क्रिकेट | खेलकुद |

नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हरायो

गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख ५ गते । नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हराएको छ । नेपाल सम्मिलित त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट अन्तर्राष्ट्रिय श्रृखंलाको दोस्रो खेलमा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हराएको छ । पहिलो खेलमा नेपालसँग नौ विकेटको फराकिलो अन्तरको हार बेहोरेको नेदरल्याण्ड्सले प्रतियोगिताको दोस्रो खेलमा मलेसियामाथि जित हात पारेको हो ।
नेदरल्याण्ड्सले प्रस्तुत गरेको १९२ रनको लक्ष्य पछ्याउँदै मलेसियाले पुरै २० ओभर खेलेपनि आठ विकेटको क्षतिमा मात्र १७६ रनमा समेटिन पुग्यो । मलेसियाका लागि बिरनदीप सिंहले मात्र ५३ बलमा ८७ रनको उत्कृष्ट पारी खेलेपनि जितका लागि पर्याप्त भएन । उहाँले आफ्नो पारीमा छ चौका र छ छक्का लगाउनुभयो ।
२० रनमै तीन विकेट गुमाएको मलेसियाका लागि बिरनदीपले शर्विन मुनिन्डीसँग चौथो विकेटका लागि अद्र्धशतकीय साझेदारी गर्नुभयो । तर शर्विन मात्र २८ रन बनाएर पेभेलियन फर्किदा दबाबमा आएको मलेसियाली पारीलाई बिरनदीपले अमिनुद्दीन रेम्लीसँग छैठौं विकेटका लागि ३३ रनको साझेदारी गर्नुभयो । तर उक्त साझेदारी टुटदा मलेसियालाई जितका लागि ३७ बलमा ८० रन ल्याउन आवश्यक थियो । बिरनदीपले आक्रामक ब्याटिंगकै क्रममा पेभेलियन फर्केपछि मलेसिया जितभन्दा १६ रन टाढा सीमित हुन पुग्यो । बिरनदीप पेभेलियन फर्किदा मलेसियालाई जितका लागि आठ बलमा २३ रन आवश्यक थियो ।
नेदरल्याण्ड्सको पारमिा आर्यन दत्त, बास डे लीड र सेबेस्टियन ब्राटले सामान दुई दुई तथा फिलिप बोसिसेभन र पिटर सिलरले सामान एक एक विकेट लिनुभयो ।


त्यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा पहिला ब्याटिंग गरेको नेदरल्याण्ड्सले १७ रनमै टोबिस भिसीको रुपमा पहिलो विकेट गुमाएर कमजोर सुरुवात गर्यो । तर अर्का ओपनर म्याक्स ओ डौडले अविजित रहँदै १३३ रनको उत्कृष्ट पारी खेलेपछि नेदरल्याण्ड्सले मात्र दुई विकेटको क्षतिमा १९१ रनको सम्मानजनक योगफल तयार गर्न सफल भयो ।
म्याक्सले मात्र ७३ बलमा १५ चौका र छ छक्काको सहयोगमा १३३ रन जोड्नुभयो । विकेटकीपर ब्याट्सम्यान स्कट्ट एडवार्ड्सले ३१ रन बनाएर पेभेलियन फर्किनुभयो । बेन्न कूपरले २० रन बनाएर अविजित रहनुभयो । कूपरले म्याक्ससँग तेस्रो विकेटका लागि १२५ रनको साझेदारी गर्नुभयो । दुबै जनाले मात्र ६९ बलमा १२५ रन जोडे ।
मलेसियाका लागि पवनदीप सिंह र अनवर रहमानले सामान एक एक विकेट लिनुभयो ।