कला | पर्यटन |

ताप्लेजुङको १०१ फोटो पुस्तक सार्वजनिक

गाेरखापत्र अनलाइन 
काठमाडौं, साउन १६ गते । ताप्लेजुङ जिल्ला भित्र रहेका मुख्य पर्यटकीय क्षेत्रका १०१ वटा फोटोहरु समावेश गरिएको फोटो पुस्तक सार्वजनिक भएको छ । पुस्तकमा पूर्वीनेपालको हिमाली जिल्ला ताप्लेजुङमा पर्ने विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजंगादेखि ओझेलमा परेका महत्वपूर्ण पर्यटकीय क्षेत्रहरु समेटिएको छ ।
आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनमा टेवा पु-याउने लक्षले पुस्तक सार्वजनिक गरिएको ताप्लेजुङका प्रतिनिधिसभा सदस्य एवं पूर्व संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले बताउनुभयो । भर्जिन पर्यटकीय गन्तव्यहरु प्रसस्तै भए पनि प्रचारप्रसारको अभावमा ताप्लेजुङ पछि परेको भन्दै यो पुस्तकले प्रवद्र्धनमा टेवा पुग्ने भटट्राईले बताउनुभयो ।

पुस्तक प्रकाशनमा नेपाल पर्यटन बोर्डले सहयोग गरेको थियो । नेपालको पर्यटन केही खास क्षेत्रहरुमा मात्र सीमित रहेको अवस्थामा पर्यटनलाई विकेन्द्रीकरण गर्न आवश्यक रहेको बताउनुहुन्दै अन्य क्षेत्रको पनि प्रचारप्रसारका लागि बोर्डले प्रभावकारी काम शुरु गर्नु पर्ने सुझाव दिनुभयो ।

‘नेपालका धेरै जिल्लामा पर्यटनको प्रचुर सम्भावना छ । त्यसमा ताप्लेजुङ पनि एक हो तर हामीले पोखरा चितवन,लुम्बिनी बाहेक अन्यत्र खासै पर्यटक लैजान सकेका छैनौं । यो अवस्थामा यस्ता क्रियाकलापले ती क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न सक्नेछ । ’ उहाँले भन्नुभयो । पूर्वमन्त्री भट्टराइले कंचनजंघा राष्ट्रिय निकुन्ज क्षेत्र विश्व कै सुन्दर र आर्कषक क्षेत्र भएको बताउँदै त्यहाँको सांस्कृतिक बहुलता र प्राकृतिक सुन्दरतालाई गजागर गर्न सके त्यस क्षेत्रको पर्यटन विकासमा थप टेवा पुग्ने बताउनुभयो । किताबमा ताप्लेजुङभरबाट संकलन गरिएका १३ सय फोटोहरुबाट छानिएका १०१ फोटोहरु संमावेश गरिएको जनाएको छ ।