पपुवा न्यूगिनीद्वारा नेपालसमक्ष १३५ रनको लक्ष्य प्रस्तुत
गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २२ गते । पपुवान्यूगिनीले पहिलो मैत्रीपूर्ण अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपाल समक्ष १३५ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ खेल्नु अघि तयारी स्वरुप पपुवान्यूगिनी विरुद्ध दुई खेलको एकदिवसीय श्रृखंला खेल्नेछ ।
ओमानको राष्ट्रिय क्रिकेट एकेड्मी रङ्गशालामा टस जितेर पहिला ब्याटिङ् गर्ने निर्णय गरेको पपुवान्यूगिनीले ३३ ओभरमा १३४ रनको योगफल तयार गरेको हो । पपुवान्यूगिनीका लागि चालर्स अमिनिले सर्वाधिक २३ तथा गौडी टोकाले २२ रनको योगदान दिनुभयो । सेसी बौले १४ र किप्लिन डोरिगाले १५ रनको योगदान दिनुभयो ।
दोस्रो ओभरमा औसत गतिका बलर बिक्रम सोबले ओपनर टोनी उरालाई बोल्ड गर्दै पपुवान्यूगिनीमाथि दबाब बनाउनुभयो । उहाँले तेस्रो ओभरमा पुनः कप्तान अस्साद भालालाई आरिफ शेषको हातमा क्याच थमाएपछि पपुवान्यूगिनीले नौ रनमै दुई महत्वपूर्ण विकेट गुमाउन पुग्यो । तर सिएका र चालर्सले अद्र्धशतकीय पारी खेलेर पपुवान्यूगिनीलाई प्रारम्भिक दबाबबाट बाहिर निकाल्नुभयो । सन्दीप लामिछानेले चालर्सलाई विकेट पछाडि आसिफ शेषबाट क्याच आउट गराउँदै साझेदारी तोड्नुभयो ।
पपुवान्यूगिनीलाई सस्तोमै समेटन नेपालका लागि दुई जना स्पिनर सन्दीप र कुशल मल्लले छ विकेट बाँड्नुभयो । सन्दीपले दश ओभरमा मात्र ३५ रन खर्चेर चार विकेट लिनुभयो । कुशलले सात ओभरमा १९ रन खर्चेर दुई विकेट लिनुभयो । सोमपाल कामी महँगो साबित हुनुभयो । उहाँले सात ओभरमा ३७ रन खर्चिनुभयो । उहाँले एक विकेट लिनुभयो । पवन सर्राफ र आरिफ शेषले दुई दुई ओभर बलिङ गरे पनि विकेटविहीन रहनुपर्यो ।