टी ट्वान्टी विश्वकपका लागि भारतीय क्रिकेट टोलिको घोषणा
गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २४ गते । आगामी महिना यूएइमा हुन लागेको टी ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताका लागि भारतीय क्रिकेट टोलिको घोषणा गरिएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले विश्वकप क्रिकेटका लागि १५ सदस्यीय टोलिको घोषणा गरेको हो ।
बुधबार साँझ घोषणा गरिएको टोलिमा केही महत्वपूर्ण अनुहार अटाउन सकेनन । स्पिनर रबिचन्द्रन आश्विन चार वर्षपछि टी ट्वान्टी टोलिमा अटाउनुभएको छ । १५ सदस्यीय टोलिमा पाँच जना स्पिनर छन् । तीन जना तीब्र गतिका बलर छन् । सात जना ब्याट्सम्यान छन् । जसमध्ये छ जना ब्याट्सम्यान र एक अलराउन्डर छन् ।
चेतन शर्माले नेतृत्व गर्नुभएको चयन समितिले श्रेयस ऐयर, दीपक चाहर र श्रद्धुल ठाकुरलाई आरक्षित खेलाडीको रुपमा राखेको छ । कोभिड–१९ को असरले खेलाडी परिवर्तन गर्नुपरे वा चोटपटक लागेको अवस्थामा भारतले आरक्षित खेलाडीको उपयोग गर्न पाउनेछ ।
शिखर धवन, युज्वेन्द्र चाहल टोलिमा अटाउन सक्नुभएन । चाहल लेगस्पिनर हुनुहुन्छ । उहाँको स्थानमा अर्का स्पिनर बरुण चक्रवर्ती र राहुल चाहरले स्थान पाउनुभएको छ । सूर्यकुमार यादब, इशान किशन र अक्षर पटेल पहिलो पटक विश्वकप खेल्नुहुनेछ ।
जसप्रित बुमराह, भुवनेश्वर कुमार र मोहम्मद सामी टी ट्वान्टी टोलिमा तीब्र गतिको बलरका रुपमा अटाउनुभएको छ । हार्दिक पाण्ड्या भने औसत गतिका बलिङगसँगै अलराउन्डरको रुपमा रहनुहुनेछ ।
विराट कोहलीको नेतृत्वमा रहने भारतीय टोलिमा रोहित शर्मालाई उपकप्तानको जिम्मेवारी दिइएको छ । करण लोकेश राहुल, ऋषभ पन्त, रबिन्दर जडेजा टोलिमा अटाउनुभएको छ ।