काव्यमा आमाको विशालता
सीता भट्टराई
साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीको २१औँ कृतिको रूपमा ‘आमा’ खण्डकाव्य प्रकाशित भएको छ । कृति आठ सर्गमा विस्तारित छ । ‘आरम्भ’ शीर्षक राखेर यसको मङ्गलाचरण गरिएको छ । यसमा पाँच श्लोक छन् । यहाँ नेपाल आमालाई काव्य बनेर आऊ भनेर काव्यकारले आह्वान् गर्नुभएको छ ।
दोस्रो सर्ग ‘आमा (नेपाल आमा) को महिमा’ शीर्षक रहेको छ । यसमा चौतीस श्लोक छन् । यहाँ आमा भनी नेपाल आमाको महिमा गान गरिएको छ । ‘अनेक रूपमा आमा’ शीर्षकको तेस्रो सर्ग छ । यो सर्ग १८ श्लोकमा विस्तारित छ । कविले ‘आमा’ एउटा शब्द हो, उनीमा एउटा रूप हुन्छ तर उनमा अनेक अनेक विशेषता हुन्छ । उनीभित्र भएका विशेषता र प्रवृत्तिले गर्दा नै आमा सर्वमान्य र सर्वपुज्य हुन्छिन् भनेर उल्लेख गरिएको छ ।
चौंथो सर्गको शीर्षक ‘अनेक रूपमा नारी’ रहेको छ । यहाँ नारीका व्यवसाय, कर्म, मर्म र गुणको चर्चा गरिएको छ । पाँचौँ सर्ग ‘मेरी आमा’ शीर्षकमा छ । यसमा २८ श्लोक छन् । कवि पात्र यहाँ मको रूपमा प्रस्तुत भएर आफूलाई जन्मदिने आमाको बारेमा वर्णन गरिएको छ । छैटौँ सर्ग ‘केही सल्लाह’ शीर्षकमा छ । यो सर्ग बाह्र श्लोकमा विस्तारित छ । यसमा आमाबाबाप्रति छोराछोरीको पनि महŒवपूर्ण कर्तव्य हुने कुरामा जोड दिइएको छ । सर्ग सात ‘कोरोना कहर’ शीर्षकमा छ । यो सर्ग नौ श्लोकमा विस्तारित छ । यसमा कोरोना कहरले ल्याएको दुःखपूर्ण स्थितिको विषयलाई लिइएको छ । आठौँ सर्ग ‘समापन’ शीर्षकमा छ । यसमा जम्मा २१ श्लोक छन् । आमा र धर्ती भनेका के हुन् ? विशेषता के
हुन् ? भन्ने विषयलाई प्रस्तुत गरेर काव्य समापन गरिएको छ ।
काव्यको भाषाशैली सुबोध र सरल छ । शास्त्रीय छन्दअनुसार उपजाति, अनुष्टुप, सवाई, झ्याउरेजस्ता छन्दको प्रयोग गरिएको छ । लय विधानले काव्यलाई श्रुतिमाधुर्य बनाएको छ । ध्वन्यात्मक शब्द, विम्ब, प्रतीक, अलङ्कारयुक्त पङ्क्ति पनि काव्यमा भेटिन्छन् । कतैकतै काव्यिक गुण, धर्म, भाषिक व्याकरण, सर्ग संयोजनलाई अझ परिमार्जन गर्न सकिने अवस्था छ । तर सरल भाषाशैलीले काव्यलाई सुबोध्य र सरल बनाएको छ । हरेक लेखकको आफ्नै किसिमको क्षमता र गुणधर्मिता हुन्छ । निश्चय पनि ज्ञवालीका पनि आफ्नै शैली, भाव, भाषा यसमा प्रयोग भएको छ । भाषिक संरचना र लयविधानलाई व्याकरणिक प्रयोगमा सर्ग रखाईलाई अझ परिमार्जन गर्न सकिने अवस्था भने काव्यमा देखिन्छ । यो कवि र काव्यकारमा अभ्यास बढाउँदै जाँदा हुने भएकाले जेजस्ता भाषिक संरचना, छन्द, लय ध्वनि, अलङ्कारको प्रयोग भए पनि आमारूपी विशालताको उचाइलाई भने यसले छुन सकेको छ ।
