मुम्बईले कलकत्ताको सामना गर्दै, पञ्जाब किंग्सले राजस्थानलाई हरायो
गोरखापत्र अनलाइन
काठमाडौं, चैत ३१ गते । इन्डियन प्रिमियर लिग(आईपीएल)को चौथो खेलमा पञ्जाब किंग्सले राजस्थान रोयललाई हराएको छ । पञ्जाब किंग्सले राजस्थानलाई चार रनको सामान्य अन्तरले हराएको छ ।
पञ्जाब किंग्सले प्रस्तुत गरेको २२२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा राजस्थान रोयलले पूरै २० ओभर खेलेपनि सात विकेटको क्षतिमा २१७ रन मात्र जोडन सक्यो । राजस्थानको पारीमा कप्तान सञ्जु साम्सनले सर्वाधिक ११९ रनको योगदान दिए पनि जितका लागि पर्याप्त भएन । पारीको अन्तिम बलमा आउट हुनुअघि उहाँले मात्र ६३ बलमा १२ चौका र सात छक्का लगाउनुभयो । जोस बटलरले २५ तथा शिवम दुबेले २३ र रियान परागले २५ रनको योगदान दिनुभयो ।
पञ्जाबका लागि मोहम्मद सामीले दुई तथा अरशदीप सिंहले तीन तथा झ्ये रिचर्डसन र रिली मेरिथले सामान एक एक विकेट लिनुभयो ।
त्यसअघि, मुम्बईमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको पञ्जाबले पुरै २० ओभर खेल्दा छ विकेटको क्षतिमा २२१ रनको विशाल योगफल तयार पार्यो । पञ्जाबका लागि कप्तानसमेत रहनुभएका ओपनर ब्याट्सम्यान करण लोकेश राहुलले ९१ रनको उत्कृष्ट पारी खेल्नुभयो । उहाँले मात्र ५० बलमा सात चौका र पाँच छक्का लगाउनुभयो । क्रिस गेलले ४० तथा दीपक हुडाले ६४ रनको योगदान दिनुभयो । २२ रनमै अर्का ओपनर मयन्क अग्रवालको रुपमा पहिलो विकेट गुमाएर कमजोर सुरुवात गरेको पञ्जाबका लागि राहुलले क्रिस गेलसँग ६७ र दीपक हुडासँग १०४ रनको साझेदारी गरेर टोलीकाे योगफल १९४ रनसम्म पुर्याउनुभयो ।
राजस्थानका लागि चेतन साकरियाले सर्वाधिक तीन तथा क्रिस मौरिसले दुई र र्यान परागले एक विकेट लिनुभयो ।
सञ्जु साम्सन प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।
प्रतियोगिता अन्तर्गतकाे पाँचौं खेलमा आज मुम्बई इन्डियन्सले कलकत्ता नाइट राइडर्सको सामना गर्दैछ । मुम्बईले पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग हार बेहोरेको थियो । कलकत्ताले भने आफ्नो पहिलो खेलमा हैदराबादलाई हराएको थियो ।