कला | राष्ट्रिय |

राष्ट्रपतिद्वारा सङ्ग्रहालयको अवलोकन

गोरखापत्र अनलाइन
काठमाडौँ, चैत २८ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले छाउनीस्थित राष्ट्रिय सङ्ग्रहालयको शनिबार अवलोकन गर्नुभएको छ । राष्ट्रिय सङ्ग्रहालय अन्र्तगत रहेका जुद्ध जातीय कलाशाला, बौद्ध कलाशाला र ऐतिहासिक सङ्ग्रहालय भवनमा सङ्ग्रहित मूर्ति, चित्रकला, मुद्रा, हातहतियारलगायत ऐतिहासिक तथा पुरातात्विक महत्वका वस्तुहरुको अवलोकन गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारीलाई सङ्ग्रहालयमा संग्रहित मूर्ति, चित्र, कलाको ऐतिहासिक तथा कला पक्षका विषयमा सङ्ग्रहालयका प्रमुख जयराम श्रेष्ठले जानकारी गराउनुभएको थियो । राष्ट्रिय सङ्ग्रहालय छाउनीका प्रमुख जयराम श्रेष्ठका अनुसार, राष्ट्रपति भण्डारीबाट करिव दुई घण्टा लगाएर रुचिपूर्वक सङ्ग्रहालय र त्यहाँ संग्रहित वस्तुहरुको अवलोकन गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले पहिलो शताब्दीदेखिका इतिहास र मूर्तिकलालाई सुरक्षित गरिएको सङ्ग्रहालय अवलोकनपछि खुशी व्यक्त गर्नुहुँदै सङ्ग्रहालयलाई राष्ट्रिय गौरव र अवलोकनको केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले विभिन्न देशका राष्ट्रप्रमुख र सरकार प्रमुखबाट नेपालमा हुने औपचारिक भ्रमणका समयमा सङ्ग्रहालय अवलोकन किन प्राथमिकतामा नराखिएको भन्ने जिज्ञासा समेत राख्नुभएको थियो । जवाफमा सङ्ग्रहालय प्रमुख श्रेष्ठले भन्नुभयो, “सङ्ग्रहालयलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थापन गर्न समेत सकिएको छैन । अर्को कुरा सम्बन्धित निकायको प्राथमिकतामा समेत नपरेको हुनसक्छ ।” राष्ट्रपति भण्डारीले छाउनीमै रहेको सैनिक सङ्ग्रहालय समेत अवलोकन गर्नुभएको थियो । सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालको समेत उपस्थिति रहेको थियो ।