कला | शिक्षा |

‘राणाकालीन शिक्षा’ सार्वजनिक


गोरखापत्र समाचारदाता
भक्तपुर, भदौ २३ गते । गोरखापत्रका पत्रकार प्रकृति अधिकारीले लेख्नुभएको पुस्तक ‘राणाकालीन शिक्षा’ वुधबार सार्वजनिक गरिएको छ ।
५५ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा वुधबार सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा आयोजित कार्यक्रममा शिक्षा सचिव रामप्रसाद थपलिया, शिक्षा मन्त्रालयका सहसचिव दीपक शर्मा र केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले संयुक्त रुपमा पुस्तक सार्वजनिक गर्नुभयो ।
पुस्तकमा राणाकालीन समयमा सुरु भएको अङ्ग्रेजी शिक्षा, संस्कृत शिक्षा, कन्या शिक्षा, आधार शिक्षा, प्रौढ शिक्षा, प्राविधिक शिक्षा, उच्च शिक्षा लगायतका इतिहासलाई समेटिएको छ । पुस्तकमा अहिलेसम्म सार्वजनिक नभएका शिक्षासम्बन्धी लिखत पनि समावेश गरिएको छ । पुस्तक सार्वजनिक कार्यक्रममा लेखक अधिकारीले शिक्षासम्बन्धी कतिपय तिथि मिति र नाममा त्रुटि भएकाले त्यो बेलाको सरकारी लिखतसहित प्रमाण आफूले प्रस्तुत गरेको तथा यसबाट शैक्षिक इतिहासमा देखिएका त्रुटि सच्चिने बताउनुभयो ।
सो कार्यक्रममा शिक्षा सचिव रामप्रसाद थपलियाले सङ्घीय सरकार र पालिकाबीच समन्वय हुनुपर्ने बताउनुभयो । कार्यक्रममा वक्ताहरुले राज्यका तीन अङ्गबीच समन्वय हुन नसकेको धारणा राखेपछि उहाँले उनीहरुबीच आपसी सहयोग आवश्यक पर्ने बताउनुभयो ।
उहाँले जनप्रतिनिधिले शासन गर्ने र लोक सेवा आयोगबाट सिफारिस भएका कर्मचारीले प्रशासनीक कार्य गर्ने व्यवस्था मौजुदा कानुनमा रहेको स्पष्ट पार्दै राजनीतिक रुपमा प्राप्त परिवर्तनलाई आत्मसात गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
अर्काे प्रसङ्गमा शिक्षा सचिव थपलियाले शिक्षा विभागको नाम परिवर्तन गरेर शिक्षा तथा मानव स्रोत विकास केन्द्र बनाइएकोप्रति आफूलाई चित्त नबुझेको बताउँदै शिक्षा विभाग नै कायम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल नगरपालिका महासङ्घका अध्यक्ष अशोककुमार बेन्जुले द्वैध शासन भएकाले देशभरिका शिक्षा विकास तथा समन्वय एकाइ तत्काल खारेज गर्नुपर्ने बताउनुभयो ।
उहाँले शिक्षक सरुवा गर्न खोज्दा केन्द्रले पाइँदैन भन्छ तर शिक्षाको अधिकार स्थानीय सरकारलाई दिइएको छ भन्दै थप्नुभयो, “केन्द्र ठुलो कि पालिका ? पालिकालाई अधिकार दिन सकिँदैन भने संविधान संशोधन गरेर शिक्षाको अधिकार स्थानीय तहबाट फिर्ता लिएर जानूस् ।”
केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले निरक्षरता उन्मूलनका लागि पालिकाको सहयोग अनिवार्य रहने बताउनुभयो । केन्द्रका उपमहानिर्देशक केशव दाहालले मुलुकलाई साक्षर घोषणा गर्न अझै केही वर्ष लाग्ने बताउनुभयो ।
सो अवसरमा गोरखापत्रका पत्रकार प्रकृति अधिकारीद्वारा लिखित ‘राणाकालीन शिक्षा’ नामक पुस्तकका साथै केन्द्रले प्रकाशन गरेको शैक्षिक स्मारिका विमोचन गरिएको थियो । राणाकालीन शिक्षा पुस्तकमा राणाकालको १०४ वर्षको अवधिमा नेपालको शिक्षाको विकासक्रमका बारेमा ऐतिहासिक पक्ष उल्लेख गरिएको छ ।