क्रिकेट | खेलकुद |

बङ्गलादेशले न्युजिल्याण्डलाई हराउँदै टी ट्वान्टी श्रृखंला जित्यो

गोरखापत्र अनलाइन
काठमाडौं, भदौ २४ गते । जिम्बाबवे र अष्ट्रेलियालाई हराएर टी ट्वान्टी श्रृखंला जितेको बङ्गलादेशले पछिल्लो पटक न्युजिल्याण्ड विरुद्ध पहिलो पटक अन्तर्राष्ट्रिय टी ट्वान्टी श्रृखंला जितेको छ । न्युजिल्याण्डले प्रस्तुत गरेको ९४ रनको झिनो लक्ष्य बङ्गलादेशले खेल सकिन पाँच बल बाँकी छदा मात्र चार विकेटको क्षतिमा पुरा गर्दै छ विकेटले जितेको छ ।
चौथो टी ट्वान्टी खेल जितेर बङ्गलादेशले अन्तिम खेल अगावै पाँच खेलको टी ट्वान्टी श्रृखंला ३–१ ले आफ्नो पक्षमा पारेको हो । यसअघि अष्ट्रेलिया विरुद्धको श्रृखंला समेत बङ्गलादेशले ४–१ ले जितेको थियो ।
सामान्य लक्ष्य पछ्याउने क्रममा ६७ रनमै चार विकेट गुमाएको बङ्गलादेशका लागि कप्तान महमदुल्लाहले अविजित रहँदै ४३ रनको योगदान दिनुभयो । ओपनर मोहम्मद नईमले दोस्रो सर्वाधिक २९ रन बनाउनुभयो ।
न्युजिल्याण्डका लागि एजाज पटेलले सर्वाधिक दुई तथा कोल म्याक्कोञ्चीले एक विकेट लिनुभयो ।
त्यसअघि, ढाकामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको न्युजिल्याण्डले १९ ओभर तीन बलमा मात्र ९३ रनमा समेटिन पुग्यो । न्युजिल्याण्डका लागि विल योङ्गले सर्वाधिक ४६ रनको योगदान दिनुभयो । कप्तान टम लाथमले २१ तथा फिन्न एलेनले १२ रन बनाउनुभयो । न्युजिल्याण्डको पारीका आठ जना ब्याट्सम्यानले दोहोरा योगफल समेत छुन सकेनन । चार जना ब्याट्सम्यानले खाता समेत खोल्न सकेनन ।
बङ्गलादेशको बलिङमा नसुम अहमद र मुस्तफिजुर रहमानले सामान चार चार विकेट लिनुभयो । महेदी हसनले एक विकेट लिनुभयो । बङ्गलादेशका दुई जना बलरले एकै पारीमा चार चार विकेट लिएको यो पहिलो अबसर हो ।