बाबर आजमको शतकमा पाकिस्तानको जित
गोरखापत्र अनलाइन
काठमाडौं, वैशाख २ गते । पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टी ट्वान्टी खेल जितेको छ । तेस्रो टी ट्वान्टीमा जितसँगै पाकिस्तानले चार म्याचको टी ट्वान्टी २–१ को अग्रता लिएको छ ।
दक्षिण अफ्रिकाले प्रस्तुत गरेको २०४ रनको लक्ष्य पछ्याउँदै पाकिस्तानले खेल सकिन दुई ओभर बाँकी छँदा मात्र एक विकेटको क्षतिमा २०५ रन बनाएर पूरा गर्यो । पाकिस्तानको जितमा कप्तान बाबर आजमले सर्वाधिक १२२ रनको योगदान दिनुभयो । उहाँले मात्र ५९ बलमा १५ चौका र चार छक्का लगाउनुभयो । अर्का ओपनर मोहम्मद रिजवानले अविजित रहँदै ७३ रनको योगदान दिनुभयो । फखार जमानले अविजित आठ रन बनाउनुभयो ।
दक्षिण अफ्रिकाका लागि लिजाद विलियम्सले एक विकेट लिनुभयो ।
त्यसअघि, सेच्नुरियनमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको दक्षिण अफ्रिकाले पूरै २० ओभर खेलेर पाँच विकेटको क्षतिमा २०३ रनको योगफल तयार गर्यो । दक्षिण अफ्रिकी पारीमा ओपनर जानेमन मलानले ५५ तथा एडन मरकर्मले ६३ रन बनाएर पेभेलियन फर्किनुभयो । दुबैजनाले पहिलो विकेटका लागि १०८ रनको साझेदारी गर्नुभयो । जर्ज लिण्डेले २२ तथा रस्सी भान डर दुस्सैनले अविजित ३४ रनको योगदान दिनुभयो ।
पाकिस्तानका लागि मोहम्मद नवाजले सर्वाधिक दुई तथा शाहीन शाह अफ्रिदी, हसन अलि र फहिम अशरफले सामान एक एक विकेट लिनुभयो ।
पाकिस्तानका कप्तान बाबर आजम प्लेयर अफ द म्याच घोषित हुनुभयो ।