कला | फिचर | शनिवार |

व्यङ्ग्यले भरिएको आख्यान

रञ्जना निरौला

जीवनको आख्यानात्मक विवरण वा वर्णन नै उपन्यास हो । जीवनका धेरै घटना र परिवेशलाई एकत्रित गरेर बोकेको हुन्छ उपन्यासले । जहाँ पात्रसँगै परिवेश बनेर देश आउँछ, परदेश आउँछ । यही क्रममा साहित्यकार गणेशप्रसाद लाठको ‘अघटित’ उपन्यास बजारमा आएको छ । उहाँको यो उपन्यासले व्यङ्ग्यमात्र गरेको छैन, हँसाउँदा हँसाउँदै रूवाएको पनि छ ।
पच्चीस परिच्छेदमा विभाजित अघटित उपन्यासको प्रथम खण्ड मङ्गु र मल्ली शीर्षकबाट सुरु भएको छ भने इलिया काठमाडौँमा र उपसंहारबाट समाप्त भएको छ । मङ्गु र मल्लीको कथानक उपसंहारमा पुग्दा यसले देश विदेशसहित धेरै ठाउँको भ्रमण गराउँछ पाठकलाई । तल्लो जातको फोहोर व्यवस्थापन गर्ने मल्ली र मङ्गुबाट सुरु भएको कथानक उनीहरूकै सेरोफेरोमा अगाडि बढ्छ । कौतूहल जगाइराख्ने घटनाक्रमहरू यसमा भरिभराउ छन् ।
यथार्थमूलक विषयलाई कल्पना, प्रतिभा र कलात्मकताले चिटिक्क पारेर अघटितलाई उच्चकोटिको उपन्यास बनाउनुभएको छ साहित्यकार लाठले । प्रयोग र प्रगतिवादी उपन्यास लेखनको परम्परामा विसङ्गतिवादी अस्तित्ववादी प्रवृत्तिलाई आख्यानमा समाहित गरेर आफ्नै राष्ट्रको यथार्थ धरातलमा मानवतावाद, विसङ्गतिबोध, निस्सारता, विकृति, निरर्थकताजस्ता पक्षको व्यङ्यात्मक विश्लेषण यसमा गरिएको छ । संरचनाका दृष्टिले २९९ पृष्ठको यो कृति भित्रका परिच्छेदहरूमा जीवन, समाज र राष्ट्रका विकृति, विसङ्गति, अभाव, छलकपट, धोकासँगै प्रकृति, संस्कृति, राष्ट्रप्रेम, समर्पण आदिको रसास्वादन पाठकले गर्न पाउने छन् । साथै, भौतिक जीवन, राजनीतिक जीवन, देश, काल, परिस्थितिको मार्मिक तथा व्यङ्ग्यपूर्ण चित्रण पनि यहाँ छ । भौतिक सुख, भोग विलास, भ्रष्टाचार गुण्डागर्दी, दुःख, पीडा सबैखाले परिस्थितिमा कथानक बाँधिएको छ । सबैभन्दा धेरै कटाक्ष राजनीतिक विकृति विसङ्गति, धार्मिक आडम्बर, विकासको नाममा विदेशी अनुदान, आदिमा गरिएको छ । उपन्यासकार लाठले पात्रहरूका नाम समेत व्यङ्ग्यात्मक राख्नुभएको छ ।
काव्यमा जहाँ वाच्यार्थ र लक्ष्यार्थभन्दा धेरै रमणीय र चमत्कारपूर्ण अर्थ व्यञ्जित हुन्छ, त्यहाँ ध्वनिको सत्ता रहेको मानिन्छ । जुन अर्थका लागि शब्द वा अर्थले आफ्नो अभिप्रायलाई त्यागी दिन्छन् र कुनै विशिष्ट भावलाई व्यक्त गर्छन् । त्यस्तो व्यङ्ग्य भएर आउने वस्तुविशेषलाई ध्वनि भनिन्छ । उपन्यासकार लाठको अघटित उपन्यास यस्तै उच्चस्तरको ध्वन्यात्मक कृतिको रूपमा रहेको छ । घट्दै नघटेको अर्थबोध हुने शीर्षक जुराएर भइरहेका र भइसकेका कुरालाई अत्यन्तै मार्मिक र कलात्मक प्रस्तुति दिएर विशिष्ट भावलाई उहाँले यस उपन्यासमार्पmत व्यक्त गर्नुभएको छ ।
