अलराउन्डर वाशिंगटन सुन्दर आईपीएलबाट बाहिरिनुभयो
गोरखापत्र अनलाइन
काठमाडौ, भदौ १४ गते । रोयल च्यालेन्जर्स बैंग्लोरका अलराउन्डर वाशिंगटन सुन्दर इन्डियन प्रिमियर लिग(आईपीएल)को बाँकी खेलबाट बाहिरिनुभएको छ । औंलामा आएको चोटका कारण उहाँ क्रिकेट खेल्ने स्थितिमा नरहेको बताइएको छ ।
बैंग्लोरले वाशिंगटन सुन्दरको स्थानमा बंगालका औसत गतिका बलर आकाश दीपलाई टोलिमा स्थान दिएको छ । वाशिंगटन सुन्दरले प्रिमियर लिगको जारी संस्करणको छ खेलमा तीन विकेट लिनुभएको छ । उहाँले सन् २०१८ मा बैंग्लोरमा आबद्ध भए यता ३२ खेलमा १९ विकेट लिनुभएको छ । दीपले भने पाँच खेलमा बैंग्लोरका लागि सात विकेट लिनुभएको छ ।
बैंग्लोरले यसअघि पाँच परिवर्तन गरिसकेको छ । अष्ट्रेलियाली अफ स्पिनर एडम जाम्पाको स्थानमा श्रीलङ्काका वनिन्डु हसरङ्गा, न्युजिल्याण्डका फिन्न अलिएनको स्थानमा टिम देविड, अष्ट्रेलियाका डेनिएल साम्स र केन रिचर्डसनको स्थानमा दुशमन्थ चमीरा र जर्जन गार्टोनलाई राखेको छ ।
त्यसअतिरिक्त, बैंग्लोरले ब्यक्तिगत् कारणले राजिनामा दिनुभएका प्रमुख प्रशिक्षक साइमन कैटिचको स्थानमा माइक हेस्सनलाई उक्त जिम्मेवारी दिएको छ ।