क्रिकेट | खेलकुद |

पहिलो टेष्टमा वेष्टइन्डिजको पाकिस्तानमाथि रोमाञ्चक जित

गोरखापत्र अनलाइन
काठमाडौं, साउन ३२ गते । अत्यन्तै रोमाञ्चक खेलमा वेष्टइन्डिजले पाकिस्तान बिरुद्धको पहिलो टेष्ट खेलमा एक विकेटको जित हात पारेको छ । जितसँगै दुई खेलको श्रृखंलामा वेष्टइन्डिजले १–० को अग्रता लिएको छ ।
पाकिस्तानले प्रस्तुत गरेको १६८ रनको लक्ष्य पछ्याउँदै वेष्टइन्डिजले नौ विकेटको क्षतिमा पुरा गर्यो । वेष्टइन्डिजका लागि केमार रोचले अविजित रहँदै ३० रनको योगदान दिनुभयो । जर्माइन ब्ल्याकऊडले ५५ रनको अद्र्धशतकीय पारी खेल्नुभयो ।
पाकिस्तानका लागि शाहीन शाह अफ्रिदीले सर्बाधिक चार तथा हसन अलिले तीन र फहीम अशरफले दुई विकेट लिनुभयो ।
त्यसअघि, किंग्स्टनमा टस हारेर पहिला ब्याटिङ गर्ने आमन्त्रण पाएको पाकिस्तानका लागि फवाद आलमको ५६ तथा फहीम अशरफले ४४ रनको पारी खेल्दा उसले २१७ रनको योगफल तयार गर्यो । वेष्टइन्डिजका बलरहरुमा जयदेन सिल्स र जैसन होल्डरले सामान तीन तीन तथा केमार रोचले दुई एवम् कायल मेयर्सले एक विकेट लिनुभयो ।
जवाबमा वेष्टइन्डिजले आफ्नो पहिलो पारीमा २५३ रन बनाएर ३६ रनको अग्रता कायम गर्यो । वेष्टइन्डिजका लागि ओपनर क्रैग बर्थवैटले सर्बाधिक ९७ र जैसन होल्डरले ५८ रनको पारी खेल्नुभयो ।
मोहम्मद अब्बासले तीन तथा शाहीन शाह अफ्रिदीले चार, फहीम अशरफ र हसन अलिले एक एक विकेट लिनुभयो ।
कप्तान बाबर आजमले दोस्रो पारीमा ५५ रनको पारी खेलेपछि पाकिस्तानले २०३ रनको औसत योगफल तयार गर्न सफल हुँदै वेष्टइन्डिज समक्ष १६८ रनको लक्ष्य प्रस्तुत गर्यो । जैदन सिल्स प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।