पहिलो टेष्टमा भारतलाई २०९ रनको लक्ष्य
गोरखापत्र अनलाइन
काठमाडौं, साउन २४ गते । इंग्ल्याण्डले पहिलो टेष्ट खेलमा भारतलाई २०९ रनको लक्ष्य दिएको छ । जवाफमा भारतले औसत सुरुवात गरेको छ । भारतले पाँचौं दिनको खेल एक विकेटको क्षतिमा ५२ रनबाट अगाडि बढाउनेछ । ओपनर रोहित शर्मा १२ र चेतेश्वर पूजारा १२ रनमा अविजित हुनुहुन्छ । करण लोकेश राहुल २६ रन बनाएर स्टुअर्ट ब्रोडका बलमा विकेट पछाडि जोस बटलरलाई क्याच थमाउन पुग्नुभयो ।
इंग्ल्याण्डले नट्टीघंममा टस जितेर पहिला ब्याटिङ गर्दै पहिलो पारीमा १८३ रनको योगफल तयार गर्यो । इंग्ल्याण्डको पारीमा कप्तान जोइ रुटले सर्वाधिक ६४ रनको योगदान दिनुभयो । भारतका लागि जसप्रित बुमराहले सर्वाधिक चार तथा मोहम्मद सामीले तीन, श्रद्धुल ठाकुरले दुई र मोहम्मद सिराजले एक विकेट लिनुभयो ।
जवाफमा भारतले करण लोकेश राहुलको ८४ तथा रबिन्दर जडेजाको ५६ रनको पारीको सहयोगमा पहिलो पारीमा २७८ रनको योगफल तयार गर्यो । इंग्ल्याण्डका लागि जेम्स एन्डरसनले चार तथा ओली रबिन्सनले पाँच विकेट लिनुभयो ।
पहिलो पारीमा ९५ रनले पछाडि परेको इंग्ल्याण्डले आफ्नो दोस्रो पारीमा ३०३ रनको योगफल तयार गर्यो । इंग्ल्याण्डका लागि कप्तान जोइ रुटले शतकीय पारी खेल्नुभयो । भारतका लागि जसप्रित बुमराहले सर्वाधिक पाँच तथा मोहम्मद सिराज र श्रद्धुल ठाकुरले दुई दुई एवम् मोहम्मद सामीले एक विकेट लिनुभयो ।
वर्षाले दुई दिनको खेल करिब पूर्ण रुपमा प्रभावित हुँदा पहिलो टेष्ट बराबरीमा टुंगिने जोखिम बढिरहँदा इंग्ल्याण्डले चौथो दिनमै दोस्रो पारीसमेत सक्दा खेलको नतिजा आउने अपेक्षा गरिएको छ ।