चालिसेका तीन कृति
तुलसीहरि कोइराला
विजय चालिसे नेपाली पत्रकारिताकामा मात्रै नभएर साहित्यिक क्षेत्रमा पनि उत्तिकै चर्चित नाम हो । गोरखापत्र संस्थानमा लामो समय कार्यरत रही संस्थानको माथिल्लो जिम्मेवारीसमेत सम्हालेर सेवानिवृत्त हुनुभएका चालिसेका पत्रकारिताका क्षेत्रमा प्रकाशित पुस्तकले नेपाली पत्रकारितालाई मार्गनिर्देशसमेत गरेका छन् । साहित्यिक क्षेत्रमा उहाँ मूलतः आख्यानमा कलम चलाउँदै आउनुभएको छ भने निबन्ध/नियात्रातर्फ पनि उहाँको कलम उत्तिकै सशक्त देखिन्छ । बालसाहित्य, पत्रकारिता, कथा, निबन्ध/नियात्रा, संस्कृति, खोज–अनुसन्धान लगायतका विधामा करिब सात दर्जन कृति प्रकाशित हुनुलाई चालिसेको सक्रिय लेखनको प्रमाण मान्नुपर्छ । पछिल्लो पटक दुई महिनाको बीचमा उहाँका भिन्न–भिन्न विधाका तीन कृति सार्वजनिक भएका छन् । बी.एन. पुस्तक संसारद्वारा प्रकाशित ‘परिशीलन’ (नेपाली साहित्य, भाषा र आमसञ्चारबारे अनुसन्धानात्मक कृति), ‘सर्पदंशित मेरो वर्तमान’ (ललित निबन्ध) र ‘मरुभूमिको फूल’ (नियात्रा/संस्मरण)ले उहाँको लेखन विविधतासहितको सक्रियतालाई थप पुष्टि गरेका छन् । भिन्न विधाका तीन कृतिको बारेमा एकसाथ पाठकीय टिप्पणी गर्ने जमर्को गरेको छु ।
सर्पदंशित मेरो वर्तमान
प्रस्तुत कृति चालिसेको निबन्ध विधाको चौथो कृतिका रूपमा प्रकाशित भएको छ । विभिन्न पत्रपत्रिकामा प्रकाशित २७ वटा आत्मपरक/ललित निबन्ध समेटिएको यस पुस्तकले वर्तमान समय, समाज, संस्कृति, भाषा र यी सबै कुराको सेरोफेरोमा राजनीतिक उतारचढावले पारेको प्रभावबाट सिर्जित सकारात्मक/नकारात्मक पक्षलाई लेखकले उजागर गर्नुभएको छ । यिनैमध्येको पहिलो निबन्धको शीर्षक ‘सर्पदंशित मेरो वर्तमान !’ लाई पुस्तकको शीर्षकको रूपमा लेखकले छनोट गर्नुभएको देखिन्छ । वर्तमानमा विघटित हुँदै गएको मूल्य–मान्यता र यसैको परिणामजन्य पीडाबोधको सेरोफेरोमा सिर्जित निबन्ध वास्तवमै प्रतिनिधिमूलक निबन्ध हो । मनको उडानमा केन्द्रित निबन्धकारको निजत्वपूर्ण लालित्यले ओतप्रोत निबन्धले ओजिलो ढोकाको काम गरेको छ । यसका केही वाक्यांश यहाँ उद्धृत गर्न मन लाग्योः
निर्बाध घुम्न चाहन्छ मन । क्रमबद्धता भत्काउँदै स्वतन्त्र । अराजकता पनि हो सायद, एक किसिमले यो बेरोकटोक उड्ने चाहना । अराजक नै सही भए पनि आखिर मनै न हो, चाहन्छ कहिलेकाहीँ निमग्न आकासिँदै निविड बादलभित्रको अगम संसारमा कावा खान । मन हलुकोमा रुवाजस्तै हलुको र गह्रुङ्गोमा सिसाजस्तै गह्रुङ्गो पनि हुन्छ सायद । त्यसैले त कतै अरूको दुःखमा दुःखी भएर दुःख निवारणमा आफूलाई पूरै समर्पण गर्न तत्पर केही रुवाजस्तै हलुका बुद्धका मनहरू देखिन्छन्, कतै अरूको दुःखमा सुखानुभूति पाउने सिसाजस्तै कठोर मनहरू ! हावाजस्तै हलुका होस् वा सिसाजस्तै गह्रुङ्गो– मन त मनै हो ।
