श्रीलङ्का भ्रमणमा रहेका भारतका थप दुई खेलाडी सङ्क्रमित
गोरखापत्र अनलाइन
काठमाडौं, साउन १५ गते । श्रीलङ्का भ्रमणमा रहेका भारतका थप दुई जना खेलाडी कोभिड १९ बाट सङ्क्रमित भएका छन् । कृष्णप्पा गौतम र युज्वेन्द्र चाहलमा कोभिड १९ को परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
श्रीलङ्का भ्रमणमा रहेको भारतीय क्रिकेट टोलिका अलराउन्डर क्रूनाल पाण्डयामा सबैभन्दा पहिला सङ्क्रमणको पुष्टि भएको थियो । पाण्डया सङ्क्रमित भएको पुष्टि भए लगत्तै उहाँको सम्पर्कमा आएका थप आठ खेलाडी क्वारेन्टिनमा बस्नुपरेको थियो । क्वारेन्टिनमा बसेका आठ जना खेलाडीमध्ये युज्वेन्द्र चाहल र कृष्णप्पा गौतममा सङ्क्रमणको पुष्टि भएको हो । दुबैजना आइसोलेशनमा श्रीलङ्कामै बस्ने बताइएको छ ।
पाण्डयाको सम्पर्कमा आउनुभएका अन्य छ खेलाडी भने श्रीलङ्काबाट प्रस्थान गर्ने अनुमति दिइएको छ । हार्दिक पाण्डया, मनीष पाण्डे, इशान किशन, सूर्यकुमार यादव, पृथ्वी शा र दीपक चाहर भारत फर्किनुहुनेछ । भारतले प्रमुख नौ जना खेलाडी बिना नै दोस्रो र तेस्रो टी ट्वान्टी खेल्दा दुबै टी ट्वान्टीमा हार बेहोर्नपुगेको थियो ।