मलेसियाका बीरनदीप र श्रीलङ्काका प्रसन्ना चितवनमा आबद्ध
गोरखापत्र अनलाइन
काठमाडौं, भदौ १० गते । एभरेष्ट प्रिमियर लिग(ईपीएल) खेल्न मलेसियाली क्रिकेट टोलिका अलराउन्डर बीरनदीप सिंह र श्रीलङ्काका सीकुगे प्रसन्ना सम्झौता गर्नुभएको छ । दुबैजनाले ईपीएलमा चितवन टाइगर्सको प्रतिनिधित्व गर्नुहुनेछ ।
ईपीएलले सामाजिक सञ्जालमा दुबै जनाले आजै सम्झौता गरेको उल्लेख गरेको छ । दुबै जना अलराउन्डर हुनुहुन्छ । २२ वर्षीय बीरनदीपले मलेसियाका लागि २५ अन्तर्राष्ट्रिय टी ट्वान्टी खेल्नुभएको छ । २५ खेलमा उहाँले ६८४ रन बनाउनुभएको छ । मध्यम गतिका बलर बीरनदीपले बलिङमा पाँच विकेट लिनुभएको छ ।
३६ वर्षीय सीकुगे प्रसन्नाले श्रीलङ्काका लागि ४० अन्तर्राष्ट्रिय एकदिबसीयमा ४२१ रन र २० टी ट्वान्टीमा २१४ रन बनाउनुभएको छ । उहाँले एकदिबसीय खेलमा ३२ विकेट र टी ट्वान्टीमा १० विकेट लिनुभएको छ ।