श्रीलङ्काली अलराउन्डर म्याथ्युज अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने
गोरखापत्र अनलाइन
काठमाडौं, असार २४ गते । श्रीलङ्काली अलराउन्डर एञ्जेलो म्याथ्युज अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने सोचमा पुग्नुभएको छ । भारत बिरुद्धको श्रृखंलाका लागि उपलब्ध नहुने बताउनुभएको भोलिपल्टै म्याथ्युज अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने सोचमा पुगेको बताइएको छ ।
३४ वर्षीय म्याथ्युजले आफू र वरिष्ठ खेलाडीसँग श्रीलङ्काली क्रिकेट बोर्डले अनुबन्धन सम्झौता गर्दा गरेको ब्यवहारबाट विक्षिप्त बनेको बताउनुभएको छ । तर श्रीलङ्का क्रिकेट बोर्डले भने ब्यक्तिगत् कारणले उहाँ भारत बिरुद्धको श्रृखंलामा उपलब्ध नहुने बताएको दाबी गरेको छ ।
यसै वर्षको सुरुवातमा सीमित ओभरको खेलमा टोलिमा अटाउन नसक्दा उहाँ असन्तुष्ट हुनुभएको थियो । तर त्यसपछि उहाँ टोलिमा निरन्तर स्थान पाउनुभएको छ ।
अन्तर्राष्ट्रिय एकदिबसीय र टेष्ट श्रृखंलामा उत्कृष्ट प्रदर्शन गरेका बावजूद बोर्डले उहाँको तलब कटौती गरेर ५० हजार अमेरिकी डलरमा झार्ने निर्णय गरेको थियो । यसैवर्षको सुरुवातमा थिसारा परेराले समेत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको थियो ।
श्रीलङ्का क्रिकेट बोर्ड र चयनकत्र्ता समितिले अनुभबी खेलाडीभन्दा नयाँ अनुहारलाई प्राथमिकतामा राखेको छ । सन् २०२३ को विश्वकपलाई ध्यानमा राख्दै बोर्डले यसप्रकारको प्राथमिकता निर्धारण गरेको बताइएको छ । श्रीलङ्काले पछिल्लो पाँच एकदिबसीयमध्ये मात्र एकमा जित हात पार्न सफल भएको छ । अघिल्लो महिना श्रीलङ्काले अन्तर्राष्ट्रिय टी ट्वान्टीमा समेत शीर्ष वरीयताको इंग्ल्याण्ड बिरुद्धको श्रृखंला ३–० ले हारेको थियो ।