लाग्दैन पनि । किनभने लेखन र निर्देशन दुई फरक काम हुन् । निर्देशक आफैँले नाटक लेख्दा उसको दिमागमा सबै बिम्बहरू लेख्ने समयमा नै फिट भएर बसेका हुन्छन् । अनि उसले पहिले नै फिट भएका बिम्बलाई नाटकमा उतार्छ । तर अर्को व्यक्तिले लेखेको कुरामा लेखकको बिम्ब हुन्छ । अनि मञ्चनमा लैजाँदा निर्देशकले आफ्नो बिम्ब बनाउँछ । निर्देशक र लेखकको बिम्बबीचको तारतम्य र तीबीच विरोधाभाषबाटै उत्कृष्ट नाटक जन्मिन्छ ।
कोरोना महामारी र राजनीतिक घटनाक्रमले अबको रङ्गमञ्चमा कस्तो प्रभाव पार्ला ?
प्रस्तुति, विषयका हिसाबले अलिकति फरक हुनुपर्ला । समयले नै यस्तो हुन्छ पनि होला । तर रङ्गमञ्चले गति लिन भने अझै केही समय लाग्ला । देशको स्थिति ठीक नभइकन रङ्गमञ्चको अवस्था ठीक होला भन्न सकिन्न । सबैको दिमागमा अहिले यही भद्रगोल छ । देश नै कता जान्छ भन्ने थाहा छैन । देशले अलिकति स्थायित्व नलिउन्जेल रङ्गमञ्चले पनि दह्रो स्थायित्व लिन्छ जस्तो मलाई लाग्दैन । पहिलेजस्तै गति लिन कि अत्यन्तै भद्रगोल हुनुपर्छ कि स्थायित्व चाहिन्छ । जस्तो पञ्चायतमा रङ्गमञ्चले राम्रो गति लिएको थियो, किनभने त्यतिखेर अभिव्यक्ति स्वतन्त्रता थिएन । रङ्गमञ्चको गतिका लागि कि त्यस्तो निसासिने वातावरण चाहिन्छ, कि स्थायित्व चाहिन्छ ।
मधुपर्क चैत २०७७