क्रिकेट | खेलकुद |

पहिलो टी ट्वान्टीमा पाकिस्तानको जित

गोरखापत्र अनलाइन
काठमाडौं, साउन २ गते । पाकिस्तानले पहिलो टी ट्वान्टी खेलमा इंग्ल्याण्डलाई ३१ रनले हराएको छ । एकदिबसीय श्रृखंला गुमाएको पाकिस्तानले अन्तर्राष्ट्रिय टी ट्वान्टीमा उत्कृष्ट पुनरागमन गरेको हो ।
नटिघंममा गए राति अबेर सम्पन्न खेलमा पाकिस्तानले प्रस्तुत गरेको २३३ रनको लक्ष्य पछ्याउँदै इंग्लीश टोलि १९ ओभर २ बलमा २०१ रनमा सीमित हुन पुग्यो । लियम लिभिङस्टनले सर्बाधिक १०३ रनको पारी खेलेपनि टोलिलाई जित दिलाउन सक्नुभएन । अन्य कुनै पनि ब्याट्सम्यानले संयमित पारी खेल्न सकेनन ।
पाकिस्तानका बलरहरुमा शाहीन शाह अफ्रिदी र शदाब खानले सामान तीन तीन विकेट लिए । मोहम्मद हस्नैन, इमाद वसिम र हरिश रौफले एक एक विकेट लिए ।
त्यसअघि, टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको पाकिस्तानले पुरै २० ओभर खेल्दै छ विकेटको क्षतिमा २३२ रनको विशाल योगफल तयार गर्यो । पाकिस्तानका लागि मोहम्मद रिजवान र बाबर आजमले पहिलो विकेटका लागि १५० रनको साझेदारी गर्दा पाकिस्तानी पारी उकासिएको थियो । रिजवानले ६३ तथा आजमले ८५ रनको योगदान दिनुभयो । फखार जमानले २६ तथा मोहम्मद हफिजले २४ रन बनाउनुभयो ।
इंग्ल्याण्डका लागि टम कर्रनले दुई तथा देविड विल्ली, सकिब महमूद र लेविस ग्रेगोरीले एक विकेट लिए । जितसँगै तीन खेलको टी ट्वान्टीमा पाकिस्तानले १–० को अग्रता लिएको छ ।