कला | शनिवार |

समीक्षात्मक विचार सँगालो

तुलसीहरि कोइराला

समकालीन पुस्तामा गम्भीर अध्येताको रूपमा लिइने केही नामको सूचीमा राप्रउ पोखरेल (रामजीप्रसाद उपाध्याय पोखरेल)को पनि नाम आउँछ । उहाँ आफूले अध्ययन गरेको विषयवस्तुलाई स्पष्ट छिलुङ्ग्याएर आलोचकीय लेखनमार्फत आफ्नो छुट्टै छाप बनाउन सफल हुनुभएको व्यक्तित्व हुनुहुन्छ । पोखरेलको अध्ययनको क्षेत्र मूलतः धर्म, दर्शन, संस्कृति, इतिहास र साहित्य नै हो । यिनै विषयवस्तुको सेरोफेरोमा रहेर उहाँले वि.सं. २०६३ मा ‘सर्वधर्म समभाव’ पुस्तक प्रकाशित गर्नुभएको थियो । यसबीचमा फुटकर रूपमा थुप्रै आलेख प्रकाशित भए पनि पुस्तकाकार रूपमा भने वि.सं. २०७७ मा आएर मात्रै दोस्रो कृतिको रूपमा प्रकाशित भएको छ– विचार मीमांसा । यसमा समेटिएका विविध विषयवस्तुका आलेखलाई उहाँले दर्शन, साहित्य, समाज र संस्कृतिभित्रका भएको आवरण पृष्ठमै उल्लेख गर्नुभएको छ ।
प्रस्तुत कृतिमा जम्मा पाँच खण्ड छन् । पहिलो खण्डमा रहेको धर्म–संस्कृतिभित्र धर्मको उद्भव र विकास, बुद्धधर्मको ह्रासका कारण, महाभारतका प्रमुख पात्रका चरित्र, कृष्ण लीला र तिहारको सन्दर्भका आलेख समेटिएका छन् । पुस्तकको दोस्रो खण्डमा व्यक्ति–व्यक्तित्व शीर्षकमा बीपी कोइराला केन्द्रित दुई आलेख, टङ्कप्रसाद आचार्य, योगी नरहरिनाथ, पृथ्वीनारायण शाह र मदनमणि दीक्षितका बारेमा लेखकले आफ्नो दृष्टिकोण प्रस्तुत गर्नुभएको छ । व्यक्ति केन्द्रित यी लेखमा समाविष्ट पात्रका बारेमा प्रस्तुत लेखकीय खोजले केही नवीन तथ्य पनि उजागर गरेका छन् । पोखरेलले यी पात्रको विद्वतासँगै कमजोरी पनि केलाउनुभएको छ । पुस्तकको सबैभन्दा महìवपूर्ण खण्ड यही भएको ठहर पाठकले गर्ने छन् ।
त्यसैगरी, तेस्रो खण्डलाई साहित्य खण्डको रूपमा लेखकले प्रस्तुत गर्दै त्रय महाकवि– महाकवि विद्यापति, महाकवि लक्ष्मीप्रसाद देवकोटा र महाकवि पुश्किनका बारेमा पोखरेलले गहन विचार पस्किनुभएको छ । देवकोटाले सोभियत रुसको तासकन्दमा गरेको भाषणले उहाँको अन्तर्राष्ट्रिय साहित्यिक व्यक्तित्व उच्च भएको उल्लेख गर्दै देवकोटाकालीन पुस्ताको समीक्षासमेत गर्नुभएको छ । यसै खण्डमा अमेरिकी महिला लेखिका मार्गरेट मिशेलको उपन्यास ‘गौन विथ द विण्ड’को समीक्षा प्रस्तुत गरिएको छ । सन् १९३६ मा प्रकाशित अमेरिकी युद्ध केन्द्रित उपन्यासको समाजशास्त्रीय दृष्टिकोणको समीक्षाले मूल कृति पढ्ने अवसर नपाएका पाठकलाई पढेसरह नै बनाउने छ ।
‘विचार मीमांसा’को चौथो खण्डमा विमर्श शीर्षकमा चार वटा आलेख रहेका छन् । वामपन्थी लेखक शक्ति लम्सालको ‘माक्र्सवाद, समाज र साहित्य’ पुस्तकको समालोचनात्मक टिप्पणी ज्यादै पठनीय छ । लेखकलाई सम्बोधन गरेर चिठी शैलीमा लेखिएको यो आलेखले माक्र्सवादी सौन्दर्यशास्त्रको बारेमा गरिने व्याख्या र अनेक भ्रमका बारेमा पोखरेलको कलम गहिरो अध्ययनपछि मात्रै अघि बढेको अनुभूत हुन्छ । हाम्रो तराई–मधेस र यहाँका आदिवासी थारूको बारेमा विभिन्न समयमा उठाइएका भ्रमपूर्ण टिप्पणीलाई ‘तराई र थारू’ शीर्षकको लेखले तथ्यपरक ढङ्गले निरूपण गरेको छ । हिन्दु धर्मग्रन्थहरूमा राजाको बारेमा गरिएका व्याख्यान