यस कृतिमा वि.सं. २०४० मा साङ्ग्रिला त्रैमासिकमा प्रकाशित ‘इतिहासः गोरेटो र राजमार्गहरू’देखि लिएर वि.सं. २०७३ मा सिमलटार सप्ताह स्मारिकामा प्रकाशित धर्म केन्द्रित लेख एवं सोही वर्ष सुलेख निबन्ध विशेषाङ्कमा प्रकाशित भाषा केन्द्रित निबन्धलाई पनि समेटिएको छ । यसरी यस सङ्ग्रहका निबन्धमा विषयवस्तुका दृष्टिले विविधता अँगालेको पाइन्छ । निबन्धका केही शीर्षक भने ज्यादै लामा भएकाले र तिनलाई दुई वा तीन शब्दमा छोट्याउन सकिने पनि देखिँदा पूर्व प्रकाशित शीर्षकलाई नै यथावत्र राख्ने लेखकको चाहना अनुसार गरिएको हुनसक्ने अनुमान लगाउनुपर्ने हुन्छ ।
परिशीलन
नेपाली साहित्य, भाषा र आमसञ्चारबारेका अनुसन्धानात्मक रूपमा विभिन्न समयमा लेखिएका दश वटा आलेखलाई प्रस्तुत कृतिमा सङ्गृहीत गरिएको छ । यसको लेखकीय मन्तव्यमै उहाँले यस्तो लेखनलाई आफ्नो स्वतन्त्र लेखन नभएर सम्पादक, प्रकाशक अथवा कार्यक्रम संयोजकको आग्रहमा लेखिएको बाध्यात्मक लेखनी भन्नुभएको छ । यद्यपि यी आलेखहरू विषयवस्तुका दृटिले ज्यादै खोजमूलक र ओजिला छन् । नेपाली साहित्यमा र अझ विशेषगरी बालसाहित्यमा ज्यादा लेखिँदै आएको विज्ञानकथाको बारेमा उति जानकारी नभैरहेको अवस्थामा चालिसेले निकै मेहनतपूर्ण सामग्री तयार पार्नुभएको छ– विज्ञानकथा र नेपाली साहित्य ।’ विज्ञानकथा के हो ? यसको इतिहास, विकासक्रम, विदेशी परिवेश र परम्परालगायतका कुरा समेटिएको लेखले यस क्षेत्रमा रुचि राख्ने पाठकका लागि महŒवपूर्ण जानकारी प्राप्त हुन्छ ।
साहित्यिक पत्रकारिता, प्रगतिशील पत्रकारिता, आमसञ्चार, नेपाली सञ्चारमाध्यमको भाषिकशैली र सञ्चारमाध्यम र साहित्यबीचको सम्बन्धलाई समेटिएका आलेखहरू पनि उत्तिकै महŒवपूर्ण छन् । त्यसैगरी यसमा समेटिएका अन्य आलेखका विषयचाहिँ बालसाहित्यसँग सम्बन्धित छन् । बालसाहित्य लेखन चालिसेकोे महŒवपूर्ण पाटो भए तापनि सिर्जना र विवेचनामा फरक पर्ने भएकोले नै उहाँले यी सामग्रीलाई पनि अनुरोधकै लेखनका रूपमा प्रस्तुत गर्नुभएको छ । नेपाली बालसाहित्यको सय वर्ष, नेपालमा बालपत्रकारिता, नेपाली बालनाटक र नेपाली बालसाहित्यका चुनौती केलाइएका सामग्रीले यस क्षेत्रमा चासो राख्नेलाई दर्विलो–अडिलो खुराकको काम गर्नेछन् । यसरी लेखकले जुन कुरा आफ्नो स्वःस्फूर्त रुचिको लेखनमा नपर्ने बताउनुभएको छ, ती सामग्री तत्क्षेत्रका पाठकका लागि ज्यादा उपयोगी सावित हुनसक्ने देखिन्छ ।
मरुभूमिको फूल
साहित्यकार विजय चालिसेले कथा सिर्जनालाई आफ्नो साधना विधा मान्दै यस सन्दर्भलाई तीन वटै पुस्तकको आफ्नो मन्तव्यमा समेट्नुभएको छ । त्यसैगरी कथापछिको आफूले पे्रम गरेको विधाको रूपमा निबन्ध र त्यसमा पनि नियात्रालाई अझ दोस्रो विधाका रूपमा उहाँले उल्लेख गर्नुभएको छ । निबन्ध विधाको चौथो कृतिका रूपमा प्रकाशित यस कृतिमा दुई खण्ड छन्– नियात्रा खण्ड र संस्करण खण्ड । जस अनुसार नियात्रा खण्डमा आठ वटा लेख र संस्मरण खण्डमा १२ वटा