दाहालका दुई कृति
गोकर्ण अर्याल
नेपाली साहित्यजगत्का एक सशक्त र स्थापित व्यक्तित्व बद्रीप्रसाद दाहालका छन्दकविता सङ्ग्रह ‘सयपत्री’ र हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह ‘माला चिन्तन’ सार्वजनिक भएका छन् । विशेष गरेर छन्दोबद्ध कविता र हास्यव्यङ्ग्य लेखनमा उहाँ सिद्धहस्त हुनुहुन्छ । व्यङ्ग्य साहित्यमा दाहाल भष्मासुरको उपनामले उहाँ परिचित हुनुहुन्छ । उहाँले समाजको समसामयिक राजनीतिक, शैक्षिक तथा सामाजिक परिस्थिति, परिवेश र बेथितिलाई केन्द्रमा राखेर छन्दोबद्ध कविता र व्यङ्ग्य लेखनमार्फत ट्वाक्क– ट्वाक्क व्यङ्ग्यवाण प्रहार गरेर पहरेदारको भूमिका निर्वाह गर्नुभएको छ । शब्दको पनि तापक्रम हुन्छ, कुनैले पोल्छ, कुनैले शीतल गराउँछ भनेझैँ दाहालका शब्दहरू त्यही अनुरूप प्रयोग हुन्छन् । कसलाई पोल्ने गरी प्रहार गर्ने र कसलाई शीतलता दिने भन्ने सोच–विचार गरेर उहाँ शब्दहरूको चयन गर्नुहुन्छ ।
यतिबेला समाजमा नेता, अभिनेता र लेखक बन्नेहरूको भीड कम छैन । कतिपयले कवि, लेखक र साहित्यकार बन्ने होडमा अङ्ग र ढङ्ग नपुगेका कृतिहरू बजारमा ल्याएर आफूलाई उँचो ठानिरहेका होलान् । त्यस्ता सर्जकलाई आफ्नो सिर्जनाले समाजको वास्तविकतालाई कति उतार्न सक्यो, सकेन भन्ने भेउसमेत नहुन सक्छ । तर, विषयवस्तुको राम्रो ज्ञानका साथै उपयुक्त शब्दचयन र भावलाई समेटेर सिर्जित रचनाले नै समाजको मन जित्न सक्छ र त्यसले साहित्यको श्रीवृद्धिमा पनि टेवा पु¥याउन सक्छ । यही चिन्तनबाट साहित्यकार दाहालले लेखकीय भूमिका निर्वाह गरिहनुभएको छ भन्ने कुरा उहाँका कृतिहरूको अध्ययनबाट स्पष्ट हुन्छ । त्यसमा पनि छन्दोबद्ध कविता र हास्यव्यङ्ग्यजस्तो जटिल र कठिन विषयलाई आफ्नो साहित्य सिर्जनाको केन्द्र बनाएर दाहाल भष्मासुरले आफूलाई अब्बल साबित गराउनुभएको छ । उहाँको लेखनमा भाषाशैली मिठास हुनुका साथै उखानटुक्काले सजिएका हुन्छन् ।
जन्मथलो धादिङमै रहेर उहाँले शिक्षादीक्षा दिएका व्यक्ति र साहित्य सिर्जनामा लाग्न प्रेरित गरेका स्रष्टाहरू यतिबेला माथिल्लो तहमा पुगेर सेवा सम्मान पाइरहे पनि ती सबैको शिर दाहाल भष्मासुरप्रति नुहिरहेको हुन्छ । बद्रीप्रसाद दाहाल कवि, भष्मासुर, गुरु, सर र सामाजिक अभियन्ता आदि परिचयमा गौरव र सन्तोष मानेर आफ्ना सिर्जना मेची महाकालीका सँगातीबीच पु¥याइ रहनुभएको छ । यस हिसाबले उहाँको सिर्जनाले धादिङको माटोलाई सुवास छर्ने कार्य मात्र गरेका छैनन्, साहित्यजगत्मा उहाँका कृतिहरू गतिला खुराक बनेर उभिएका छन् । चिन्तन र अध्ययनको व्यापकताले उहाँको लेखकीय क्षेत्र विस्तृत र विशाल बन्दै गइरहेको छ ।
साहित्यकार दाहालका पछिल्लो पटक प्रकाशनमा आएको ‘सयपत्री’ छन्द कविता सङ्ग्रहमा स्रग्धरा, शार्दूलविक्रीडित, मन्दाक्रान्ता, मालिनी, पञ्चचामर, अनुष्टुप, शिखरिणी, स्रग्विणी, भुजङ्गप्रयात, वसन्ततिलकालगायत छन्दको प्रयोग भएको छ । कविता ७३ वटा रहेका छन् । यी कवितामार्फत राजनीतिक, सामाजिक, शैक्षिक स्थितिको चित्रण गर्दै राज्यमा रहनेले गरेका ज्यादती र समाजका विसङ्गतिप्रति उहाँले प्रहार गर्नुभएको छ । ‘जहाँ पुग्दैनन् रवि त्यहाँ पुग्छन् कवि भनेझैँ’ उहाँका कविताले समाजका हरेक क्षेत्रका विसङ्गति र विकृतिलाई उधिन्न सफल भएको छ । साथै, वर्तमानको समीक्षा गरेर भविष्यका आशाहरू पनि उनिएका छन् । राजनीतिले थला पारेको हाम्रो समाजको परिवेश र परिस्थितिलाई कविले चट्ट मीठो अचार शीर्षकमा यसरी व्यक्त गर्नुभएको छ–
