पैसाको नालीबेली
केदार वाशिष्ठ
मान्छेका लागि सास र पैसा उस्तै हुन थालेका छन्, मर्दा मात्र साथ छाडिने । तर मान्छेको उत्पत्ति र पैसाको आविष्कार भने एकै समयमा भएका होइनन् । मान्छेका चाहना र आवश्यकता पूर्ति गर्न वस्तुको साटोफेरो गर्दै साझा साङ्केतिक र सर्वग्राह्य वस्तुका रूपमा मानव उत्पत्तिको धेरैपछि मात्र पैसाको विकास भएको हो ।
पैसाका विभिन्न रूप छन् र त्यसलाई मानव विकास क्रममा भएका अरू भौतिक विकास र आविष्कारहरूले आकार दिएका छन् । पशुधन वा अन्य भौतिक वस्तु नै साटफेर गर्दा ढुवानी, भण्डारणजस्ता कुरामा रहेको असहजता फुकाउने विकल्पका रूपमा समान आकार र स्वरूपका वस्तुमा मूल्य आरोपित गरेर विनिमयमा प्रचलनमा ल्याइएको हो । संसारभरकै पैसा निर्माणमा माटो, छाला, धातु (सुन, चाँदी, तामा, पित्तल, फलाम आदि), कागज, प्लास्टिक आदिको प्रयोग हुने गरेको छ । हाल आएर पैसाको अभौतिक कारोबार पनि बढ्दै गएको छ । अर्थात् मानव र अन्य विकासक्रमअनुसार पैसाका रूप फेरिएका छन् ।
हाल मुख्य रूपमा प्रचलनमा आएको स्वरूपका धातु र कागजी पैसा र अन्य पनि विभिन्न प्रकारलाई मुद्राको नामबाट चिनिने गरेको छ । त्यसमा धातुका मुद्रालाई सिक्का भनेर चिनिन्छ भने कागजीलाई चाहिँ नोट भन्ने गरिएको छ ।
सर्वप्रथम सिक्काको थालनी इसापूर्वको छैटौँ वा पाँचौँ शताब्दीबाट ग्रिसेली द्राम वा द्राच्मबाट भएको मानिन्छ । इसापूर्व ५४६ मा लिदियाका राजा कोरेससले टकसारी गरेका सिक्का विश्वमा आधुनिक सिक्काका थालनी मानिन्छन् ।
नेपालमा सिक्काको इतिहास इसापूर्व ५०० तिर शाक्य महाजनपदबाट सुरु भएको मानिन्छ । बुद्धको जन्मस्थल लुम्बनी र त्यसको आसपासको क्षेत्रमा पर्ने शाक्य महाजनपदहरूका सिक्काको प्रचलन रहेको तर त्यस्ता सिक्का नेपाली भूमिमा टकमरी नगरिएको अनुमान गरिन्छ । त्यस्ता सिक्का हालै मात्र भारतीय भूमिमा पाइएका छन् । त्यसपछि कुषाणकालका स्वर्ण सिक्का दिनार प्रयोगमा आएको पूर्वी नेपालको सप्तकोसी तटमा रहेको बराह क्षेत्रमा राखिएको गुठीसम्बन्धी अभिलेखले स्पष्ट पार्छ ।
ज्ञानमणि नेपालका अनुसार लिच्छवि राजा मानदेव (शासन काल वि.सं. ५२१–५६२ सम्म मानिएको) को समकालीन भारतीय गुप्तसम्राट बुधगुप्त (वि.सं. ५३३–५५७) को पालाको ताम्रपत्र लेख दामोदर (उत्तर बङ्गाल) मा पाइएअनुसार त्यसबेला पुण्ड्रवद्र्धन भुक्तिमा महाराज जयदत्त (प्रान्तपति) को शासन थियो । त्यहाँका नगरश्रेष्ठी रिभुपालले तिन दिनार (स्वर्णमुद्रा) को एक कुल्यवापका दरले खेत किनेर बराहक्षेत्र (नेपाल) मा रहेका कोकमुख भगवान्लाई चार र श्वेत बराह भगवान्लाई गरी जम्मा एघार कुल्यवाप खेत गुठी राखेका थिए । पछि फेरि त्यहीँ तिनै भगवान्का दुइटा मन्दिर मूर्ति र पाटी वा भण्डार–घर पनि बनाएका थिए ।
दिनार अहिले पनि खाडी क्षेत्रका र विश्वका अन्य भागका पनि केही देशको मुद्रा हो । दिनार अर्थात् स्वर्ण मुद्राको पहिलो प्रचलन हिजरी संवत् ७७ (इसापूर्व ६९६–६९७) मा कलिफ अब्द अल–मलिक इब्न् मर्वानले सिरियाको दमास्कसमा टकसारी गरी प्रचलनमा ल्याएका थिए । दिनार शब्द भने पहिलो रोममा इसापूर्व २११ मा पहिलो पटक टकसारी भएको देनारिअसबाट लिइएको हो ।
