कला |

'नेपालको लोकचित्रकलाको इतिहास र वर्तमान अवस्था’ लोकार्पण

गोरखापत्र समाचारदाता
काठमाडौँ, भदौ १६ गते । नेपालको लोकचित्रकला सम्बन्धी समग्र पाटो समेटिएको पुस्तक‘ नेपालको लोकचित्रकलाको इतिहास र वर्तमान अवस्था’ लोकार्पण गरिएको छ ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, लोककला विभागद्वारा बुधबार राजधानीमा आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति के.के कर्माचार्यले डा. राजेन्द्र विमलले लेख्नुभएको उक्त पुस्तक लोकार्पण गर्नुभएको हो ।
प्रमुख कर्माचार्यले नेपालीले जन्मेदेखि नै जीवनभर अभ्यास गर्दै आएको लोककलालाई पुस्तकका रूपमा पाठक समक्ष ल्याउन पाउँदा प्रतिष्ठानलाई गर्व लागेको बताउनुभयो ।
परम्परागत रूपमा सबै समुदायले रीतिरिवाजका रूपमा आफ्नो जीवनमा अपनाउने संस्कृतिलाई पाठकले यस पुस्तकमार्फत् पढेर बुझ्न पाउँछन्, कुलपति कर्माचार्यले बताउनुभयो । प्रतिष्ठानका लोककला विभाग प्रमुख मिथिलादेवी यादवले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको यस पुस्तकमार्फत् लोककलाको बारेमा खोज, अनुसन्धान र अध्ययन गर्न चाहने कला पारखी र सबै पाठकका लागि उपयुक्त हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रतिष्ठानका वास्तुकला तथा अन्य सृजनात्मक कला विभाग प्रमुख रमेश खनालले पुस्तकले समग्रमा नेपालमा विद्यमान लोककलालाई समेट्ने प्रयास गरे पनि चित्र, फोटो स्पष्ट भए अझै राम्रो सन्देश प्रवाह हुने बताउनुभयो ।
प्रतिष्ठानका परम्परागत कला विभाग प्रमुख बुद्धिबहादुर गुरूङले लोककला हरेक नेपालीको जीवनपद्धति हो, हरेक जाति, धर्म, सम्प्रदायको जीवनको सुरूवातदेखि अन्त्यसम्मै लोककलाको कर्मसँग जोँडिदै आएको छ, यसलाई सिक्न विद्यालय, कलेज भन्दा पनि पारिवारिक संस्कार, रीतिरिवाज पछ्याउँदै जाँदा लोककला बच्दै आएको बताउनुभयो ।
त्रिभुवन विश्वविद्यालय, संस्कृति विभाग प्रमुख प्रा.डा. सोमप्रसाद खतिवडाले पुस्तकको टिप्पणी गर्दै लेखकको मेहनतको प्रशंसा गर्दै पुस्तकलाई अझै परिस्कृत गर्न सुझाव दिनुभयो ।