पञ्जाबले बैंगलोरलाई हरायो, चेन्नईले मुम्बईको सामना गर्दै
गोरखापत्र अनलाइन
काठमाडौं, बैशाख १८ गते । इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गतकाे २६ औं खेलमा आज दुई साबिक विजेताबीच स्पर्धा हुँदैछ । मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सको देल्हीमा सामना गर्दैछ । प्रतियोगिताको शीर्ष स्थानमा रहेको चेन्नईले छ खेलमध्ये पाँचमा जित हात पारेको छ । चौथो स्थानमा रहेको मुम्बईले भने छ खेलमध्ये तीनमा जित हात पारेको छ । चेन्नईले पछिल्लो आफ्नो पाँच खेलमा लगातार जित हात पारेको छ ।
यसअघि गए राति अबेर सम्पन्न खेलमा पञ्जाब किंग्सले रोयल च्यालेन्जर्स बैंगलोरमाथि ३४ रनको जित हात पारेको छ । पञ्जाबले प्रस्तुत गरेको १८० रनको लक्ष्य पछ्याउँदै बैंगलोरले पुरै २० ओभर खेलेपनि आठ विकेटको क्षतिमा मात्र १४५ रन बनाउन सक्यो । बैंगलोरका लागि ओपनर ब्याट्सम्यान समेत रहनुभएका कप्तान विराट कोहलीको ३५, रजत पटिदार र हर्षल पटेलको समान ३१ रन अतिरिक्त अन्य कुनै पनि ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेन । ग्लैन म्याक्सवेल डक आउट हुन पुग्दा अब्राहम डिभिलियर्सले तीन तथा डेनियल साम्सले तीन रनको योगदान दिए ।
पञ्जाबका हरप्रित ब्रारले कोहली, म्याक्सवेल र डिभिलियर्सको विकेट लिनुभयो । रिल्ली मेरिथ र मोहम्मद सामी र क्रिस जोर्डनले सामान एक एक तथा रबि विष्णोइले दुई विकेट लिए ।
त्यसअघि, अहमदाबादमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्ता पाएको पञ्जाबले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १७९ रनको सम्मानजनक योगफल तयार गर्यो । उसको पारीमा ओपनर करण लोकेश राहुलले अविजित रहँदै ९१ रनको योगदान दिनुभयो । कप्तान समेत रहनुभएका राहुलले मात्र ५७ बलको सामना गर्दै सात चौका र पाँच छक्का लगाउनुभयो । क्रिस गेलले २४ बलमा ४६ रनको योगदान दिनुभयो । हरप्रित ब्रारले १७ बलमा २५ रन बनाउनुभयो ।
बैंगलाेरका लागि कायल जमीन्सनले दुई तथा डेनियल साम्स, युज्वेन्द्र चाहल र शहबाज अहमदले सामान एक एक विकेट लिए । हरप्रित ब्रार प्लेयर अफ द म्याच घोषित हुनुभयो ।