कला |

कलाकार मास्केको एकल कला प्रदर्शनी शुरु

गोरखापत्र समाचारदाता
काठमाडौं चैत ८ गते । कलाकार सञ्जु प्रधान मास्केको एकल कला प्रदर्शनी शुरु भएको छ । लाजिक्पाटस्थित अरुपण आर्ट ग्यालरीमा मास्केका एक्रेलिक माध्यममा बनाईएका ४३ थान चित्रहरु प्रदर्शनीमा राखिएका छन् ।
लामो समयदेखि शिक्षण पेशामा आवद्ध सञ्जुले अर्ध नारेश्वर, राधाकृष्ण, कुमारी, ओमकार जस्ता धार्मिक चित्रणका साथै जीवजन्तु, मुहार चित्रण र पर्यावरणजस्ता विषयहरु चित्रमा देखाउनुभएको छ ।
विगत दुईवर्ष देखि प्राज्ञ रमेश खनालको निर्देशनमा चित्रकला गर्दै आउनुभएकी सञ्जुको यो पहिलो कला प्रदर्शनी हो ।
‘उहाँको रेखाङ््कन क्षमता राम्रो छ । निरन्तरता र विषय वा शैलीमा उहाँले कलाका साधना गर्दा अझ अगाडि जाने सम्भावना देखेको छु । ६० वर्ष पार गरेर पनि कलामा यो चाहना र सिक्ने भोक कमैलाई हुन्छ । उहाँ अरु महिलाका लागि पनि प्ररणाको श्रोत हुनुहुन्छ,’ प्राज्ञ खनाल बताउनुहुन्छ । प्रदर्शनीलाई एक समारोहका बीच नेपाल ललितकला प्रत्रा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले उद्घाटन गर्नुभयो । प्रदर्शनी चैत १४ गते सम्म संचालनमा रहनेछ ।