यस काव्यको उद्देश्य भनेको आमाको वात्सल्यरूपी विशालता देखाउनु हो । आमाको सन्तानप्रति गरिने निष्काम कर्मयोगलाई चिनाउनु हो । आमाका विशेषतालाई पाठकसामु प्रस्तुत गर्नु हो । यावत धर्ती र आमाका विशेषता बोकेका नारी हस्ताक्षरहरूको चिनारी दिई उनीहरूको गुणधर्मीतालाई प्रस्तुत गर्नु हो । आमाका सम्मानका रूपमा मान्दै आएका संस्कार र संस्कृतिलाई चिनाउने उद्देश्य काव्यले लिएको छ । आमाका रूपमा दैवी शक्ति भएका देवीदेखि सांसारिक शक्ति भएका सक्षम ममतामयी आमाहरूको गुणगान गर्दै उनीहरूप्रति अगाध आस्था हुनुपर्छ भनी आमा महिमा गाएर मातृवात्सल्यको महŒव चिनाउनु यस काव्यको महŒवपूर्ण उद्देश्य र प्राप्ति देखिन्छ ।
आमालाई परब्रह्मस्वरूपा, दया, प्रेम, ममता र कर्मयोगी तपस्विनी, शक्तिस्वरूपाका रूपमा देखाई धर्तीरूपी वात्सल्य र ममताको विशालतालाई ब्रह्ममय आनन्दका रूपमा मानिएको छ । निष्काम कर्मयोगी विशेषताले गर्दा संसारमा अन्य व्यक्तिभन्दा आमा महान् र सम्मानयोग्य बनेकी हुन् भन्ने देखाउनु नै यस काव्यको उद्देश्य देखिन्छ ।
ज्ञवालीको समग्र खण्डकाव्य–कृतिलाई अध्ययन गर्दा सम्पूर्ण नारी शक्ति भनेको शक्तिका, ज्ञानका, कर्मका त्यागका प्रतिमूर्ति हुन् । उनीहरूको त्याग तपस्या समपर्णबाट नै सृष्टि अगाडि बढेको छ । नारीमा बालक जन्माउने मात्र क्षमता हुँदैन । उनीहरूमा असल प्रशासकदेखि राष्ट्र र राष्ट्रियतालाई परिचालन र पहिचान गर्ने क्षमता पनि हुन्छ भन्ने विशद् व्याख्या कृतिमा गरिएको छ । असल आमा असल प्रशासक, असल समाज सेवक, असल नेतृत्वकर्ता, बन्न सक्छन् । आमामा जन्मदिने, कर्मदिने गुण मात्र होइन ब्रह्मानन्द प्रदान गर्ने दैवी शक्ति हुन्छ । अन्य व्यक्ति र केही नारीहरूलाई छाडेर आमाको मातृवात्सल्यका सामु केही पनि तुलना गर्न सकिँदैन । अन्य व्यक्तिका ममता र मायामा स्वार्थ मिसिएको हुन्छ । आमाको माया ममता अनमोल हुने हुँदा हाम्रा धर्मशास्त्र र पुराण वेदले पनि यसलाई दैवी शक्ति महाशक्तिका रूपमा पुकारेका छन् । आमाका गुण, धर्मले आमालाई निष्काम कर्मयोगी शक्तिस्वरूपा जननीका रूपमा मान्न सकिन्छ । यसै गुणले गर्दा आफूलाई जन्मदिने आमादेखि लिएर यो धर्ती, देश, यावत धर्तीका वात्सल्य गुणले युक्त नारीशक्तिहरू आमाकै रूपमा स्थापित गराउन खोज्नु नै यस खण्डकाव्यको काव्यिक निष्कर्ष रहेको छ ।