क्रिकेट | खेलकुद |

क्रिकेट जिम्बाबवेका पूर्ब कप्तान हिथ स्ट्रिकमाथि आठ वर्षको प्रतिबन्ध

गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख १ गते । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले जिम्बाबवे क्रिकेट टोलिका पूर्ब कप्तान हिथ स्ट्रिकमाथि आठ वर्षको प्रतिबन्ध लगाएको छ । आईसीसीको भ्रष्टाचार विरुद्धको पाँच वटा संहिताको उल्लंघनमा दोषी पाइएपछि स्ट्रिकमाथि प्रतिबन्ध लगाइएको हो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)का अनुसार प्रारम्भिक चरणमा आरोप अस्वीकार गरेका स्ट्रिकले अनुसन्धानको उत्तराद्र्धतिर आफ्नो दोष स्वीकार गर्दै आईसीसीले लगाएको प्रतिबन्धको पालना गर्ने बताउनुभएको छ । जिम्बाबवे क्रिकेटका पूर्ब कप्तान स्ट्रिक अब सन् २०२९ को मार्च २८ पछि मात्रै क्रिकेटमा सहभागी हुन सक्ने आईसीसीले उल्लेख गरेको छ ।
सन् २०१६ देखि २०१८ सम्म क्रिकेट प्रशिक्षकको रुपमा कार्यरत रहँदा भ्रष्टाचारजन्य कसूरमा संलग्न रहेको आरोपमा आईसीसीले अनुसन्धान गरेपछि उहाँलाई दोषी ठहर गरेको हो । जिम्बाबवेका तीब्र गतिका बलर स्ट्रिकले सन् २०१७–१८ मा एक जना सम्भाबित भ्रष्टाचारी समक्ष खेलाडीलाई पहिचान गराउन बिचौलियाको भूमिका निर्वाह गरेको आईसीसीले जनाएको छ । उक्त प्रकरण जिम्बाबवे, श्रीलङ्का र बङ्गलादेश सम्मिलित त्रिदेशीय श्रृखंलासँग जोडिएको थियो ।
त्यसैगरी, स्ट्रिकले कप्तानसहित चार खेलाडीलाई बिचौलियासँग भेट गराउन भूमिका निर्वाह गरेको अर्को मुद्दामा समेत उहाँलाई दोषी ठहर गरिएको छ । सन् २०१७ को बङ्गलादेश प्रिमियर लिग, सन् २०१८ को पाकिस्तान सुपर लिगको क्रममा स्ट्रिकले उपहार स्वरुप प्राप्त गरेको दुई बिट क्वाइनबाट ३५ हजार अमेरिकी डलर साटेको पुष्टि भएको छ ।