उपाधिका लागि बजाज खडक वारियर्स र रुपनी राइडर्सले स्पर्धा गर्ने
गोरखापत्र अनलाइन
काठमाडौं, चैत्त १३ गते । बजाज खडक वारियर्स र रुपनी राइडर्स सप्तरीमा जारी सप्तरी प्रिमियर लिग(एसपीएल)को फाइनलमा पुगेको छ ।
विवेक यादव कप्तानीको बजाज खडक वारियर्स र कुशल भुर्तेल कप्तानीको रुपनी राइडर्स सप्तरीमा जारि तेश्रो संस्करणको राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको हो ।
शुक्रबार प्रतियोगिताको लिग चरणको अन्तिम खेलमा विवेक यादव कप्तानीको बजाज खडक वारियर्सले मेहबुब आलम कप्तानीको टिभीएस किंग्स राजविराजलाई २७ रनले पराजित गर्यो । बजाज खडक वारियर्स अंकतालिकाको शिर्षस्थानमा रहँदै फाइनल पुग्न सफल भएको हो । अंकतालिकामा दोश्रो स्थानमा रहँदै रुपनी राइडर्स फाइनल प्रवेश गर्यो । वारियर्स र राइडर्स दुवैले लिग चरणमा चार खेल खेल्दा समान तीन जित र एक हार बेहोर्यो । शनिवार दुई टिम बीच उपाधिको लागि प्रतिस्पर्धा हुनेछ ।
राज रंगशालामा सम्पन्न खेलमा बजाज खडक वारियर्सले दिएको १८२ रनको लक्ष्य पछ्याउने क्रममा टिभीएस किंग्स राजविराजले पुरै २० ओभर ब्याटिंग गरेपनि ७ विकेटको क्षतिमा १५४ रन मात्र बनाउन सक्यो ।
टिभीएस किंग्सका लागि रोबिन सिंहले अद्र्धशतकीय योगदान दिने क्रममा २२ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै अविजित ५१ रन बनाउनुभयो । सुरज कुर्मीले ३६, प्रशान्त सिंहले २४ रन तथा सोनु अन्सारीले १६ रनको योगदान दिनुभयो ।
बजाज खडक वारियर्सको बलिंगमा गोमानंद अमात्य, भुलावन सहानी र अनिल खरेलले समान २ विकेट लिए भने पप्पु यादवले एक एक विकेट लिनुभयो । यस अघि टस जितेर ब्याटिंग गरेको बजाज खडक वारियर्सले निर्धारित २० ओभरमा चार विकेट क्षेतीमा १८१ रन बनाएको थियो ।
वारियर्सको लागि ओपनर अनिल शाहले सर्वाधिक ७० रन योगदान दिनुभयो । उहाँले ४९ बलमा ९ चौका र २ छक्का प्रहार गर्नुभयो । कप्तान विवेक यादवले १४ बलमा एक चौका र पाँच छक्का प्रहार गर्दै ३७ रन बनाउनुभयो । निरज यादवले ३२ तथा पवन सर्राफले १८ रनको योगदान दिनुभयो ।
टिभीएस किंग्स राजविराजको बलिंगमा रोबिन सिंह, मेहबुब आलम र दिनेश अधिकारीले सामान एक एक विकेट लिनुभयो ।
खेलको प्लेयर अफ द म्याच अनिल शाह चुनिनुभयो ।