अङ्ग्रेजीमा भने सिरियाली दिनारको लिप्यन्तरण हो । सिरियामा चाहिँ ल्याटिनको देनारियसबाट ग्रिकमा देनारिओन हुँदै आएको थियो । भारतमा इसाको पहिलो शताब्दीमा कुशान कालमा पहिलो स्वर्ण मुद्रा दिनार टकसारी भएको थियो । इसाको छैठौँ शताब्दीसम्मका गुप्तसम्राटहरूले यस मुद्रालाई प्रचलनमा ल्याएका थिए ।
काठमाडौँ उपत्यकामा भने लिच्छविकालमा पण पुराणजस्ता शब्दले मुद्रा वा सिक्कालाई जनाउने गरिएको पाइन्छ । नरेन्द्रदेवको पालामा पण तामाको सिक्काको सानो एकाइ र पुराण ठूलो एकाइ थियो । १६ पणको एक पुराण मानिन्थ्यो । लिच्छविकालमा मानाङ्क, गुणाङ्क, अंशुवर्मा, वैश्रवण, पशुपति, जिष्णुगुप्त, वृष आदि मुद्राहरू प्रचलनमा आएका थिए ।
मल्लकालको सेरोफेरोमा नेपाली मुद्राको इतिहास दोलखातिर पुगेको छ । त्यहाँका राजा इन्द्रदेव सिंह (वि.सं. १५९१–१६०५) ले चाँदीको सिक्का निकालेका थिए र यो नै नेपालको पहिलो चाँदीको सिक्का मानिएको छ । त्यसपछि १६१७ मा कान्तिपुरका राजा भएका महेन्द्र मल्लले ठूलो र सानो आकारका चाँदीका सिक्का निकालेका थिए । जयप्रकाश मल्लले सुनको सिक्का निकाले भने जितामित्र मल्लको राज्याभिषेकका स्मारिका सिक्का निकालियो ।
कागजी मुद्राका सम्बन्धमा भने विश्वमा नै भने सर्वप्रथम कागजी नोट चीनमा प्रचलनमा आएको मानिन्छ ।
पैसा वा मुद्राको विश्व तथा नेपालको इतिहास र सन्दर्भ यस्तो छ । यहाँदेखिको नेपाली मुद्राको इतिहासको कडी जोड्ने पुस्तक हालै प्रकाशनमा आएको छ – नेपालका आधुनिक मुद्राहरू ः एक समीक्षा । नेपाल राष्ट्र बैङ्कमा कार्यरत श्याम खतिवडाले लेखेको यस पुस्तकमा लिच्छविकालदेखि मल्लकाल हुँदै शाहकालका नेपाली मुद्राको सामान्य परिचय र नेपालमा आधुनिक सिक्का तथा नोट निष्कासन परम्परामा नेपाल राष्ट्र बैङ्क स्थापना भएपछिका नोट र सिक्काको विस्तृत नालीबेली रहेको छ ।
नेपाली मुद्राबारेको पुस्तक यो नै नयाँ भने होइन । विसं. २०१९ मा नै सत्यमोहन जोशीले लेखेको नेपाली राष्ट्रिय मुद्रा नामक कृतिले सोही वर्ष मदन पुरस्कारसमेत पाएको थियो । मुद्राबारे अरू पनि पुस्तक सामग्री प्रकाशनमा छन् । यति हुँदाहुँदै पनि श्याम खतिवडाको पुस्तक मुद्राका विभिन्न प्राविधिक र संरचनागत जानकारी दिन नितान्त नयाँ रहेको छ ।
पुस्तकमा शुभकामना दिँदै संस्कृतिविद् तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले ‘यो पुस्तक नेपालको मौद्रिक नीति, नियम र वित्तीय प्रणाली, कारोबारको जानकारी दिने उपयोगी स्रोत सामग्री हुनुका अतिरिक्त नेपाली भाषा, साहित्य, कला, संस्कृति (मूर्त र मूर्त), प्राकृतिक सम्पदा, मठमन्दिर, जीवजनावर, वनस्पति, जनजीवन, व्यक्तित्व तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय सङ्घसंस्थाका ऐतिहासिक परिचयात्मक गतिविधि आदि समेत बोध गराउने ‘ज्ञानकोष’ नै भएको उल्लेख गर्नुभएको छ ।
