श्रीलङ्काका तीन खेलाडी एक वर्षका लागि निलम्बनमा परे
गोरखापत्र अनलाइन
काठमाडौं, साउन १६ गते । कोभिड–१९ को प्रोटोकल उल्लघंन गरेका श्रीलङ्काका तीन खेलाडी एक वर्षका लागि बर्खास्त गरिएका छन् । आयरल्याण्ड भ्रमणको क्रममा श्रीलङ्काका तीन खेलाडीले भ्रमण अबधिभरिका लागि निर्धारित प्रोटोकल उल्लघंन गरेका थिए । तीनै जना श्रीलङ्काली क्रिकेट टोलिका महत्वपूर्ण सदस्य छन् ।
कारबाहीमा परेका धनुष्का गुणातिलका, कुशल मेन्डिस र निरोशन डिकवेला हुन । श्रीलङ्काली क्रिकेट बोर्डले तीनै जनामाथि करिब ५० हजार अमेरिकी डलरको जरिवाना समेत लगाएको छ । छ महिनासम्म तीनै जना खेलाडीले घरेलु क्रिकेट समेत खेल्न पाउने छैनन् । तीनै जना खेलाडीका लागि दुई वर्षको सङ्क्रमण समय समेत निर्धारण गरिएको छ । स्वतन्त्र समितिले गरेको सिफारिशभन्दा कारबाहीमा खुकुलो गरिएको छ ।
श्रीलङ्काका सुप्रिम कोर्टका पूर्ब न्यायधीश निमल दिस्सानायकाको संयोजकत्वमा गठित समितिले प्रोटोकल उल्लघंन घटनामा तीनै जना खेलाडीलाई दोषी ठहर गरेको छ । जुन २७ मा तीनै जना खेलाडीले होटेल छोडेर बाहिर निस्केका थिए ।