कला |

नेपाल प्रज्ञा प्रतिष्ठानमा कला प्रदर्शनी सुरु

काठमाडौं, पुस १२ गते । नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा कला प्रदर्शनी गरिएको छ । समाज रुपान्तरणका विषयमा केन्द्रीत रहेका कलाकृतिको प्रदर्शनी सुरु भएको हो ।

'समाजवादी यात्रा' शीर्षकमा करिब दुई दर्जन कलाकारका कलाकृतिको पाँच दिनका लागि प्रदर्शनीमा रहने छन् । प्रदर्शनीमा आन्दोलन, गणतन्त्र, जनजीविका, श्रम, मजदूर, वित्तीय पुँजीवाद र त्यसको असर, कृषि क्रान्ति, सामाजिक न्याय र विभेदरहित समाजको परिकल्पना गरिएका कलाकृति राखिएको छ ।

प्रदर्शनीमा अग्रज कलाकार जुलुमलाल चित्रकार, नारदमणि हार्तम्छाली, लालमान लामा, एससी सुमन, देवेन्द्र थुम्केली, केशव राज खनाल, पाल्साङ्मो लामा, कमानसिंह लामा, प्रदीप अधिकारी, रविन्द्र श्रेष्ठ, राजकुमार राना मगर, राजकुमार खड्का, लिलाधर केसी, अमर परियार, अमिर शाक्य, खेम बिक, झिग्मे लामा, शिव शेर्पाली, निरीमाया लामा, रञ्जु पुलामी मगर, पूर्णिमा पौडेल लगायतका कलाकारका तीन दर्जन बढी कलाकृति रहेका छन् ।

महाधिवेशन प्रचारप्रसार उप समितिको आयोजन र अखिल नेपाल ललितकला संघको संयोजनमा भएको प्रदर्शनीमा समाजवादोन्मुख नेपाली समाजको परिकल्पना गरिएको छ । ललितकला संघका केन्द्रीय अध्यक्ष पाल्साङ्मो लामाले नेपालको परिवर्तनकारी आन्दोलनमा माओवादी आन्दोलनको विशिष्ट भूमिका रहेकाले त्यसको झलक कलाकृतिमा आएको बताउनु भयो ।

जनसांस्कृतिक महासंघ नेपालका उपाध्यक्ष देवेन्द्र थुम्केलीले नेपालमा समाजवादको विषय लिएर गरिएको पहिलो कला प्रदर्शनी रहेको दाबी गर्नुभयो । ‘देशलाई उन्नतिको मार्गमा लैजान राजनीतिक नेतृत्वले कला संस्कृतिलाई विशिष्ट ढंगले बुझ्नु पर्ने उहाँले बताउनु भयो । प्रदर्शनीमा राखिएका कलाले नेपालको परिवर्तन र संघर्षका कलालाई मज्जाले बुझन सक्ने उहाँको तर्क छ ।

शैलीका दृष्टिले नयाँपनको झल्को दिने गरी कलाकारले चित्र बनाएको उपाध्यक्ष थुम्केलीले बताउनु भयो । परम्परागत र लोक कलामा सिद्धहस्त कलाकारले पनि आफ्नो शैलीलाई जीवन्त राखेर सामाजिक र राजनीतिक विषयलाई उठान गरेको जानकारी दिनुभयो ।

प्रदर्शनीमा अग्रज थाङ्का कलाकार लालमान लामाले उज्यालो यात्रा शीर्षकमा तयार पारेको चित्र प्रदर्शनीको आकर्षण बनेको छ । लामाले नेपालको वर्गसंघर्ष या अन्य राष्ट्रभक्तिका आन्दोलन र युद्धमा नारीको सहभागिता र उनीहरुको योगदानको विषयलाईसमेत चित्रमा उतार्ने प्रयास गरेको बताउनुभयो । लामा भननुहुन्छ, ‘नालापानी युद्धदेखि माओवादीले सुरु गरेको जनयुद्धमा महिलाको विशिष्ट र बहादुरीपूर्ण योगदान रहेको छ । मैले चित्रमा त्यो प्रसंगलाई उतार्ने जमर्को गरेको हुँ ।’

पौभा शैलीमा राजनीतिक तथा सामाजिक विषयमा कलाकार राजकुमार राना मगर, अमिर शाक्यले आकर्षक चित्र बनाउनुभएको छ । उनीहरुका कलामा मजदूर, किसान, न्यायपूर्ण आन्दोलन र समानताका विषयलाई निकै रोचक रुपमा प्रस्तुत गरिएको छ ।

यस्तै, कलाकार पाल्साङ्मो लामा, झिग्मे लामा, कमानसिंह लामा तथा निरीमाया लामाले थाङ्का शैलीमा नयाँ कला शैलीको आरम्भ गर्नुभएको छ । मुगुका कलाकार तथा ललितकला संघका कर्णाली प्रदेश सहसंयोजक झिग्मे लामाले समाजवादी यात्राको पदचाप शीर्षकमा मुगाली शैलीमा हिमाली परिदृश्य र समाजलाई उतारेको चित्र प्रदर्शनीमा राख्नुभएको छ ।

प्रदर्शनीमा कलाकार रविन्द्र श्रेष्ठले जनमुक्ति सेना र नेपाली सेनाको रगतबाट बनाएको अर्को चित्रले दर्शकलाई तानिरहेको छ । शान्ति समायोजनको विषयलाई कलात्मक रुपमा प्रस्तुत गरिएको छ । प्रदर्शनीमा नेपालमा प्रचलिन विधिन्न शैलीका कलाको परिमार्जित रुप कलामा आएको ललितकला संघका उपाध्यक्ष प्रदिप अधिकारी सुशान्तले बताउनु भयो ।