कला | शनिवार |

आशाको रङ खोज्दै शिवाङ्गिनी

दीपक श्रेष्ठ

रातको सन्नाटा बढ्दै गएपछि शिवाङ्गिनी राणाका कुची ब्यूँझन्छन्, बिस्तारै । नक्सालस्थित राणाको ‘आर्ट स्टुडियो’मा बन्द एक्रेलिक रङभित्रका अमूर्त अभिव्यञ्जनाहरू क्यानभासमा पोखिन हतारिन्छन् । अनि, त्यही बेला उद्वेलित हुन्छन्, शिवाङ्गिनीका मनहरू । त्यही क्रममा तयार हुन्छन्, ‘गार्डेन अफ इभ’, ‘फ्लाई अवे’, ‘बटरफ्लाई अब्स्ट्राक्ट’, ‘विन्टर रोज’ शृङ्खला ।

युवा कलाकार शिवाङ्गिनी राणाको ‘बोल्ड एन्ड ब्युटिफुल’ चित्रकला प्रदर्शनी सिद्धार्थ आर्ट ग्यालरीमा भर्खरै सम्पन्न भएको छ । प्रदर्शनीमा विन्टर रोज, गार्डेन अफ इभ, होप, पिङ्क स्काई, ब्रेकिङ साइलेन्स, बटरफ्लाई अब्स्ट्राक्टेड, फायर एन्ड आइस, बोल्ड एन्ड ब्युटिफुल, डान्स अफ द वल्र्ड, ग्यालेक्सीजस्ता शीर्षक शृङ्खलामा बनाउनुभएका ६५ वटा चित्रकृति प्रदर्शनीमा राखिएका थिए । धेरैजसो चित्रकृति कोरोना महामारीकै बीचमा जन्मिएका थिए । स्वयं कलाकार कोरोना सङ्क्रमित भएर बस्दा निर्माण गरिएका चित्रहरूमा जीवनप्रतिको आशा प्रतिविम्बित भएको देख्न सकिन्छ । प्रदर्शनीमा राखिएकामध्ये ५९ वटा कलाकृति बिक्रीबाट उत्साहित कलाकार शिवाङ्गिनी भन्नुहुन्छ, “म व्यावसायिक कलाकार नभए पनि चलिआएको कला प्रवृत्तिभन्दा पृथक् शैलीमा काम गर्छु, जसलाई कलापारखीहरूले मन पराइदिनुभएको छ । यसमा म ज्यादै खुसी छु ।”
प्रकृतिमा रमाउन र साहसिक जोखिम उठाउन चाहने कलाकार शिवाङ्गिनीले खासगरी एक्रेलिक रङ माध्यम पछ्याउँदैे प्रकृति र तिनका मौसमे प्रवृत्तिलाई अर्धमूर्त र अमूर्त शैलीमा प्रस्तुत गर्नुभएको छ । कलाकार राणाले आफ्ना कलामा प्रायः कालो, नीलो र सुनौला रङको प्रयोग अधिकतम गरेको पाइन्छ । ‘किन त ?’ कलाकार राणा भन्नुहुन्छ, “जीवनको जीवित सत्य हो, अँध्यारो । जहाँबाट उज्यालो आशा जन्मन्छन् । हुर्कन्छन् अनि फक्रन्छन् । मेरा कलामा तिनै आशाहरू बौरिन्छन् ।”

कलाकार शिवाङ्गिनीले प्रकृतिका बहुरूप, त्यसले मनभित्र निर्माण गर्ने अनुभूतिका भावभङ्गीलाई विशेषतः चित्रमा उतार्दै आउनुभएको छ । मयूरले पखेटा खोल्दा देखिने रङबाट प्रभावित राणाले ‘पिकक’ शृङ्खलामा थुप्रै चित्र बनाउनुभएको छ । प्रदर्शनीमा राखिएका चित्रकृतिमा उहाँ आफैँलाई पनि ‘पिकक’ खुबै मन परेको कृति हो । यसका अलवा उहाँले चित्रमा सामाजिक विषयवस्तुलाई समेत उठाउनुभएको छ । भोज र पार्टीमा जिउ ढाकिने गरी महिलाले किन गहना लगाउँछन् ? यो जिज्ञासा, उहाँमा सानैदेखि थियो । जुन विषयवस्तुलाई कलाकार राणाले ‘गहना’ शृङ्खलामा उतार्नुभएको छ । आफ्नै कृतिबारे कलाकार राणा भन्नुहुन्छ, “मेरा पेन्टिङमा दुःख, निराशाभन्दा पनि खुसीका रङहरू छन् । आफू वरपरको वातावरण र त्यसका अनुभव, अनुभूतिलाई म क्यानभासमा उतार्ने गर्छु ।”

भारतमा विद्यालय शिक्षा, स्विजरल्यान्ड र स्पेनमा विश्वविद्यालय शिक्षा हासिल गर्नुभएकी राणाले होटल म्यानेजमेन्ट पढे पनि रुचि चाहिँ कलामा छ । त्यो रुचिले फस्टाउने मौका नेपालगञ्जको बाटिका होटलमा फर्केर पायो । बाटिकाको व्यवस्थापकीय जिम्मेवारी लिएपछि वरपरको बगैँचाको सौन्दर्यले उहाँलाई लोभ्यायो । होटलको व्यवस्थापकीय जिम्मेवारीसँगै रङ, ब्रस र क्यानभासमा उहाँको समय बित्न थाल्यो । अनि होटल बाटिकामै जन्मियो सुदूरपश्चिमकै पहिलो आर्ट ग्यालरीका रूपमा ‘बाटिका आर्ट ग्यालरी’ । सोही समयमा विमल प्रधानसँग मिलेर कलाकार राणाले संयुक्त कला प्रदर्शनी गर्नुभएको थियो । सोही ग्यालरीमार्फत कलाको प्रवद्र्धनमा समेत उहाँ सक्रिय हुनुहुन्छ । जुन कार्यमा कलाअनुरागी आमा प्रतिमा राणाको साथ, सहयोग र प्रोत्साहन रहँदै आएको छ । नेपालगञ्ज नगरपालिकाका प्रमुख धवलशमशेर राणाले पनि छोरीको उत्साहमा साथ दिँदै आउनुभएको छ ।

नेपाली चलचित्र ‘मधुमास’की नायिकासमेत रहनुभएकी शिवाङ्गिनी प्रदर्शनीका हिसाबले नयाँ भए पनि चित्रकलामा सात वर्षदेखि सक्रिय हुनुहुन्छ । उहाँका करिब तीन सयवटा कलाकृति नेपालका विभिन्न सहर, अमेरिका, बेलायत, अस्ट्रेलिया, भारतलगायत देशमा सङ्ग्रहित छन् । दोस्रो एकल चित्रकला प्रदर्शनी केही महिनापछि नै भारतमा गर्ने उद्देश्यसहित ‘आर्ट स्टुडियो’मा दैनिकी बिताउन थाल्नुभएकी कलाकार राणा भन्नुहुन्छ, “नेपाली कलाको आन्तरिक बजारलाई अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्न चाहन्छु ।”