क्रिकेट | खेलकुद |

ओलम्पिकमा क्रिकेट सामेल गराउने कसरत तीव्र

गोरखापत्र अनलाइन
काठमाडौं, साउन २६ गते । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले सन् २०२८ को ओलम्पिकमा क्रिकेटलाई सामेल गराउन कसरत तीव्र बनाएको छ । सन् २०२८ को ओलम्पिक खेलकूद अमेरिकाको लाँस एन्जेल्सले आयोजना गर्नेछ ।
पहिलो पटक सन् १९०० मा ओलम्पिक खेलकूदमा क्रिकेट सामेल गराइएको थियो । ओलम्पिकको उक्त संस्करणमा मात्र दुई टोलि फ्रान्स र बेलायत सहभागी थिए । उक्त संस्करण नै क्रिकेटको ओलम्पिकको हालसम्मको सुरु र अन्तिम यात्राको रुपमा रहेको छ । तर आईसीसीले कसरत सुरु गरेपछि करिब १२८ वर्षपछि क्रिकेट ओलम्पिकमा फर्किनेछ ।
ओलम्पिकमा सामेल गराउनु अघि आईसीसीले सन् २०२२ को कमनवेल्थ खेलकूदमा क्रिकेट प्रबेश पाउनेछ ।
आईसीसीका अध्यक्ष ग्रेग बारक्लेले ओलम्पिक खेलकूदमा क्रिकेट सामेल हुँदा खेलकूद र क्रिकेट दुबैका लागि हितकर हुने बताउनुभयो । आईसीसीका अध्यक्ष बारक्लेले ओलम्पिकमा सहभागी गराउने उद्देश्य अनुरुप खेलको बोलपत्र आव्हान सुरु भएको जानकारी दिनुभयो । उहाँले विश्वभरि करिब एक अर्ब क्रिकेटका प्रशंसक रहेको दाबी गर्नुहुँदै ९० प्रतिशत प्रशंसकले क्रिकेटलाई ओलम्पिकमा देख्न खोजेको बताउनुभयो । अमेरिकामा मात्रै करिब तीन करोड क्रिकेट प्रशंसक छन् ।
आईसीसीले ओलम्पिक गृहकार्य समूह गठन गरी ओलम्पिकमा सामेल गराउने अभ्यास थालेको हो । कार्यदलमा इंग्ल्याण्ड र वेल्स क्रिकेट बोर्डका निर्देशक, आईसीसीका स्वतन्त्र निर्देशक, जिम्बाबवे क्रिकेटका अध्यक्ष, आईसीसी एशोसिएट राष्ट्रका निर्देशक एवम् एशियाली क्रिकेट परिषद्का उपाध्यक्ष महिन्दा भल्लिपूरम र अमेरिकी क्रिकेटका प्रमुख पराग मराठे हुनुहुन्छ ।