केन्द्रित लेखले समय सान्दर्भिकता नदेखाए पनि वैदिक व्यवस्थाको राम्रो विश्लेषण गरिएको छ । त्यसैगरी, अर्को लेख स्त्री–पुरुषबीचको सम्बन्ध तथा विवाह पद्धतिका बारेमा प्रस्तुत छ । ‘विवाह संस्कार नै ठीक नभएकोले यसको अन्त्य गरिनुपर्छ’ भन्ने केही नारीवादी टिप्पणीले छोएर यथार्थ केलाउने प्रयत्न गरेको पोखरेलले यहाँ उल्लेख गर्नुभएको छ । पुस्तकको पाँचौँ खण्ड पनि समीक्षात्मक नै रहेको छ । भाषाशास्त्री बालकृष्ण पोखरेलको ज्यादै महìवपूर्ण कृति ‘खस जातिको इतिहास’ र पत्रकार एवं लेखक सौरभको पुस्तक ‘असहमति’ को समीक्षात्मक टिप्पणी प्रस्तुत गरिएको छ । यसै खण्डमा रहेको ‘नेपाली सङ्गीतको यात्रा’ आलेखले नेपालको साङ्गीतिक इतिहासलाई उजागर गरेको छ ।
प्रस्तुत कृतिले राप्रउको विषय ज्ञान र अध्ययनशीलको प्रशंसा गर्न पाठकलाई बाध्य बनाउँछ । यति हुँदाहुँदै पनि अन्य आलेखको तुलनामा सामान्य नै लाग्ने तिहारको परिचयात्मक लेख र वैदिक राजाको विवेचना गरिएका जस्ता एकाध लेखलाई समावेश नगरेको भए पनि हुने थियो कि भन्ने धेरै पाठकलाई खड्किन सक्छ । खण्ड विभाजनमा पाँच भए पनि व्यक्ति–व्यक्तित्व, साहित्य र विविध खण्डमा समाविष्ट आलेखहरूलाई दुई खण्डमै सीमित गरेको भए पनि उति असजिलो हुने थिएन । अर्को उल्लेख गर्नैपर्ने कुरा के छ भने– बीपी कोइरालाको बारेमा लेखकले जुन कोणबाट कलम चलाउनुभएको छ, उहाँले लेखेका अन्य व्यक्ति केन्द्रित लेखाइभन्दा यो निकै हलुका अनुभव हुन्छ । एकातिर बीपीलाई सहानुभूति राखेको जस्तो पनि देखिन्छ भने अर्कोतिर स्पष्ट विचार र मार्गचित्र प्रस्तुत गर्न नसकेको भन्ने पनि लेखकले उल्लेख गर्नुभएको छ । बीपीको जीवनकालको समय विभाजन केलाउनु भएर पनि छोटो समयको दबाबपूर्ण राजनीतिमा रुमल्लिएको बेलाको शासनसत्तामा पनि उहाँको नेतृत्वमा भएका उल्लेख्य कार्यप्रति लेखकले अनदेखा गर्नुभएको छ ।
प्रस्तुत कृति राप्रउको अध्ययनशील र तर्कपूर्ण प्रस्तुतिको लेपनका कारण पठनीय छ । त्यसमा पनि अर्का विद्वान् अध्येता तथा राजनीतिक विश्लेषक प्रदीप गिरीको गहन भूमिकाका कारण पुस्तक थप महìवपूर्ण बनेको छ । लेखकको विचार परख गर्ने केही पाठकले उहाँलाई राजतन्त्रवादी हो कि भन्न सक्छन् भने केहीले उहाँ त माक्र्सवादी झुकावको विचारक हो पनि भन्न सक्लान् । यसो भन्नलाई उहाँका आलेखले पाठकलाई सुविधा दिएका पनि छन् । यसै सन्दर्भमा भूमिकाकार गिरीले भन्नुभएको छ– ‘रामजीप्रसाद उपाध्यायले माक्र्सवादी दर्शनका आधारभूत मान्यतालाई स्वीकार गर्नुभएको छ । नेपालको इतिहासको व्याख्या गर्दा अथवा चाडवाडको बारेमा बुझाउँदासमेत उहाँले माक्र्सवादको इतिहास–दृष्टिलाई सधैँ आँखा अगाडि राख्नुभएको छ । त्यति हुँदाहुँदै पनि उहाँले आफूलाई जडसूत्रवादी माक्र्सवादीको रूपमा पेस गर्नुभएको छैन ।’ त्यसैगरी, हिन्दु धर्म र दर्शनप्रति लेखकको आवश्यकताभन्दा बढी लगाव र रुझान भएको पनि गिरीले निचोड निकाल्नुभएको छ । समग्रमा भन्नुपर्दा एक अध्ययनशील लेखकले आफ्नो अध्ययनको विषयवस्तु र सीमा निर्धारण गरेर आफूलाई खुम्च्याउनु हुँदैन भन्ने कोणबाट राप्रउलाई तार्किक विश्लेषकको रूपमा प्रस्तुत पुस्तकले चिनाउने काम गरेको छ ।