मुख्य पात्र अम्बानी र मात्माकै वरिपरि घुमेको कथानक भए पनि मर्यादा पुरुषोत्तम, दयानन्द, अमन, इलिया, पुण्यप्रसाद, कुटिलदेव आदि पात्र नभई उपन्यासले गति लिन सक्दैनथ्यो । प्रत्येक पात्रहरू आ–आफ्नो भूमिकामा देश र विदेशका परिवेशमा उत्तिकै सशक्त छन् । चाहे त्यो मल्ली र मङ्गु होस्, अमन वा मर्यादा पुरुषोत्तम होस् या धमिरा, मात्मा वा कुटिलदेव । तृतीयपुरुष शैलीमा लेखिएको यो उपन्यास बाह्य दृष्टिबिन्दुको प्रयोगको मिश्रित प्रवेश पनि छ । उपन्यासको सारवस्तु समसामायिक र यथार्थ छ । विसङ्गति र विकृतिप्रति शालीन र व्यङ्ग्यात्मक आक्रोस, विद्रोह र आलोचनाको स्वर छ । भाषा परिस्कृत छ । उपन्यासमा प्रतीक र विम्बको प्रयोगले अझ मूर्तता र विशिष्टता थपेको छ । उखान र टुक्काले त झन् रसात्मक बनाएको छ । वर्णनात्मक संवोधनात्मक, संवादात्मक शैलीहरूको उचित र सुन्दर प्रस्तुति छ । कलात्मक, काव्यात्मक, प्रतीकात्मक, विम्बात्मक, व्यङ्ग्यात्मक, सरल र प्राञ्जल भईकन पनि विचारोत्तेजक भाषा र भावको उचाइ यसको विशेषता हो । शालीन भाषा शैलीमा मर्ने गरी व्यङ्ग हान्नु र हरेक दुःख पीडामा पनि दुखाइ दुखाइ पाठकलाई हाँस्न बाध्य पार्नसक्नु लाठको औपन्यासिक लेखनको सफलता हो । उपन्यासका मोडमोडमा पात्रहरूलाई मारेर संवेदनाले निथु्रक्क पारे पनि सँगै उहाँ व्यङ्ग्यवाणहरूले मलम लगाउँदै आशाको सञ्चार गर्नुहुन्छ । पात्रबाट होस्, विदेशबाट होस्, स्थान र परिवेशबाट होस् हरेक कोणबाट लाठले देशकै माया गर्नुभएको छ । व्यङ्ग्यबाट नै होस् देशको उन्नति र प्रगतिको चाहना राख्नुभएको छ । उहाँको आख्यानको मूलस्वर राष्ट्रप्रेम नै हो ।
उपन्यासको विषयवस्तुले पाठकलाई अल्छी लाग्न दिँदैन । कौतूहलतापूर्ण र सार्थक विषयवस्तुमा अब के होला भन्ने जिज्ञासा भइरहन्छ । उपन्यासको शीर्षक आफैँमा व्यङ्ग्यात्मक छ । हाम्रो वरिपरि हामीले नै देखेभोगेका घटनाहरू भmलझल दोहोरिएको भान पाठकले यहाँ गर्न सक्छन् । पहिले नभएका कुरा भन्दै सबै भइरहेका, भइसकेका कुराहरूलाई असाध्यै कुशलतापूर्वक व्यङ्ग्य गरिएको छ । घटना नभएको वा पहिले नभएको अर्थबोध लाग्ने अघटितले भइसकेका र भइरहेका कुरालाई व्यङ्ग्यात्मक प्रतिविम्बित गरेको हुनाले शीर्षक सार्थक छ । यो उपन्यासले लाठलाई व्यङ्ग्य आख्यानकारका रूपमा चिनाएको छ ।