कला | खुला |

‘रङ्गमञ्चमा आफ्नो मनको 'भडास' मेट्न, पोख्न पाइन्छ’

दृश्यमा मनाेजरत्न शाही

काठमाडौं, फागुन ३० गते । सिनेमा र टेली सिरियलहरुमा हैट भन्ने थेगोबाट परिचित कलाकार बुद्धि तामाङ अहिले रङ्गमञ्चमा व्यस्त हुनुहुन्छ । विशेषगरि बुद्धि तामाङलाई हैट शब्द बाट चिन्ने गरिन्छ । उक्त शब्दको प्रयोग शुरुमा आफूले नगरेको उहाँले बताउनुभयो ।
‘यो शब्द गाउँघरतिर सबैले बोल्ने शब्द हो, उहाँ भन्नुहुन्छ, ‘कब्बडी’ चलचित्रबाट एउटा क्यारेक्टरको हिसाबमा यसको जन्म भएको हो । त्यहाँबाट त्यो आवाज फरक सुनिएको हो । अहिले यो मेरो परिचय नै बन्यो । ’
आफ्नो रंगमञ्च यात्राबारे तामाङ भन्नुहुन्छ ‘सडक नाटक’ मेरो पहिलो नाटक हो । संविधान सभामा महिला सहभागिता भन्ने शिर्षकको नाटकमा गाउँगाउँमा जानुपर्ने थियो,‘ उहाँ भन्नुहुन्छ, ’तर मेरो थियटरको पहिलो नाटक ‘चरणदास’ हो ।‘


