नेपालले मलेसियाको सामना गर्दै
इश्वरचन्द्र झा
काठमाडौं, बैशाख ६ गते । नेदरल्याण्ड्स सम्मिलित त्रिकोणात्मक टी ट्वान्टी अन्तर्राष्ट्रिय शृङ्खलाकाे तेस्रो खेलमा नेपालले आज मलेसियाको सामना गर्दैछ । प्रतियोगितामा दुबै टोलीको यो दोस्रो खेल हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउन्डमा अपरान्ह सवा एक बजेबाट उक्त खेल हुनेछ । प्रतियोगिताको पहिलो खेलमा सशक्त प्रतिद्वन्दी नेदरल्याण्ड्सलाई हराएको नेपालले घरेलु मैदान उच्च मनोबलका साथ उत्रिनेछ । मलेसियाले भने आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग झिनो अन्तरको हार बेहोरेको थियो ।
नेदरल्याण्ड्स विरुद्ध १९२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा मात्र १५ रनले हार बेहोरेको मलेसियाले नेपाललाई घरेलु मैदानमा हराएर प्रतियोगितामा आफ्नो स्थितिलाई बलियो बनाउन प्रयत्नशील रहनेछ । पहिलो खेलमा हार बेहोरेकोले प्रतियोगितामा जीवित रहन मलेसियाले आजको खेल जित्नैपर्ने दबाब हुन्छ ।
नेपाल र मलेसियाले टी ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा विगतमा चार पटक एक अर्काको सामना गरेको छ । जसमध्ये नेपालले तीन खेलमा जित र एकमा हार बेहोरेको छ । मलेसियाविरुद्धको आफ्नो जित प्रतिशतलाई सुधार्न नेपाललाई घरेलु मैदानको अबसर छ ।
पछिल्लो पटक सन् २०१९ को जुलाईमा नेपालले मलेसियाको सामना गरेको थियो । उक्त खेलमा नेपालले मलेसियालाई छ रनले हराएको थियो । नेपालले तयार गरेको १७३ रनको लक्ष्य पछ्याउँदै मलेसियाले सात विकेटको क्षतिमा मात्र १६७ रन जोडन सकेको थियो । नेपालको जितमा बिनोद भण्डारीले अर्धशतकीय पारी खेल्नुभएको थियो ।
जारी त्रिकोणात्मक टी ट्वान्टी श्रृखंलामा नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई नौ विकेटले हराएकोले नेट रन रेट समेत उच्च छ । नेपालले एक खेलबाट दुई अङ्क बटुलेको छ । नेट रन रेट २.६ छ । दुई खेलमध्ये एकमा जित र अर्कोमा हार बेहोरेको नेदरल्याण्ड्सको दुई अङ्क र नेटरन रेट ऋणात्मक छ । मलेसिया अङ्क नजोडे पनि नेट रन रेट भने नेदरल्याण्ड्सभन्दा बलियो छ ।
आज हुने खेलमा नेपालले नेदरल्याण्ड्स विरुद्धकै अन्तिम एघारलाई निरन्तरता दिनेछ । अनुभबी ब्याट्सयम्यान ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी र विनोद भण्डारीको उपस्थिति नेपालको ब्याटिङ शक्ति हो । अन्तर्राष्ट्रिय टी ट्वान्टी खेलको डेब्युमै अर्धशतक लगाएका दुई ब्याट्सम्यान कुशल भुर्तेल र आशिफ शेषको जोडीमाथि नेपालको सुरुवात निर्भर रहनेछ । बलिंगमा सन्दीप लामिछाने र करण केसीको प्रदर्शन हेर्नलायक रहनेछ । लामिछानेले पहिलो खेलमा दुई विकेट लिनुभएको थियो । करण केसी विकेटविहीन बन्न पुगे पनि अत्याक रन खर्चिनुभएको थिएन ।
मलेसियाको ब्याटिङ बिरनदीप सिंह र अहमद फैजमाथि निर्भर रहनेछ । बिरनदीपले नेदरल्याण्ड्स बिरुद्धको खेलमा समेत अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सक्नुभएन । मलेसियाको बलिङ नेतृत्व पवनदीप सिंह र सज्रुल इद्रुसले गर्नेछन् ।