दोस्रो टी ट्वान्टीमा दक्षिण अफ्रिकाको जित
गोरखापत्र अनलाइन
काठमाडौं, चैत ३१ गते । दक्षिण अफ्रिकाले पाकिस्तानलाई छ विकेटले हराएको छ । दोस्रो टी ट्वान्टी खेलमा जितसँगै चार खेलको टी ट्वान्टी शृङ्खला १–१ को बराबरीमा आएको छ ।
पाकिस्तानले प्रस्तुत गरेको १४१ रनको लक्ष्य पछ्याउँदै दक्षिण अफ्रिकाले मात्र १४ ओभरमा चार विकेटको क्षतिमा १४१ रन बनाएर पुरा गर्यो । दक्षिण अफ्रिकाको जितमा एडन मरकरमले सर्बाधिक ५४ रनको योगदान दिनुभयो । हेनरिक क्लास्सेनले अविजित रहँदै ३६ तथा जर्ज लिण्डेले अविजित २० रनको योगदान दिनुभयो ।
पाकिस्तानका लागि उसमान कादिरले सर्वाधिक दुई तथा हसन अलि र मोहम्मद हसनैनले एक एक विकेट लिनुभयो ।
त्यसअघि, जोहानसवर्गमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको पाकिस्तानले पूरै २० ओभर खेले पनि नौ विकेटको क्षतिमा मात्र १४० रन बनाउन सक्यो । कप्तान बाबर आजमले सर्वाधिक ५० तथा मोहम्मद हफिजले ३२ रनको योगदान दिनुभयो ।
दक्षिण अफ्रिकाका लागि जर्जन लिण्डे र लिजाद विलियम्सले सामान तीन तीन तथा तबरैज सम्सी र सिसान्डा मगालाले सामान एक एक विकेट लिनुभयो ।
दक्षिण अफ्रिकी अलराउन्डर जर्ज लिण्डे प्लेयर अफ द म्याच घोषित हुनुभयो ।