जोशीले जनाएजस्ता विविध विषयका ज्ञान दिने गरी पुस्तकलाई ऐतिहासिक विवरण र मुद्राका प्राविधिक पक्षहरूका आधारमा संरचना गरिएको छ । मूलतः नेपालका कागजी नोटका आधारमा ती पक्षहरूलाई केलाइएको छ ।
पुस्तकमा दिइएको विवरणअनुसार विसं. १९८९ मा टक्सार स्थापना गरी आधुनिक सिक्का र विसं. २००१ असोज १ मा इस्तिहार जारी गरी नेपालमा कागजी मुद्रा प्रचलनमा आएका हुन् । त्यस्ता कागजी मुद्रा १००, १०, ५ मोरुका थिए र तिनमा पहिलो खजाञ्ची पण्डित जनकराज पाण्डेले हस्ताक्षर गरेका थिए । त्यसपछि दुई जना खजान्ची पण्डित भरतराज पाण्डे र पण्डित नरेन्द्रराज पाण्डेले हस्ताक्षर गरी मोरु नै नोट निष्कासन भएका थिए । यी नोट सदर मुलुकी खानाबाट निष्कासन भएका थिए ।
२०१३ वैशाख १५ गते केन्द्रीय बैङ्कका रूपमा नेपाल राष्ट्र बैङ्क स्थापना भएको तीन वर्षपछि २०१६ फागुन ७ गतेदेखि हिमालय शमशेर जबराको हस्ताक्षरमा केन्द्रीय बैङ्कमार्फत नोट निष्कासन भएको हो । त्यसपछि १७ जना गभर्नर वा कामु गभर्नर रहेकोमा हालका गभर्नर महाप्रसाद अधिकारीसम्मका हस्ताक्षरमा विभिन्न मूल्यका नोट प्रचलनमा छन् ।
नेपालमा हालसम्म ११ दरका नोट निष्कासन भएका छन् । तिनमा १, २, ५, १०, २०, २५, ५०, १००, २५०, ५००, १००० रुपियाँ दरका रहेकोमा हाल १, २, २५, २५० रुपियाँ दरका नोट निष्कासन बन्द भएको छ । निष्कासन भएका सबै नोट १५० किसिमका छन् ।
सुरुदेखि २०१९ जेठ २९ सम्म निष्कासन भएका नेपाली नोट मोरु नाममा छापिएका छन् । २०२०÷०२१ देखि भने मोरुलाई प्रतिस्थापन गर्दै रुपियाँ उल्लेख भएका नोट निष्कासन गर्न थालिएको हो । सुरुदेखि २०६३ असार २ गतेसम्म निष्कसन भएका नोटहरूमा राजाका चित्र अङ्कित छन् । चित्रमा अङ्कित तत्कालीन राजाहरूमा त्रिभुवन, महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र रहेका छन् ।
२०६२÷६३ को जनआन्दोलनपछि पुनःस्थापित संसद्बाट राजा निलम्बनमा परेपछि २०६४ असोज १० गते निष्कासन भएको पाँच सय दरको नोटदेखि राजाको चित्र हटाएर सगरमाथाको चित्र राखी निष्कासन भएको हो । त्यसपछिका सबै नोटमा सगरमाथाकै चित्र रहेको छ ।
नोटको प्रत्याभूति, सुरक्षा र पहिचानका दृष्टिले भाषागत, चित्रगत र अन्य प्राविधिक विशेषताहरू रहेका हुन्छन् । सुरुदेखि नै नोटहरूमा सांस्कृतिक सम्पदा, वातावरणीय विविधता, भौगोलिक अवस्थालगायतका विशेषता झल्कने मठमन्दिर, जीवजन्तु, हिमाल पहाड आदिका चित्र रहेको विवरणलाई नोटका सचित्र वर्णन गरिएको छ ।
पुस्तकमा सिक्काबारे बेग्लै अध्याय छ, जसअनुसार नियमित र संस्मरणात्मक सिक्काबारे जानकारी रहेको छ । एक पैसादेखि पाँच हजार रुपियाँसम्मका सिक्का प्रचलनमा रहेको पुस्तकले देखाउँछ ।
समग्रमा पुस्तक आधुनिक मुद्रामार्फत नेपालको भाषा, संस्कृति, अर्थव्यवस्था, राजनीतिको समेत आँखीझ्याल रहेको छ । यस्ता पुस्तक विभिन्न विषयमा अनुसन्धानका लागि सन्दर्भग्रन्थका रूपमा रहन्छन् । यस्तो महìवपूर्ण ग्रन्थमा भाषिक शुद्धताको पक्षलाई पनि ख्याल गरिएको भए सन्दर्भका लागि अझ सान्दर्भिक हुने थियो ।