निर्धा–दुब्ला, गरिब–लुखुरे, कार्यकर्ता पछाडि ।
नतागोता, धनपति–बली, भाट पुग्छन् अगाडि ।।
बाहूभित्रै, विधि–नियम छन्, तस्करै हुन्छ ठालू ।
धिक्कारै हो दलदल भरे, बाघ–ब्वाँसा र भालु ।।
त्यसैगरी हाम्रा चाडपर्व, रीतिरिवाज र प्राकृतिक सौन्दर्यका विषयमा पनि उहाँका भावनाहरू पोखिएका छन् । भाषा साहित्यको जगेर्नामा पनि उहाँको कलमले खबरदारी गरेको छ । होसियार । होसियार ।। होसियार ।।। कवितामार्फत उहाँको भावना यसरी पोखिएको छ–
भाषा भाँच्न बिगार्न उद्यत भई, नाच्दैछ भष्मासुर ।
प्रज्ञाको पगरी गुथेर अहिले, हाँस्दैछ भष्मासुर ।।
राखौँला मत यो भनीकन यहाँ, झुक्याउँदै शब्दले ।
भत्केका र अशुद्ध शब्द–ढुकुटी, भित्र्याउँदैछन् हरे ।।
आवरण पृष्ठबाहेक ११४ पृष्ठ रहेको यस कविता सङ्ग्रहका सबै कविता उत्कृष्ट, पठनीय र रोचक पनि छन् ।
त्यसैगरी ‘माला चिन्तन’ निबन्ध सङ्ग्रहमा ३९ वटा निबन्ध रहेका छन् । विशेष गरेर समकालीन व्यङ्ग्य साहित्यको उर्वर फाँट राजनीतिको नाउँबाट मौलाउँदै गरेका भ्रष्टाचार, अनियमितता, बेथिति, नातावाद, क्रिपावाद र यसबाट उत्पन्न सामाजिक विकृति, विसङ्गति बन्ने गरेका छन् । निबन्ध सङ्ग्रहभित्र रहेका अधिकांश शीर्षक पनि राजनीतितर्फ नै केन्द्रित छन् । कमेडी दिमागमा सधैँको प्रहार, जिन्दावाद धनवाद, दलहरूको मन्थन–जय गठबन्धन, नातावाद कसरी भन्ने जिन्दावाद ?, कता ? कता ? ए कता ? विचरो एकता, लम्पसारवाद जिन्दावाद, बहुमुखी म, युवा पुस्ता धन्यवाद बूढो पुस्ता जिन्दावाद, माला चिन्तनजस्ता निबन्धले राजनीतिक दलका नेता र तिनका आसेपासेबाट हुने गरेका भ्रष्टाचार, बेथिति र दलका नेताहरूले आफ्ना स्वार्थ पूरा गराउन अकर्मण्यताप्रति भष्मासुरको कलमले प्रहार गरेको छ । त्यसैगरी मुलुकको शैक्षिक र सामाजिक क्षेत्रमा देखापरेका विकृति, विसङ्गति तथा विभिन्न निकायबाट गरिने मान, सम्मान र पुरस्कारमा हुने गरेका भनसुन र आफन्तवादलाई व्यङ्ग्यकार दाहालले धित मर्ने गरी प्रहार गर्नुभएको छ ।
विषयवस्तुका हिसाबले मात्र होइन भाषाको प्रस्तुति र शब्दचयनका दृष्टिकोणबाट यस निबन्ध सङ्ग्रहभित्रका सबै शीर्षक बोधगम्य र पठनीय छन् । आवरण पृष्ठबाहेक १५४ पृष्ठमा प्रकाशित यस कृतिलाई समग्रमा हेर्ने हो भने यो थुँगा–थुँगा फूलबाट सुन्दर माला बनेजस्तै छ । साहित्यकार दाहालका गङ्गा शोक काव्य, हेनरी ड्युना जीवनीपरक काव्य, भष्मासुरको खित्का हास्यव्यङ्ग्य निबन्ध सङ्ग्रह, डिबडिबे हास्यव्यङ्ग्य कविता सङ्ग्रह, बाँसुरी कविता सङ्ग्रह प्रकाशित भइसकाले पनि यी दुई सङ्ग्रह अझ धेरै परिष्कृत र परिमार्जित भएर आएका छन् भन्नुमा सङ्कोच मान्नुपर्ने देखिन्न । दुवै सङ्ग्रहमा रहेका कतिपय कविता र निबन्ध मधुपर्क, गरिमा लगायतका साहित्यिक र राष्ट्रिय अखबारहरूमा प्रकाशित भइसकेका पनि छन् । समग्रमा बद्रीप्रसाद दाहालको लेखन नव स्रष्टाहरूका लागि प्रेरणाको मार्ग बनेर देखापरेको छ भने सिङ्गो साहित्यिक पर्खालमा दर्बिलो इँटा बनेको छ ।