लेख समेटिएका छन् । उहाँले आफ्नो भूमिकामा संस्मरण खण्डमा १५ वटा विभिन्न सम्झना समेटेको उल्लेख गर्नुभएको छ तर भूलवश यस्तो पर्न गएको देखिन्छ । तीन वटा विदेशी पृष्ठभूमिका नियात्रा छन् भने अरू सबै सामग्री स्वदेशकेन्द्रित नै छन् । विदेशी भूमिमा गरिएका तीन यात्राका आलेखहरू– पाकिस्तान (लाहोर), भारत (माउण्ट आबु) र जापान (हिरोसिमा) सम्बद्ध छन् । तीनै देशका यात्रा पत्रकारका रूपमा आएको अवसरबाट भएको हो भने यस अन्तर्गतको एउटा यात्राचाहिँ धार्मिक प्रकृतिको पनि देखिन्छ । ब्रह्मकुमारी राजयोग सेवा केन्द्र अन्तर्गतको ‘ओम शान्ति’ नेपाल केन्द्रको प्याकेज टुरमा भीआइपी यात्रुका रूपमा गएको उल्लेख गर्नुभएको छ । माउण्ट आबुको विचित्रता हामीले सुन्दै आएका छौँ र धेरैले लेखेका पनि छन् । यद्यपि चालिसेको सिद्धहस्त कलमले गरेको यहाँको विचित्र संसारको वर्णनले पाठकलाई एक पटक पुगौँ–पुगौँ लाग्ने बनाउँछ । मरुभूमिमा गरिएको त्यस किसिमको विकासले गरे के हुँदैन, असम्भव भन्ने केही छैन भन्ने देखाउँछ ।
हिरोसिमा त झन् अणुबमले ध्वस्त पारिएर पनि जापानको महŒवपूर्ण शहरको रूपमा उठ्नसक्नु जापानको विकासको चमत्कार नै भएको लेखकले वर्णन गर्नुभएको छ । ‘म लाहुरेको लाहोर यात्रा’ दक्षिण एसियाली पत्रकारहरूको साझा संस्था साफ्माको सम्मेलनमा भाग लिन लाहोर जाँदाको हो । पाकिस्तानको दोस्रो ठूलो शहरमा भएको यो कार्यक्रमले लेखकलाई निकै उत्साहित बनाएको छ र लाहोर वर्णन निकै रोमाञ्चक छ । दोस्रो खण्डमा समाविष्ट १२ वटा संस्मरण आफ्नो लेखनी, पत्रकारिताको जागिरे जीवनका अनुभव, पत्रकारितामा प्रवेश गर्नुभन्दा अघिदेखि अँगालेको अध्यापन पेशा र पत्रकारितामा आइसकेपछि पनि अतिरिक्त समयमा गर्दैआएको प्राध्यापन पेशाका तीतामीठा सम्झना, भूकम्पको त्रासदी, प्रेस चौतारीको संस्थापक अध्यक्ष हुँदाको सन्दर्भ, समयक्रममा हुँदै आएको परिवर्तन, जुन परिवर्तन अहिलेको पुस्तालाई कथाजस्तो लाग्ने भइसकेको उहाँका अनुभवजन्य कुरा पाठकका लागि निकै रोचक सामग्री हुन् । रूपरेखा पत्रिकासँग सम्बन्धित संस्मरणले साहित्यिक पत्रकारिताको चित्र प्रस्तुत गरेको छ । जागिरे जीवनमा हुने गरेको खुट्टा तान्ने र चाकडी गर्ने प्रवृत्तिलाई मनोरोगी प्रवृत्तिले नङ्ग्याएको छ । अधिकांश सरकारी निक(ायमा प्रवृत्ति उस्तै हो, पात्र उस्तै हुन्छन् तर लेखकले ती पात्रलाई गुपचुप राख्नुभन्दा पनि साहसिक सार्वजनिकीकरण गरिदिँदा पनि फरक पर्दैनथ्यो भन्ने धारमा यो पङ्क्तिकार पर्दछ ।
यसरी एकसाथ सार्वजनिक गरिएका तीन भिन्न कृतिले वरिष्ठ साहित्यकार एवं वरिष्ठ पत्रकार विजय चालिसेको विविध विधाको लेखनीलाई सङ्गृहीत गर्ने क्रमको निरन्तरता देखाएका छन् । यहाँ सङ्गृहीत सामग्रीभन्दा पछि पनि उहाँको कलम निरन्तर चलिरहेकै छ र ती सामग्रीहरू पनि पाठकले क्रमशः पढ्न पाउने अपेक्षासहित लेखन सक्रियतालाई सलाम !