त्यसपछि क्लास लिँदै सिक्दै उहाँले ‘मलामी’ नामको नाटकको अभिनय गर्नुभयो । औपचारिक हिसाबले ‘मलामी’ बाट नाटकको ब्ल्याक बक्स थियटरको लागि यो यात्रा सुरु गरेको उहाँले बताउनुभयो ।
आफ्नो यात्रा सुनाउँदै उहाँले भन्नुभयो, ‘सुरुमा नाटकमा अभिनय गर्दा मलाई नाटकको बारेमा थाहा थिएन, गाउँमा कहिलेकाँहि गरेको हुनाले अलिअलि गर्छु भन्ने हिम्मत थियो । तर सडक नाटकबाट सिक्दै र बुझ्दै जाँदा थाहा पाएँ कि मैले बुझेको जति मात्र नाटक हैन’ । नाटकका किताबहरु पढ्दै जाँदा आफूले सोचेको जस्तो अभिनय गर्न त्यति सजिलो नभएको महसुस गरेको उहाँ बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, मैले अहिलेसम्म गरेको नाटकमध्य मलाई ‘मितज्यू’ नाटक धेरै मनपर्छ । आफूले खेलेको सबै नाटक मनपर्छ, मन नपरी त गर्न सकिंदैन, उहाँ भन्नुहुन्छ, ‘मित ज्यू’ बाहेक ‘मलामी’, ‘डिग्री माईला’, ‘चरणदास चोर’, सुन केशरी र अरु पनि धेरै छन् ।
जीवनलाई कहिकतै खर्च गर्नुपर्ने जस्तो उहाँलाई लाग्छ । आफ्ना उद्देश्यहरु खोज्दै भौतारिँदै गर्दा नाटक नै भेटेको र यो उहाँको आफ्नै रोजाई रहेको अब यसैमा जीवन बिताउने उहाँले बताउनुभयो ।
‘रंगमञ्चमा पैसा नै नहुने भन्ने हैन, पैसाभन्दा पनि आफूले चाहेको कुन लेभलको पैसा हो भन्ने महत्वपूर्ण कुरा हो,’ उहाँ भन्नुहुन्छ, ‘रंगमञ्चमा नाटक गरेर पनि जीवन बाँच्न सकिन्छ । तर आफ्नो चाहना के कस्तो छ भन्ने विषयमा निर्भर हुन्छ ।’
तामाङका अनुसार कलाकारले निर्देशन गर्दैमा नाटकमा परिवर्तन आउँदैन । पहिले भन्दा केही माहोल परिवर्तन भएको छ । ‘गुरुकुल’ सञ्चालनमा आएदेखि नाटक हेर्ने दर्शकको संख्या बढ्यो । जस्तै, मण्डलामै नियमित नाटक गर्दापनि दर्शक नभएर नाटक नै बन्द गर्नुपर्ने स्थिति छैन । नाटक चल्छ ।
परिवर्तनको हिसाबले पहिले भन्दा संख्यासँगै आर्कषण बढेको छ ।
चलचित्र सम्मको यात्रा सुनाउँदै गर्दा रंगमञ्चबाट चलचित्रमा विस्तारै पुगेको तामाङ बताउनुहुन्छ । ‘नाटकमा काम गर्दा ‘सेट डिजाइन’को हिसाबमा काम गर्थे । त्यसैलाई चलचित्रमा पनि आर्ट डाइरेक्टरको रुपमा काम गर्दै जाँदा क्यारेक्टर पनि सुरु गरें, उहाँले भन्नुहुन्छ, यसरी विस्तारै आफ्नो मिहिनेतले चलचित्रसम्म पुगें ।’
यस्तै, धेरै समय रंगमञ्च मै बिताएकोले आफूलाई रंगमञ्च मै काम गर्न सजिलो लाग्ने उहाँले बताउनुभयो । उहाँका अनुसार सिनेमा गाह्रो हैन तर त्यसमा मिलाउनु पर्ने कुरा धेरै हुन्छन् । उहाँ भन्नुहुन्छ, चलचित्र र रंगमञ्च दुवै एउटै क्षेत्र हो । चलचित्र, रंगमञ्च र साहित्य एउटै विधाअन्तर्गत पर्दछन् । प्रत्यक्ष र टेक्निकल माध्यम मात्र फरक हो ।
चलचित्रमा रंगकर्मीहरुले काम गर्नु भनेको अच्चमको विषय नभएको र पछिल्लो समय रंगमञ्चको बाटो हुँदै चलचित्रमा प्रवेश गर्ने संख्या भने बढेको उहाँको भनाई छ । कलाकारका लागि आम्दानी चलचित्रमा नै धेरै हुन्छ, उहाँ भन्नुहुन्छ, ‘रंगमञ्चमा आफ्नो मनको भडस मेट्ने, पोखाउने, आफूले मन लागेको काम गर्ने र आफू सन्तुष्ट हुने काम हो ।’
उहाँका अनुसार चलचित्र अलि फराकिलो, बाँच्नलाई पनि सजिलो, खर्चको हिसाबमा पनि राम्रो छ ।
तामाङले करिब ६० वटा चलचित्रमा अभिनय गर्नुभएको छ । यस बाहेक उहाँको अरु कुनै व्यापार व्यवसाय नभएको उहाँले बताउनुहुन्छ । ‘म एक विशुद्ध कलाकार हुँ’, उहाँ भन्नुहुन्छ, ‘त्यो अन्तर्गतमा रहेर मैले नाटक, रेडियो नाटक, सडक नाटक, टेलिशृङ्खला, चलचित्र र म्यूजिक भिडियो सबैमा काम गर्छु ।’
तामाङ अभिनित चलचित्र ‘मन्त्र’ वैशाख १६ मा र ‘कब्बडी’ जेठमा प्रदर्शनमा आउने भएको छ । त्यसअघि नाटक ‘मित ज्यू’ चैत्र ८ देखि १३ सम्म मञ्चन हुने नाटकमा व्यस्त भएको उहाँले बताउनुभयो ।
अनामनगरस्थित मण्डला थिएटर थापागाउँमा सरेको केही समय मात्र भएको छ । नयाँ ठाउँबाट सञ्चालनमा आउँदा सामान मिलाउने र सो ठाउँमा घुलमिल हुनमै व्यस्त भएको कलाकार बुद्धि तामाङले बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, ‘चैत ८ गतेबाट नाटक पनि मञ्चन हुँदैछ । त्यसैको तयारीमा हामी सबैजना लागेका छौं । ’
‘मण्डलाले आफ्नो स्थान फेरेपनि मनमा भने परिवर्तन आएको छैन तर शारीरिक रुपमा अलि परिवर्तन भएको होकि जस्तो लाग्छ, उहाँले भन्नुभयो, ‘अनामनगरमा हुँदाको मण्डला र थापागाउँको मण्डलामा सेवा सुविधाको हिसाबमा फरक छ । अहिले पार्किङको सुविधा, दुई वटा ठूला र अग्ला हल छन् । मन त उस्तै हो ।’ थिएटरबाट आफ्नो कलाकारिता शुरु गरेका तामाङले आजसम्म स्टेजमा दुई दर्जन जति नाटकमा अभिनय गर्नुभएको छ ।